यी हुन् एक वर्षमै १ खर्ब ६० अर्ब रुपैयाँ कारोबार गर्ने १६ नेपाली कम्पनी



काठमाडौं । सन् २०२१ मा नेपालका १६ वटा कम्पनीले ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गरेका छन् । रेटिङ एजेन्सीमार्फत् सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा देशभर रहेको १६ वटा कम्पनीले १ खर्ब ६० अर्ब रुपैयाँ बढी कारोबार गरेको पाइएको हो ।

सबैभन्दा बढी कारोबार गर्ने कम्पनी भाटभटेनी सुपरमार्केट रहेको छ । देशभर १८ वटा शाखा रहेको भाटभटेनीले सन् २०२१ मा करिब २० अर्बको कारोबार गरेको छ । मिनबहादुर गुरुङ शेयरधनी रहेको यस कम्पनीले गत वर्ष १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ कारोबार गरेको हो ।

भाटभटेनीपश्चात गत वर्ष बोटलर्स नेपालले बढी कारोबार गरेको देखिन्छ । नेपालमा कोकाकोला, स्प्राइट, फ्यान्टा र किन्ले उत्पादन तथा बिक्री गर्ने कम्पनी बोटलर्स नेपालले गत वर्ष मात्रै १४ अर्ब ७५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । जसमा बोटलर्स नेपाल लिमिटेडले ८ अर्ब ४४ करोड २० लाख रुपैयाँको र बोटलर्स नेपाल (तराई) ले ६ अर्ब ३१ करोड ७० लाख रुपैयाँको कारोबार गरेको हो ।

त्यसैगरी, नेपालमा मदिरा क्षेत्रमा बादशाह मानिने जाउलाखेल ग्रुप अफ इन्डस्ट्री (जेजीआई) ले १४ अर्ब ५० करोड २७ लाख रुपैयाँको कारोबार गरेको छ । देशभर २३७ वटा डिलर रहेको राजबहादुर र बिजयबहादुर शाहको यस कम्पनीले विभिन्न प्रकारका मदिरा उत्पादन गरेसँगै आयातित मदिरा बिक्री वितरण गर्दै आएको छ ।

नेपालको लागि होन्डाको लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङले पनि गत वर्ष १३ अर्ब ४२ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा भने ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

शौरभ ज्योति र सुह्रिद ज्योतिको शेयर रहेको यस कम्पनीको देशभर १६ वटा शोरुम र १११ वटा डिलर रहेको छ ।

नेपालका लागि किया र इसुजु, कोमट्सु र ओकाडा ब्रान्डका सवारी साधनको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले सन् २०२१ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । काठमाडौंलगायत अन्य १२ अञ्चलमा डिलर रहेको यस कम्पनीले सन् २०२२ को ६ महिनामा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँको कारोबार गर्ने अपेक्षा गरेको छ ।

नारायणी तेल उद्योगले गत वर्ष १० अर्ब ७४ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको छ । रेटिङ एजेन्सीअनुसार कम्पनीले सन् २०२० को तुुलनामा २ अर्ब बढीको कारोबार गरेको देखाउँदछ । बारा जिल्ला लिपानीमलमा रहेको कम्पनीले भटमासको तेल, पाम तेल, वनस्पति तेल, तोरीको तेल, सनफ्लावर तेल गरी वार्षिक १ लाख १७ हजार मेट्रिक टन तेल प्रशोधन तथा उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले त्रीशक्ति, स्मायल, आरोग्या, श्री, निलमनी, कुन्दन र निल्कमल जस्ता ब्रान्डको तेल आन्तरिक बजारमा बिक्री गर्दै आएको छ ।

डाबल नेपालले प्रालिले सन् २०२१ मा १० अर्ब ६९ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले आन्तरिक बजारसँगै विदेशमा पनि निर्यात गर्दै आएको छ । नेपालबाट निर्यात हुने वस्तुमा ठूलो हिस्सा रहेको कम्पनीले जुस, च्यावानप्राश, ग्लुकोज, मन्जन, कपालमा लगाउने तेल, हजमोला र मह उत्पादन गर्दै आएको छ ।

त्यस्तै, नेपालका लागि साओमी, कलर्स मोबाइलको आधिकारिक बिक्रेता टेली डाइरेक्ट र टेली टल्क प्रालिले सन् २०२१ मा १० अर्ब १० करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । कोरोना महामारीका कारण मोबाइलफोनको प्रयोगकर्ता उच्च रुपमा बढ्दा कम्पनीले गत वर्ष १० अर्ब बढीको कारोबार गर्न सकेको कम्पनीले जनाएको छ । कम्पनीले देशभर साओमी, कलर्स र नोकियाको बिक्री वितरण गर्दै आएको छ ।

सिमेन्ट क्षेत्रमा सबैभन्दा बढी कारोबार सर्बोत्तम सिमेन्टले गरेको छ । कम्पनीले गत वर्ष ८ अर्ब ९५ करोड रुपैयाँको कारोबार गरेको जनाएको छ छ । क्लिङ्कर र ग्रान्डिङ दुबै प्रकारका सिमेन्ट उत्पादन गर्दै आएको कम्पनीले वार्षिक १० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले ‘सर्बोत्तम’ ब्रान्डमा ओपीसी र पीपीसी सिमेन्ट बिक्री वितरण गर्दै आएको छ ।

२० अर्ब लगानी रहेको पेन्ट्स उद्योगमा एशियन पेन्ट उद्योगले मात्रै गत वर्ष ७ अर्ब ३० करोड ३० लाखको कारोबार गरेको छ । कम्पनीअनुसार सन् २०२० मा कोरोना महामारीका कारण घटेको कारोबार सन् २०२१ मा उच्च कारोबार गरेको छ । कम्पनीले वार्षिक १ लाख मेट्रिक टन पेन्टस् उत्पादन गर्न सक्ने क्षमता रहेको छ । कम्पनीले विभिन्न ४४ वटा ब्रान्डमा पेन्ट्स बिक्री वितरण गर्दै आएको जनाएको छ ।

त्यसैगरी, एलजी ब्रान्डका इलेक्ट्रिक घरायसी सामग्रीको आधिकारिक बिक्रेता सीजी इम्पेक्स प्रालिले गत वर्ष ६ अर्ब ४४ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । विभिन्न देशबाट एलजी ब्रान्डको वस्तु आयात गरी बिक्री वितरण गर्दै आएको यस कम्पनीमा ८५ प्रतिशत निर्भाना चौधरीको शेयर रहेको छ भने १५ प्रतिशत भरुण चौधरीको रहेको छ ।

त्यस्तै, प्रिमियर स्टिलले पनि सन् २०२१ मा ६ अर्ब १८ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ । वार्षिक २ लाख ४० हजार मेट्रिक टन डण्डी उत्पादन गर्ने क्षमता रहेको छ । शारदा र राठी ग्रुपको संयुक्त लगानी रहेको यस कम्पनीले ५०० र फी ५००डी टीएमटी बार उत्पादन गर्दै आएको छ ।

केयल ग्रुप अन्तर्गतको नारायणी स्पिट प्रालिले सन् २०२१ मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँको कारोबार गरेको जनाएको छ । २ लाख १६ हजार टीएमटी डण्डी उत्पादन गर्ने क्षमता रहेको कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ३ अर्ब८१ करोड १५ लाख रुपैयाँको कारोबार गर्ने जनाएको छ ।

बाबा वनस्पति तेल उद्योगले गत वर्ष ५ अर्ब ५१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । भटमासको तेल, पाम तेल, सनफ्लावर तेल गरी ४५ हजार मेट्रिक टन उत्पादन क्षमता रहेको यस कम्पनीले ‘सिद्ध बाबा’ ब्रान्डमा वस्तु बिक्री वितरण गर्दै आएको छ ।

नेपालका लागि साओमीको आधिकारिक बिक्रेता भाटसल इम्पेक्स प्रालिले सन् २०२१ मा ५ अर्ब ४४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । इज्भीज वस्तु, टीकवाच र फीटबीट ब्रान्डका वस्तु बिक्री गर्दै आएको छ । देशभर १६ डिलर र ९० ख्द्रा व्यवसाय रहेको यस कम्पनी शारदा ग्रुपको रहेको छ ।

साथै, भिजयश्री स्टिल प्रालिले सन् २०२१ मा ५ अर्ब ३४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको छ । टीएमटी बार अर्थात डण्डी उत्पादन गर्दै आएको कम्पनीले भारतबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा उत्पादन गर्दै आएको छ । जसमा कम्पनीको दैनिक क्षमता ७०० टीएमटी बार उत्पादनको क्षमता छ ।


अरिष्मा मोक्तान