मन्त्री आलेले नेपाली आकाश सुरक्षित घोषणा गरेको चार दिनमै चार वर्षपछिको ठूलो हवाई दुर्घटना



नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सुरक्षामा कैयौं प्रगति भएको दाबी गरिरहँदा ४ वर्ष तीन महिनापछि ठूलो हवाई दुर्घटना भएको छ ।

काठमाडौं । जेठ १२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले मगरले नेपाली आकाश सुरक्षित रहेको भन्दै नेपालका लागि युरोपियन युनियन (ईयू) राजदूत नोना डिप्रेजसँग नेपाली वायुसेवा कम्पनीलाई लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेका थिए ।

२०६९ असोज १२ भक्तपुर मनोहरामा सिता एयरको विमान दुर्घटना हुँदा सातजना बेलायती नागरिक सहित १९ जनाको मृत्यु भएपछि २०७० सालदेखि नेपाल वायुसेवा कम्पनीमाथि युरोपियन युनियनले प्रतिबन्ध लगाउँदै आएको छ ।

इयूले जारी गर्ने हवाई सुरक्षा प्रतिवेदनमा नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियनको आकाश प्रयोग गर्न प्रतिबन्ध लगाएको उल्लेख छ । नेपाली वायुसेवा कम्पनी उड्डयन सुरक्षामा कमजोर रहेको भन्दै युरोपियन युनियनले आफ्ना नागरिकलाई नेपाली वायुसेवा कम्पनीमा उडान नगर्न आग्रह गर्दै आएको थियो ।

मन्त्री आलेले नेपाली आकाश सुरक्षित रहेको दाबी गरेको चार दिनमै नेपाली आकासमा ठूलो दुर्घटना भएको हो ।

यति एयरलाइन्सको भगिनी संस्था तारा एयरलाइन्सको विमान दुर्घटनामा परेको हो । यसअघि २०७२ फागुन ११ गते ताराएयरको विमान म्याग्दीकाे दानामा दुर्घटना हुँदा २३ जना यात्रुको मुत्यू भएको थियो ।

यस्तै तारा एयरको विमान २०७४ मंसिर १२ गते सिमिकोट र २०७५ जेठ २६ गते जुम्लामा पनि दुर्घटना भएको थियो । ती दुर्घटनामा भने मानवीय क्षति भएको थिएन ।

आज (आइतबार) बिहान पोखराबाट जोमसोम जाने क्रममा तारा एयरको कलसाइन ९ एन–एइटी रहेको विमान मुस्ताङको लार्जुङमा दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा रहेका चालक दलका ३ सदस्यसहित २ जना विदेशी नागरिक , ४ जना भारतिय नागरिक र १३ जना नेपाली नागरिक सवार थिए । उनीहरुको अवस्था के छ भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

‘मुस्तङको लार्जुङ भन्ने स्थानमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको जानकारी प्राप्त भएको छ,’ बायु सेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले भने, ‘मौसम खराबीका कारण हेलिकोप्टर जान नकसेपछि अहिले प्रहरीको टोली उक्त क्षेत्रमा जाँदै गरेको जानकारी आएको छ ।’

कँडेलका अनुसार लेतेबाट जोमसोमतर्फ बाँयापट्टी लार्जुङको खोँचमामा दुर्घटना भएको र दुर्घटनास्थलमा उद्दारकर्मी पुग्न सकेका छैनन् ।

‘दुर्घटनास्थल नजिकै केही स्थानीयहरु छन्, त्यहाँको मौसम कुहिरोका कारण हेलिकोप्टरले उडान भर्न सकेको छैन,’ उनले भने ।

विमानका पाइलट प्रभाकर प्रसाद घिमिरे, कोपाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापा रहेका छन् । यस्तै नेपाली नागरिकमा ,इन्द्र बहादुर घले, पुरुषोत्तम घले, राजन कुमार घले, वसन्त लामा, गणेश नारायण श्रेष्ठ, रविना श्रेष्ठ, रश्मि श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकास सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाय तामाङ र तुलसा देवी तामाङ रहेका छन् ।

यसैगरि भारतिय नागरिक वाजभवी बन्देकर, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी र रितिका त्रिपाठी हुन् । अन्य दुई यात्रुको नाम युडब्लुई विल्नर र मेइके ग्रिट ग्राफ हो । उनीहरु कुन देशका हुन भन्ने खुल्न सकेको छैन ।

नेपालका सरकारी अधिकारीहरु हवाई सुरक्षामा नेपालले ठूलो प्रगति गरेको भन्दै युरोपले नेपाली वायुसेवा कम्पनीमाथि लगाएको प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए ।

२०७४ फागुन २४ पछि नेपाली आकाशमा ठूलो हवाई दुर्घटना भएको थिएन । फागुन २४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने क्रममा बंगलादेशी कम्पनी युएस बंग्लाको विमान पाइलटको लापरवाहीले दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा ५१ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने २० जना यात्रु भने बाँचेका थिए ।

२०७६ वैशाख १ यता नेपाली आकासमा हवाई दुर्घटना नै भएको थिएन । २०७६ वैशाख १ गते लुक्ला विमानस्थलमा समिट एयरको विमान र मनाङ एयरको हेलिकोप्टर दुर्घटना भएको थियो । समिट एयरको विमान दुर्घटना हुँदा २ जना यात्रुको मुत्यू भएको थियो भने हेलिकोप्टर दुर्घटनामा मानविय क्षती भएको थिएन् ।

२०७५ फागुन १५ गतेपछि नेपालमा मानवीय क्षति हुने गरी हेलिकोप्टर दुर्घटना भएको थिए । फागुन १५ गते एयर डाइनेष्टीको हेलिकोप्टर ताप्लेजुङको पाथिभरामा दुर्घटना तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको थियो ।

विभागीय मन्त्रीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडानमा कडाइ गरेको थियो ।


क्लिकमान्डु