२५ वर्षे डलर अर्बपति अलेक्जेन्डर वाङ, ६ वर्षमा बनाए ९ खर्बको कम्पनी



एजेन्सी । फोब्र्स म्याग्जिनमा हालै अमेरिकाका अलेक्जेन्डर वाङलाई विश्वकै सबैभन्दा कम उमेरका सेल्फ मेड डलर अर्बपतिका रुपमा घोषणा गरियो ।

२५ वर्षे एशियाली मूलका अलेक्जेन्डर अर्बपति बन्दै गरेको कथा उनको उमेर जत्तिकै छोटो छ ।

सानैदेखि गणितमा रुचि थियो त्यसैले उनी नेशनल म्याथ तथा कोडिङ प्रतिष्पर्धामा भाग लिइरहन्थे । यसका पछाडि कारण थियो कि डिज्नी वर्ल्डको निःशुल्क टिकट । तर उनले प्रतिष्पर्धा कहिल्यै जित्न सकेनन् र निःशुल्क टिकट त पाएनन तर उनलाई कोडिङमा आकर्षित भने गर्यो ।

यतिसम्म कि उनी १७ वर्षको उमेरमै प्रश्नहरुको उत्तर दिने वेवसाइट क्वोराका लागि फूल टाइम कोडिङ गर्न शुरु गरिसकेका थिए । क्वोरामा काम गर्दैगर्दा उनी म्यासाच्युसेटस इन्स्टिच्युसन अफ टेक्नोलोजी (एमआईटी)मा भर्ना भए ।

त्यहाँ एक वर्षपछि पढाइपछि गर्मीको विदामा उनी लुसी म्युओका साथ मिलेर स्केल एआई नामक कम्पनी शुरु गरे । फोर्ब्सका अनुसार यी दुबै जनाको भेट क्वोरामा भएको थियो ।

एमआइटीको पढाइ बीचमै छाडेर कम्पनी शुरु गर्ने फैसला उनका लागि सजिलो थिएन । उनका माता पिता पनि कलेज ड्रपआउटको निर्णयसँग खुसी थिएनन् ।

वाङ भन्थे, ‘म गर्मीको विदाभर यो काम गर्नेछु तर विदा सकिएपछि छाड्नेछु ।’

तर उनले त्यसो गरेनन् । यसैबीच उनको कम्पनीलाई फन्डिङ प्राप्त भयो र त्यसपछि कम्पनीको काममा व्यस्त हुँदै गए । कलेज जाने काम बन्द भयो ।

यद्यपि वाङको कम्पनीले शुरुवाती समयदेखि नै पाएको सफलताले उनका माता पितालाई पनि खुसी तुल्यायो । उनका भौतिकशास्त्री माता पिता अमेरिकी नेशनल ल्यावमा सेनाको हतियार बनाउने प्रोजेक्टमा काम गर्दथे ।

हाल वाङले ३०० भन्दा बढी कम्पनीका लागि डेटा एनलाइसिसको काम गर्दै आएका छन् । उनको कम्पनीले मानिसको तुलनामा तीव्रगतिमा स्याटेलाइट इमेजलाई विश्लेषण गर्ने क्षमता राख्छ । हालै उनको कम्पनीले युक्रेनका विषयमा विश्लेषण गरेको थियो । जसमा रुसको आक्रमणका कारण कति नोक्सानी भयो भन्ने विषयमा अध्ययन गरिएको थियो ।

फर्च्युन म्याग्जिनका अनुसार वाङले अमेरिकी एयरफोर्स, आर्मी, जनरल मोटर्सलगायतका कम्पनीको डेटा एनलाइसिस गर्दै आएका छन् ।

उनले ६ वर्षअघि शुरु गरेको कम्पनीले हालसम्म साढे १३ अर्ब रुपैयाँ बराबरको सम्झौता गरिसकेको छ । गत वर्ष मात्रै उनलाई ४० अर्ब रुपैयाँको फन्डिङ प्राप्त भएको थियो । तयसपछि कम्पनीले १२ अर्ब ३२ करोड रुपैयाँ बराबरको राजस्व समेत प्राप्त गरेको थियो ।

हाल कम्पनीको मूल्य बढेर ९ खर्ब रुपैयाँको भइसकेको छ । जसमा वाङको हिस्सेदारी १५ प्रतिशत छ ।


क्लिकमान्डु