जिरु उत्पादन गर्ने सिंगापुर वेभरेजले पुँजी वृद्धि गरेर ८० करोड पुर्यायो, छिट्टै नयाँ उत्पादनहरु आउने



काठमाडौं । नेपाली पेय पदार्थ जिरु र निम्बुपानी उत्पादन गरेर चर्चामा आएको सिंगापुर वेभरेजले पुँजी वृद्धि गरेर ८० करोड रुपैयाँ पुर्याएको छ ।

झापाको धाइजनमा सञ्चालनमा रहेको कम्पनीले पुँजी वृद्धि गरेसँगै उद्योग विभाग काठमडौंमा कम्पनी दर्ता गरेको छ । यसअघि कम्पनी झापाको भद्रपुर घरेलु उद्योग कार्यालयमा ५ करोड चुक्तापुँजी राखेर दर्ता गरेको थियो ।

‘क्षमता र उत्पादन वृद्धि भएपछि काठमाडौं उद्योग विभागमा कम्पनी दर्ता गरेका छौं,’ सिंगापुर वेभरेजका प्रबन्ध निर्देशक आशीष शर्माले भने, ‘कम्पनीको पुँजी ५ करोडबाट ८० करोड पुर्याएका छौं ।’ कम्पनीमा नयाँ मेसिनहरु थप गरिएको र नयाँ उत्पादनहरु पनि थप भइरहेको उनले बताए ।

अहिले कम्पनीका ८ वटा बजारमा उपलब्ध छन् । जिरु र निम्बुपानीसँगै मनसुन ड्यु, क्लब कोला, राइट लेवल, फ्यान्सी, टर्निक वाटर, क्लब सोडा जस्ता उत्पादनहरु बजारमा उपलब्ध छन् ।

पुँजी वृद्धि गरेसँगै थप २० वटा नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको उनले बताए । मेसिनहरु थप गरिएको र २० वटा नयाँ उत्पादन गर्ने भएपछि पुँजी वृद्धि गरेको उनले बताए ।

पाँच वर्षअघि स्थापना भएको सिंगापुर वेभरेजको पहिलो उत्पादन मनसुन ड्यु हो । दुई वर्षअघि जिरुको उत्पादन शुरु गरेको थिए । योसँगै अहिले निम्बुपानी उत्पादन गरिरहेको छ ।

यी उत्पादनमध्ये उपभोक्ताले जिरु र निम्बुपानी धेरै मन पराएको शर्माले बताए । ‘हामीले धेरै रिसर्च गरेर जिरु र निम्बु पानी जस्तो उत्पादन ल्याएका हौं,’ शर्माले भने, ‘जसले नेपाली स्वादलाई झल्काउँछ ।’

जिरुमा खासगरी दुई सामग्रीको संयोजन छ– जिरा र बिरे नुन । त्यस्तै, निम्बुपानीमा लेमन, पानी, सुगर मिसाइएको छ । यी दुई उत्पादनहरु शुद्ध नेपाली स्वादको पेय पदार्थ भएको शर्माको भनाइ छ ।

जिरु अष्ट्रेलिया, अमेरिका, बेलायतमा पनि पुगेको र बाहिरबाट पनि राम्रो प्रतिक्रिया आएको बताए ।

उद्योगले प्रतिदिन १० देख १५ हजार केस उत्पादन गरिरहेको छ ।

उद्योगमा अहिलेसम्म ४० करोडभन्दा धेरै लगानी भइसकेको र लगानी वृद्धि भइरहेको उनी बताउँछन् । उद्योगले प्रतिदिन १० देखि १५ हजार केस उत्पादन गरिरहेको छ ।

सिंगापुर वेभरेज झापाको धाइजनमा साढे पाँच विगाहा क्षेत्रमा फैलिएको छ । त्यसमध्ये २ विगाहामा कारखाना सञ्चालनमा छ जहाँ ३५० जनालाई रोजगारी दिएको उनी बताउँछन् ।

दुवाइमा स्नाकोत्तर गरेका आशिषले अध्ययन सकिएसँगै नेपाल आएर सन् २०१६ को अन्ततिर सिंगापुर वेभरेज दर्ता गरेका थिए ।
अहिले नेपालको सफ्ट ड्रिंक्सको बजार २० अर्ब हाराहारीको रहेको उनको अनुमान छ । जनु अधिकांश हिस्सा बुहराष्ट्रिय कम्पनी कोकाकोला र पेप्सीले ओगटेका छन् ।

सफ्ट ड्रिंक्सको यति ठूलो बजार हुँदाहुँदै पनि नेपालको आफ्नै स्वादका पेय पदार्थ अभाव थियो । यही अभावलाई पूरा गर्न सिंगापुर वेभरेज कम्पनी स्थापना गरेको उनी बताउँछन् ।


क्लिकमान्डु