२० स्टार्टअप लगानीकर्ता माझ सुनाए यस्ता बिजनेश आइडिया, १० करोडसम्म लगानी माग



काठमाडौं । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा स्टार्टअप व्यवसायमा हात हालेका युवाहरुले आफ्नो आइडिया एक एक गरेर सुनाइरहेका थिए ।

दर्शकदीर्घामा बसेर उनीहरुका रोचक कुराहरु सुनिरहेका थिए नेपालका सफल उद्योगी व्यवसायीहरु । स्थापित यी उद्योगीहरुले भर्खर व्यवसायमा हात हालेका यी नवप्रवर्तकहरुलाई विभिन्न प्रश्नहरु पनि सोधे ।

विभिन्न प्रकारका स्टार्टअप शुरु गरेको युवाहरुको आइडिया पिचिङ र स्थापित उद्योगीहरुको प्रश्नले कार्यक्रम निकै रोचक बनेको थियो । नवउद्यमीहरुले आफ्नो व्यवसायमा लगानी गर्न सभाहलमा उपस्थित गरिब २५ उद्योगी व्यवसायीलाई आग्रह गरिरहेका थिए ।

कति स्टार्टअप युवा उद्यमीले आफ्नो उत्पादनलाई अगाडि ल्याएर प्रदर्शनसमेत गरे । आइसक्रिम स्टार्टअप व्यवसाय गरेका युवा उद्यमीले आफने उत्पादनलाई सम्भावित लगानीकर्तालाई चखाएर लगानीको लागि आग्रह गरे ।

यो दृष्य महासंघले अगाडि सारेको ५० विजनेश/५० लगानीकर्ता कार्यक्रम अन्तर्गत नवउद्यमीले लगानीकर्ता अगाडि गरेको पिचिङको हो । महासंघले ५० स्टार्टअप व्यवसायमा ५० लगानीकर्ताले लगानी गर्ने भनेर घोषणा गरेको कार्यक्रम अन्र्तगत भएको नवउद्यमीहरुको पहिलो पिचिङ कार्यक्रम हो ।

बिहीबार सम्भावित लगानीकर्तामाफ १९ जना स्टार्टअप युवा उद्यमीले आफ्नो व्यवसायको बारेमा प्रस्तुती दिएका थिए । २० जनाले पिचिङ गर्ने कार्यक्रम भए पनि एकजना कैलालीबाट आउदै गर्दा रोकिएपछि आफ्नो प्रस्तुति दिन पाएनन् ।

बिहीबार पिचिङ सेशनमा आमा एग्रो, रासन टेक, नेपाल एग्रो इन्पुट्स मार्केटिङ एण्ड इन्टरप्रेनअरशिप सर्भिस (नेम्स), अन्सु टेक्नोलोजि, लुक्ला आउटडोर, पिक एण्ड ड्रप, एक कल होम सोलुसन्स, वेदा, अर्बान्स नेपाल, खानपीन, स्वीट फिक्स, बिहे नेपाल, सारङ, कारखाना, ग्लोकल एकेडेमि अफ स्कील, ह्यापी माइण्डस, टिक्का, बोआफ्रेश, ज्वाला कृषि तथा पशुपालन उद्योग र निन्जा इन्फोसीस छन् ।

उनीहरुले आफ्नो स्टार्टअपको आइडिया, व्यवसायको स्टाटस र आफूले चाहेको लगानीबारे लगानीकर्ता माझ जानकारी गराएका थिए । उनीहरुले आफ्नो स्टार्टअपलाई अझै माथि पुर्याउन १० करोड रुपैयाँसम्मको लागनी आवश्यक भएको उल्लेख गरे ।

शिक्षा क्षेत्रमा काम गर्दै आएको कारखाना टिमले आफ्नै भवनमा आफ्ना सामग्री उत्पादन गरेर मुलुकभरका विद्यालयमा पुर्याउने योजना अनुसार १० करोड रुपैयाँ लगानी आवश्यक बतायो ।

त्यस्तै, अर्बान्स नेपाले २० प्रतिशत इक्विटीको लागि १ करोड, खानपिनले ५ करोड, स्वीट फिक्सले ३ करोड, टिक्काले डेढ करोड, बोयप्रेसले ७५ लाख लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

स्टार्टअपहरुले दिएको प्रपोजललाई अध्ययन गरेर लगानीकर्ताले लगानी गर्ने नगर्ने, कति लगानी गर्ने भन्ने निर्णय गर्ने महासंघ अन्र्तगतको स्टार्टअप एण्ड इनोभेसन समितका अध्यक्ष रञ्जित आचार्यले बताए ।

कुनै स्टार्टअपमा लगानी गर्न लगानीकर्ता इच्छुक भएमा दुई पक्षबीच पुन मिटिङ गरेर सम्झौताको प्रकृया अगाडि बढ्ने महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष शेखर गोल्छाले यो कार्यक्रमले नविनतम सोच भएका र लगानीको अभावमा आफूलाई विस्तार गर्न नसकेका स्टार्टअपहरूलाई लगानी जुटाउन सहयोगी हुने बताए । महासंघको आर्थिक रुपान्तरण २०३० (भिजन पेपर) ले पनि स्टार्टअप व्यवसायलाई जोड दिएको र अहिले सरकारले पनि हाम्रै सल्लाहमा यो क्षेत्रलाई प्राथमिकतामा राखेको जानकारी गराए ।

सरकारले महासंघकै सुझाबका आधारमा बजेटमार्फत् १ अर्ब रुपैयाँको च्यालेन्ज फन्ड घोषणा गरेको गोल्छाले बताए ।
‘स्टार्टअपमा सबै सफलता पाउँदैनन्, तर स्टार्टअप कल्चरलाई अगाडि बढाउनु पर्छ भनेर यो गरिएको हो,’ गोल्छाले भने, ‘जुन देशमा उद्यमशिलता मर्छ, त्यो देशले विकास गर्न सक्दैन ।’

उनले नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएपछि स्टार्टअपलाई प्रवद्र्धनका प्रयासहरु भइरहेको बताए । स्टार्टअप एण्ड इनोभेसन समितिका सभापति रञ्जितराज आचार्यले महासंघको यो प्रयासले मुलुकभित्र स्टार्टअप व्यवसायमा नयाँ आयाम थप्ने बताए । सभापति आचार्यले समितिले स्टार्टअप व्यवसायका क्षेत्रमा नीति निर्माणमा समेत गृहकार्य गरी सरकारलाई पेश गरेको र यस क्षेत्रको भविष्य निकै राम्रो रहेको बताए ।

मुलुकभित्र नविनतम सोच भएका नवप्रवर्तक स्टार्टअपलाई सम्भावित लगानीकर्ता जुटाई दिने उद्देश्यअनुरूप महासंघले यो कार्यक्रम शुरु गरेको हो ।

महासंघ आफैले आवेदनमार्फत् छनौट गरेका र महासंघको सहकार्यमा व्यवसायिक संघ÷संस्थाले विभिन्न समयमा गरेका स्टार्टअपसंग सम्बन्धित कार्यक्रममा उत्कृष्ट ठहरिएका स्टार्टअपहरूले पिचिङ शेशनमा भाग लिएका थिए । महासंघले यस कार्यक्रममा सहभागिताका लागि विभिन्न समयमा स्टार्टअप व्यवसायीसंग आवेदनसमेत माग गरेको थियो ।

महासंघको यस कार्यक्रममा एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आइरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनीरुपमा दर्ता भएका स्टार्टअप व्यवसाय यसका लागि योग्य मानिने छन् ।


क्लिकमान्डु