गहुँपछि भारतले चिनीको निर्यातमा पनि लगायो प्रतिबन्ध, नेपालमा कस्तो प्रभाव पर्ला ?



काठमाडौं । गहुँ निर्यातमा प्रतिबन्ध लगाएको केही दिनपछि भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको छ । भारत सरकारले आन्तरिक बजारमा चिनीको मूल्य उच्च भएको र मूल्यलाई सन्तुलन गर्न भन्दै आगामी जुन १ देखि अक्टोबरसम्म निर्यातमा प्रतिबन्ध गर्ने भएको छ ।

तर, कुनै पनि व्यवसायीले खाद्य मन्त्रालयसँग विशेष अनुमतिमा निर्यात भने गर्न सक्नेछन् । भारतले यसअघि ६ वर्ष पहिले पनि चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो ।

विश्वमा ब्राजिलपछि सबैभन्दा बढी भारतमा चिनी उत्पादन हुन्छ । हाल विभिन्न देशले रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा आपूर्ति श्रृङ्खलासँगै मूल्यवृद्धि हुँदै गएकाले खाद्यान्नमा जोहो निर्णय गरिरहेका छन् । यसैक्रममा भारत सरकारले देशभित्रै आपूर्ति सहज र मूल्यवृद्धि नियन्त्रणका लागि निर्यातमा प्रतिबन्ध लगाएको हो ।

चिनी निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा प्रत्यक्ष असर देखिने भएको छ ।

नेपाल चिनी उद्योग संघका अनुसार नेपालको आन्तरिक खपत २ लाख ५० हजार मेट्रिक टन छ । जसमध्ये १ लाख ३० हजार मेट्रिक टन आन्तरिक उत्पादन हुने भए पनि बाँकी भारतलगायतका मुलुकबाट आयात हुँदै आएको छ ।

भन्सार विभागको तथ्याङ्अनुसार नेपालले चालु आर्थिक वर्षको ९ महिनामा ४ अर्ब ७० करोड ६२ लाख रुपैयाँ बराबरको ८ करोड ९९ लाख ७९ हजार केजी चिनी आयात गरेको छ ।

बिस्कुट, चकलेट, बेकरीलगायत विभिन्न प्रकारका जुस उत्पादन गर्ने उद्योगहरूको मुख्य कच्चा पदार्थको रुपमा चिनीलाई लिइन्छ । ती उद्योगहरूले भारतबाट चिनी आयात गरेर वस्तु उत्पादन गर्दै आएका छन् । तर, अहिले भारत सरकारले चिनी निर्यातमा प्रतिबन्ध गर्ने निर्णयले उद्योगी थप मारमा परेका छन् ।

नेबिको बिस्कुटका ब्रान्ड म्यानेजर अरुण पौडेलले चिनी निर्यातमा प्रतिबन्ध गर्ने निर्णयले नेपालमा प्रत्यक्ष असर देखिने बताए । उनकाअनुसार स्वदेशमा उत्पादन भएको चिनीले विभिन्न उद्योगको खपत धान्दैन । आयातकर्ताहरूले भारतबाट नै आयात गरेर उद्योगीहरूलाई बिक्री गरिरहेको छ ।

व्यवसायीहरूले आयात गरेर बिक्री अवस्था नरहेपछि स्वदेशको चिनीको मूल्य बढ्नेछ ।

‘आयात नहुने वित्तिकै बजारमा माग उच्च र आपूर्ति कम हुने वित्तिकै मूल्य बढ्नेछ,’ उनले क्लिकमाण्डूसँग भने ।

विगतका दिनमा पनि नेपाली चिनी उद्योगीहरूले नेपाल साल्ट ट्रेडिङमा मौज्दात सकिने वित्तिकै चिनीमा कालोबजारी गर्ने प्रवृत्ति रहेको छ । उद्योगीहरूले मौज्दातमा चिनी राख्दै बजारमा अभाव सिर्जना गर्ने र मूल्य बढाउने गरेको धेरै घट्ना छ ।

अहिले भारत सरकारले प्रतिबन्ध गर्ने निर्णयसँगै नेपालमा झनै कालोबजारी हुने उनको भनाइ छ । त्यसैले, उद्योगीहरूले कसरी चलाउने भन्नेमा भर पर्ने उनको बुझाइ छ ।

‘आयात नहुने वित्तिकै कच्चा पदार्थको रुपमा आउने चिनी कि त बढी मूल्यमा किन्नुपर्छ । कि त उद्योग बन्द गर्नुपर्छ,’ उनले भने ।

उनले यी दुई वटाबाहेक अन्य विकल्प नरहेको जिकिर गरे । अहिले विविध समस्याले गर्दा कतिपय बिस्कुट उद्योगहरू बन्द हुँदै गएको छ । यस्तो अवस्थामा प्रतिबन्ध गर्ने निर्णयले थप भार र निरुत्साहित गरेको उनको बुझाइ छ ।

‘चिनीबिना हाम्रो उद्योगको वस्तु उत्पादन हुँदैन,’ उनले भने, ‘उद्योगीहरूले चिनी निश्चित मूल्यमा मात्रै खरिद गर्न सक्छ । त्यसैले, बजारमा मूल्य बढेसँगै अभाव देखियो भने उद्योग बन्द गर्न सक्ने अवस्था सिर्जना हुनेछ ।’

उनकाअनुसार उद्योगीहरूले घाटा खाएर पनि उद्योग सञ्चालन गर्ने हो भने ४ महिनासम्म चलाउन सक्लान । नभए अर्को विकल्प छैन ।

नेपाल बिस्कुट उद्योग संघका महासचिव बिक्रम कर्मचार्यले चकलेट, बिस्कुटलगायत अन्य विभिन्न उद्योगको कच्चा पदार्थका रुपमा प्रयोग हुने चिनीको प्रतिबन्धले नेपाली उद्योगमा धेरै प्रभाव पार्ने बताए ।

उनकाअनुसार चिनी उद्योगका लागि मात्रै नभएर आम सर्वसाधारणहरूको पनि अत्यावश्यक वस्तु पर्छ । त्यसैले, भारत सरकारले लगाएको प्रतिबन्ध हटाउन नेपाल सरकारले पहल गर्नुपर्छ ।

उनले भारत सरकारले लगाएको प्रतिबन्धले उद्योग बन्द हुने सक्ने बताए ।

‘चिनी धेरै आयात गरेर मौज्दात राख्ने कुरा हुन्न,’ उनले भने, ‘चिनी धेरै समयसम्म मौज्दातमा राख्यो भने अम्लियपन हुने भएकाले आगामी दिनमा अभावसँगै मूल्य बढ्नेछ ।’ साथै, समयमै चिनी आउन नसके उद्योग बन्द गर्नुपर्ने अवस्था सिर्जना हुने उनको भनाइ छ ।

त्यसैगरी, नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले चिनी उद्योगमा मात्रै नभएर घर–घरमा पनि अत्यावश्यक वस्तुको रुपमा प्रयोग हुँदै आएको छ । भारत सरकारले चिनीमा लगाएको प्रतिबन्धले बजारमा कालोबजारी र मूल्य बढ्ने बताए ।


क्लिकमान्डु