विदेशी मुद्राको संकट टार्न कोरियाले महिलाहरुको लाखौं किलो कपाल बेचेको त्यो घटना…



काठमाडौं । दक्षिण एशियाली मुलुक श्रीलंका यतिबेला चरम आर्थिक संकटमा छ । श्रीलंका स्वतन्त्र भएयता सबैभन्दा ठूलो आर्थिक संकटमा फसेको हो । श्रीलंकन नागरिकहरु सरकारको विरुद्धमा सडकमा आन्दोलनमा उत्रिएका छन् । दैनिकजसो महंगी बढ्दा खाद्यान्नका साथै औषधिजन्य वस्तुको खरिदसमेत गर्न सकिएको छैन ।

विदेशी मुद्रा सञ्चिति ५ करोड अमेरिकी डलरभन्दा पनि कम छ । एक महिनाअघि श्रीलंकन सरकारले ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण तिर्न नसक्ने भन्दै हात उठायो । अब श्रीलंकासँग भएको विदेशी डलरले इन्धन र औषधि किन्न पनि नपुग्ने अवस्था आइसकेको छ ।

विदेशी मुद्रा सञ्चिति श्रीलंकामा मात्रै होइन नेपालमा पनि घट्दै गइरहेको छ । श्रीलंकाले केही समयअघि विदेशी मुद्राको अभावमा उत्तरपुस्तिका समेत खरिद गर्न नसक्ने अवस्थामा पुग्दा विद्यालयको परीक्षा स्थगितसमेत गर्नु परेको थियो । यद्यपि हाम्रो देशमा श्रीलंकाको जस्तो अवस्था भने आइसकेको छैन । तर, समयमै सचेत नभए निकट भविष्यमै नेपालको अर्थतन्त्र पनि श्रीलंकाको जस्तै टाट उल्टिने खतरा छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालसँग ९ अर्ब ५८ करोड डलर विदेशी मुद्रा सञ्चिति छ । यसको अर्थ हो, उक्त रकमले नेपालका लागि ७.४ महिनाको वस्तु र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्छ । जबकी, चालु आवको पहिलो महिना साउनमा ११ अर्ब ४२ करोड डलर थियो । जसले ९.३ महिनाको वस्तु आयात र ८.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्थ्यो ।

विदेशी मुद्रा सञ्चिति कम हुँदाको पीडा अहिले श्रीलंकाले भोगेजस्तै आजभन्दा ६० वर्षअघि दक्षिण कोरियाले पनि भोगेको थियो । तर, दक्षिण कोरियाले विदेशी मुद्रा सञ्चिति बढाउनका लागि महिलाका कपाल बिक्री गरेको थियो । यसबाट के बुझ्न सकन्छि भने देश संकटमा पर्दा नागरिकले आफ्नो कपालसमेत बेच्नु पर्ने अवस्था आउने रहेछ । कोरिया सरकारको आग्रहलाई त्यहाँका नागरिकहरुले मानेर आफ्नो कपाल बिक्री गरे, जसकारण देश ठूलो आर्थिक दुर्घटनामा जानबाट बच्यो ।

तर, हामी नेपालीहरु भने सरकारले विलासी बस्तुहरुको आयात रोक्दासमेत सरकारलाई धारे हात लगाउँछौं ।

यस्तो छ विदेशी मुद्रको संकट टार्न कोरियाले कपाल बेचेको घटना

सन् १९६० को दशकको शुरुवाती दिनमा दक्षिण कोरिया चरम गरिबीको चपेटामा थियो । सन् १९५० देखि १०५३ सम्म चलेको उत्तर कोरिया र दक्षिण कोरियाबीचको युद्धका घाउहरु निको भइसकेका थिएनन् ।

गरिबी यतिसम्म कि नागरिकहरुलाई २ छाक खानाका लागि समेत ठूलो मिहेनत गर्नु परेको थियो । दुई देशबीचको युद्धलाई केही समयका लागि स्थगित गर्ने निर्णयसँगै दक्षिण कोरियाका अगाडि आधुनिक मुलुक निर्माणको ठूलो चुनौती थियो ।

युद्धका कारण ध्वस्त भएका सडकहरु बनाउनु थियो । गरिबीबाट जनतालाई मुक्त गर्नु थियो । त्यसभन्दा अघि जनताको भोको पेट भर्न खानेकुरा दिनु थियो ।

हो, त्यही समयमा युरोपको सम्भ्रान्त सहर पेरिसमा फेसनको नयाँ लहर चल्न शुरु भइसकेको थियो । पेरिसबाट शुरु भएको फेसनको नयाँ लहर अमेरिकासम्म पुगेको थियो ।

चरम गरिबीमा फसेको दक्षिण कोरिया र सम्भ्रान्त युरोपको पेरिस सहरबीच सम्बन्ध जोड्ने काम फेसनले गर्यो । पेरिसमा त्यो बेलामा ‘विग’ (नक्कली कपाल)को माग बढेको थियो । नाम चलेका कैयन सेलिब्रेटीहरु विग लगाउन थालिसकेका थिए ।

‘म गल्लीमा छिमेकी साथीहरुसँग खेलिरहेकी थिए, मलाई आमाले बोलाउनु भयो,’ ६८ वर्षे केङ चेएई एनले त्यो समय सम्झँदै भनिन्, ‘आमाले भन्नुभयो, तिम्रो कपाल घोडाको जस्तै राम्रो छ, स्कुल जानुअघि यो कपाल काट्नुपर्छ ।’

तर, उनी कपाल काट्न तयार थिइनन् । किनभने, कन्फ्युसियन विचारधाराबाट प्रभावित कोरियनहरु लामो कपाललाई अभिभावकका तर्फबाट प्राप्त उपहारका रुपमा लिन्थे ।

तर, युद्धका कारण ध्वस्त भएको उनको गाउँमा आम्दानीको सजिलो स्रोत नै कपाल बिक्री गर्नु नै थियो । उनले नचाहँदा नचाहँदै पनि कपाल काटेर बिक्री गर्नु पर्यो । उनी जस्ता कैयनले त्यो समयमा कपाल काटेर बिक्री गरे । त्यसबाट प्राप्त भएको आम्दानीले खाद्यान्न खरिद गरेर पेट भरे ।

कोरियामा चरम गरिबी अर्को दशकसम्म पनि रह्यो । केङ चेएई एनले टिनएज पार गर्दासम्म कोरियाको प्रतिव्यक्ति आम्दानी डलर पनि थिएन । तर, विश्वबजारमा कोरियन महिलाहरुको कपालको मूल्य निकै बढेको थियो ।

उनीहरुले कपाल बिक्री गरी खाद्यान्न किन्थे भने सरकारले विदेश निर्यात गरेर डलर आम्दानी गर्दथ्यो । कोरियन महिलाहरुको कपाल युरोप हुँदै अमेरिकासम्म पुग्थ्यो । जुन फेसन उद्योगका लागि महत्वपूर्ण वस्तु बनेको थियो ।

त्यसअघि पेरिसमा युरोपबाट कपालको आपूर्ति हुन्थ्यो । तर, गुणस्तर र मूल्यका हिसाबले सस्तो पर्न थालेपछि एशियन मुलुकहरुमा कपालको माग बढ्न थालेको थियो । युरोपियन महिलाहरुको कपालको तुलनामा कोरियन महिलाहरुको कपाल चिल्लो र मुलायम मात्रै होइन सस्तो पनि थियो ।

दक्षिण कोरियाले तत्कालीन समयमा ४७४ मेट्रिक टन कपाल विदेशमा निर्यात गरेको थियो । जसबाट मनग्ने विदेशी मुद्रा संकलन गर्न सफल भएको थियो । दक्षिण कोरियामात्रै होइन उत्तर कोरिया, चीन, भियतनाम, भारतबाट पनि युरोप र अमेरिकामा कपाल निर्यात ठूलो थियो ।

‘त्यो समयमा हाम्रा घरघरमा कपाल संकलन गर्नेहरु आउँथे, केहीले सैलुनबाट पनि संकलन गर्दथे । सैलुनमा राम्रा कपाललाई बाँधेर बिक्रीका लागि भित्तामा झुण्ड्याइएको हुन्थ्यो,’ केङ चेएई एनले भनिन् ।

सन् १९७० को दशकसम्म आइपुग्दा दक्षिण कोरियामै ठूला उद्योगको विकास तीव्र गतिमा भइसकेको थियो । सन् १९६४ मा कोरियाले १४ हजार डलर बराबरको कपाल निर्यात गरेको थियो भने सन् १९७० सम्म आइपुग्दा यो रकम ९ करोड ३० लाख डलर बराबर पुगिसकेको थियो । दक्षिण कोरिया ‘विग’ निर्यात गर्ने विश्वको दोस्रो मुलुक बनेको थियो भने निर्यात ९.३ प्रतिशतले बढेको थियो ।

समयक्रमसँगै कपाल निर्यात गर्ने दक्षिण कोरियाले आफ्नै देशमा विग कम्पनीहरु स्थापना गर्न थाल्यो । हजारौंले रोजगारी पनि पाए । स्कुल नजाने कलिला बालबालिकाहरुले पनि आम्दानीका लागि त्यस्ता कम्पनीमा काम गर्न थाले । चीनबाट सस्तो मूल्य कपाल खरिद गर्ने र बिक्री गर्ने काम शुरु भइसकेको थियो ।

आज विश्वभर करिब ३ खर्ब रुपैयाँ बराबरको नक्कली कपालको बजार छ । जहाँ भारत लगायतका कैयन देशमा यसको ठूलो बजार छ ।

भारतले सन् २०२० मा ४५ अर्ब रुपैयाँको नक्कली कपाल निर्यात गरेको थियो भने सन् २०१९ मा ३१ अर्ब, सन् २०१८ मा साढे २६ अर्ब रुपैयाँ, सन् २०१७ मा २८ अर्ब रुपैयाँको कपाल निर्यात गरेको थियो ।

भारतमा विशेषगरी विभिन्न मन्दिरहरुमा दान गरिने कपाल विभिन्न देशमा निर्यात गरिँदै आइएको छ ।


क्लिकमान्डु