सयौं उद्यमी आमाहरुको नेतृत्व गरिरहेकी निरु, कतिलाई घरबाटै नर्भस बनाइन्छ



काठमाडौं । केही दिनअघि महिला उद्यमी महासंघ नेपाल (एफवीन) अध्यक्ष निरु रायमाझी खत्री जनकपुरको एक तालिममा पुगेकी थिइन् । कोरोना महामारीपछि कलाकारहरको व्यवसायमा प्रभाव पारेपछि उनीहरुको सहयोग होस् भने एफवीनले ‘विजनेस लिट्रेसी ट्रेनिङ फर मिथिला आर्टिष्ट’ तालिम आयोजना गरेको थियो ।

तालिममा सहभागी अधिकांश महिलाहरु काखमा बच्चाहरु थिए । केहीले महिलाले तालिम भइरहेको कोठाको कुनामा बच्चालाई सुताए । कसैले सोफामा पल्टाइदिए ।

आफ्नै दैनिक काम गर्दै बच्चाको रेखदेखमा थिए उनीहरु ।

यो निरुले देखेको पछिल्लो एक दृष्य हो । झन्डै दुई दशकदेखि यस संस्थामा आवद्ध भएर मुलुकका विभिन्न ठाउँमा पुग्दै गर्दा मुलुकभर यस्ता सयौं आमाहरु देखेकी छिन्, जसले घर परिवार, छोराछोरी सम्हालेर उद्योग व्यवसाय गरिरहेका छन् ।

बच्चाहरु बोकेर गाउँगाउँबाट काठमाडौंका प्रदर्शनीमा आउने आमाहरु धेरै छन् ।

नीरु आफै पनि दुई बच्चा कि आमा हुन् । उनले आफ्नो बच्चाहरु र व्यवसायलाई सँगसँगै हुर्काइन । छोरीको नियन्ता २६ वर्षकी भइसकेकी छिन् । उनी अमेरिकामा पढ्दै छिन् । छोरा तपस २४ वर्षका भए । मास्टर पढ्ने तयारी गर्दै छन् ।

निरुले व्यवसाय शुरु गर्दैगर्दा नियन्ता र तपस जन्मिए । आफ्नो काम छोड्ने कुरा पनि भएन । परिवारबाट राम्रो सहयोग थियो । तर, पनि आमा भएपछि अझ धेरै जिम्मेवारी हुनेनै भयो ।

आमाको लागि स्वतन्त्र भएर आफ्नो काम गर्छु भन्ने समय हुँदैन । समय छोपेर काम गर्नुपर्छ । बच्चाहरु सुतेको बेलामा । रातीको समयमा आमाको लागि समय हुन्छ । त्यसलाई उपभोग गर्नुपर्ने उनको अनुभव छ ।

‘बच्चा सँगसँगै काम गर्नु धेरै टफ छ,’ निरु भन्छिन्, ‘त्यसलाई व्यवस्थापन गर्ने हो भने सहज पनि छ ।’
आफ्नै व्यवसाय गर्ने महिलाले पूर्णसमय बच्चालाई दिन सक्दैनन् । क्वालिटी टाइम दिने र अरु समयका काम गर्नुपर्छ ।

आफूलाई सहज हुन्छ भने काम र बच्चालाई दिने समय सँगसँगै लैजान पनि सकिन्छ । उनी आफैं पनि अफिसमा काम गरिरहेको बेला छेवैमा बच्चा राखेर काम गरिन् ।

मिल्छ भने बच्चालाई नै लगेर आफ्नो काम गर्न सकिन्छ ।

‘मैले बच्चाको समय र आफ्नो समयलाई इन्क्लुसिभ बनाएर काम गरेँ,’ उनी भन्छिन् ।

बच्चा हुर्किदै गर्दा व्यवसाय कसरी चलेको छ ? समय व्यवस्थापन कसरी भएको छ भनेर भन्ने प्रश्न जहिले पनि आमामाथि आउँछ । बाबुलाई सोधिदैन ।

यो सोच नै गलत भएको निरुको भनाइ छ ।

‘महिलाले मात्र समय मिलाउनु पर्छ भन्ने हाम्रो सोच छ,’ उनी भन्छिन्, ‘पुरुषलाई समय व्यवस्थापन जसरी गर्नुपर्छ, महिलाको लागि पनि त्यसरी नै गर्ने हो ।’

सहज वातावरण बनाउन सबैभन्दा ठूलो भूमिका परिवारको हुन्छ । जुन महिलालाई उसको श्रीमानले सहयोग गर्छ र काममा प्रोत्साहन गरेको हुन्छ । ती आमाको लागि समय व्यवस्थापन गर्न सजिलो हुन्छ । ती आमाले व्यवसाय गर्न सहज हुन्छ ।

‘श्रीमानले बच्चा सम्हालन सहयोग पाएका महिलाले धेरै राम्रो व्यवसाय गरिरहेका छन्,’ निरु भन्छिन्, ‘त्यस्तो सहयोग नपाउने महिलाले पनि व्यवसाय त गरेका छन् तर धेरै गाह्रो र चुनौतिपूर्ण हुन्छ ।’ जसले समयलाई ‘इन्क्लुसिभ’ बनाएर अगाडि बढेका छन्, उनीहरु सफल भएका छन् । ‘इन्क्लुसिभ’को अर्थ बच्चा हेर्ने र व्यवसायलाई मिलाएर सँगै अगाडि बढाउनु हो ।

श्रीमानको पूर्ण र विश्वास नपाएका महिलाहरु व्यवसायमा नर्भस पनि हुन्छन् । नीरुले देखेकी छन्, ‘कति महिलाहरु बेलुका अलि अबेर हुँदा नर्भस हुँदै जान्छन् ।’

‘घरमा के भन्ने होला,’ भन्ने चिन्ता उनीहरुलाई बढ्दै जान्छ । श्रीमान र परिवारलाई राती किन भयो भनेर स्पष्टिकरण दिनुपर्ने बोझ उनीहरुले लिन्छनु । आफ्नो कुनै गल्ती नहुँदा पनि गिल्टी अनुभव गर्छन् । मनोवैज्ञानिकरुपमा दवावमा हुन्छन् ।

‘यसले उनीहरुको प्रोडक्टिभिटी घट्छ,’ निरु भन्छिन्, ‘उनीहरु स्वतन्त्र भएर काम गर्न सक्दैनन् ।’

त्यसैले महिलाहरुलाई घरबाट जतिसक्दो सहयोग र सहज वातावरण बनाउनु पर्ने उनको भनाइ छ ।

निरु अध्यक्ष भएको एफवीन सातै प्रदेशका ५७ जिल्लामा शाखा विस्तार गरेको छ । ती जिल्लाहरुमा झन्डै ४ हजार उद्यमी महिलाहरु छन् भने काठमाडौं उपत्यकामा १५० महिला यसको सदस्य छन् ।

यी महिलाहरु प्रायः घरलु, लघु, साना तथा मध्यम व्यवसाय गरिरहेका छन् । हेन्डिक्राफ्ट, कृषिमा आधारित फुड प्रोडक्ट, होमस्टे, दुग्ध उत्पादनमा उनीहरु लागिरहेका छन् ।

यी महिलाहरुमध्ये धेरैमा यस्तै अनुभव छन् । उनीहरुको लागि समय व्यवस्थापन त्यत्ति सहज छैन ।

आमा बनेका महिलामात्र होइन, कलेज सकेका युवतीहरु पनि व्यवसाय र स्टार्टअपमा आउने क्रम बढेको छ । जुनबेला निरु व्यवसायमा हात हाल्दै थिइन, त्योबेला विवाह भएका वा बच्चा हुर्काएका महिलाहरु खाली समय भयो भनेर ससानो व्यवसायमा आउँथे ।

‘अहिले यो सोच परिवर्तन भएको छ,’ निरु भन्छिन्, ‘ग्राजुयट गरेको योङहरु व्यवसायमा धेरै आइरहेका छन् ।’

अर्को ट्रेन्ड भनेको पारिवारिक व्यवसाय नभएका महिलाहरु पनि व्यवसायमा आउन थालेका छन् । पहिला बुबाआमा, श्रीमानको व्यवसाय भएकाहरु त्यसलाई सम्हाल्दै व्यवसायमा आउँथे ।

परिवारमा व्यवसाय नै नगर्ने महिलाहरु पनि व्यवसाय गर्नुपर्छ भनेर हामफालिरहका छन् । उनीहरु सफल पनि भइरहेका छन् ।

यसले महिलाको आर्थिक र सामाजिक प्रष्तिष्ठा बढाएको छ । महिलाहरुलाई समाजले हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ ।

‘व्यवसाय गर्ने महिलाहरु आर्थिकरुपमा सवल हुन्छन् । आर्थिक रुपमा सवल महिलालाई समाजमा इज्जत र प्रतिष्ठा बढ्छ,’ निरु भन्छिन्, ‘आफ्नो पहिचान आफैं बन्दोरहेछ । परिवारबाट सम्मान हुनेरहेछ ।’

नीरुले देखेको अर्को पक्ष के पनि छ भने जुन महिला उद्यम, व्यवसायमा गरेर आर्थ आर्जन गरिरहेका हुन्छन् उनीहरुलाई घरेलु हिंसाका कुराहरु हुँदैनन् । भए पनि एकदमै कम छ ।

व्यवसायमा लागेका महिलाहरु राजनीतिमा पनि गएका छन् । नजिकिदै गरेको स्थानीय निर्वाचनमा जिल्ला जिल्लाका कपितय महिला व्यवसायीहरुले जनप्रतिनिधिको लागि उम्मेदवार दिएका छन् ।

‘व्यवसाय भनेको महिलाको लागि आर्थ आर्जनमात्र नभएर मानप्रतिष्ठासँग पनि जोडिएर आउँदो रहेछ,’ निरुले लामो व्यवसायीक अनुभवले सिकाएको पठा हो ।

एक्लैभन्दा संस्थाबाट काम गर्न सहज

सेन्ट मेरिच स्कुलबाट ए लेभल सकेपछि उनको चाहना थियो, इन्टेरियर डिजाइनर बन्ने । नेपालमा इन्टेरियर डिजाइनर पढाउने स्कुलहरु थिएनन् ।

उनले भारतमा गएर भए पनि यो विषय पढ्न चाहन्थिन् । काठमाडौं जन्मेहुर्केकी निरुलाई बुबाआमाले छोरीलाई एक्लै भारत पठाउन ‘ओके’ भन्न सकेनन् ।

‘कुनै कुरामा प्यासन भएपछि कसैले रोक्न सक्दोरहेनछ,’ उनी भन्छिन्, ‘बुबाआमालाई जसोतसो कन्भिस गरेँ ।’

सन् १९८३ मा मुम्बइस्थित जेजे स्कुल अफ आर्टस्मा पढ्न गइन् । यो प्रसिद्ध आर्टस् स्कुल थियो । चर्चित व्यक्तिहरु यही पढ्न आउँथे । ३ वर्षको ग्राजुयट गकेपछि उनलाई काम गर्ने अफर थियो । तर, नेपालमै इन्टेरियर डिजाइन शुरु गर्नुपर्छ भनेर काठमाडौं फर्किन ।

बालाजु कास्ट कार्यालय भन्ने यही सम्बन्धी काम गर्ने संस्था थियो ।

‘नेपाल आएपछि यसैमा बालाजु कास्ट कार्यालयमा इन्टेरियर डिजाइनरको रुपमा काम गर्न थालें,’ उनी भन्छिन् ।

अफिस राम्रै थियो । जर्मनबाट प्राविधि विज्ञहरु पनि आउँथे । शुरुमा आर्किटेक्टर अफिसमा ५÷६ वर्ष काम गरिन् ।

काम गर्ने क्रममा विवाह भयो । दुई बच्चाहरु जम्मिए । बच्चा जम्मिएपछि काम गर्ने ‘फ्लेक्जिविलिटी’ पहिलाजस्तो नहुँदो रहेछ । ९ देखि ६ बजेसम्म कार्यलय समय भयो । त्यसबाहेक पनि काम अनुसार समय दिनु पर्ने । असजिलो भइरहेको थियो ।

आफ्नो कामको रिजल्ट ग्राहकलाई कन्भिस गरेपछिमात्र हुन्थ्यो । आफ्नो क्रियटिभिटी लगाएर ग्राहकलाई कन्भिन्स गर्थिन् । तर, आफ्नै निर्णय लिन सक्दिनथिन । त्यो कुरा उनलाई चित्त बुझिरहेको थिएन ।

मानौं उनले एक राम्रो डिजाइन बनाइन् । ग्राहकले पनि धेरै मन पराए । तर, त्यसलाई ओके गर्न आफ्नो हाकिम भन्नु पर्ने । हाकिमबाट यस्तो भएन र उस्तो भएन भनेर हस्तक्षप गरेको उनलाई मन परेन ।

‘इन्टेरियर डिजाइन भनेको कलाकाको क्रिएटिभिटी हो । उसले नयाँ डिजाइन सृजना गरेको हुन्छ,’ निरु भन्छिन्, ‘ग्राहकले त्यो डिजाइन मन पराउँदा पनि हाकिमबाट यस्तो भएन उस्तो भएन भन्ने भयो ।’

झन्डै ६ वर्षपछि जागिर छोडिन् । त्यसपछि उनले फ्रिल्यान्सरको रुपमा काम गर्न थालिन् ।

स्वतन्त्ररुपमा काम गर्न पाउँदा अझ धेरै रमाइन् । आफूले भने जस्तो क्रियटिभिटी आयो ।

फिल्डमा गएर काम गर्नु चुनौति पनि थियो । डिजाइन बनाएपछि त्यसलाई प्राक्टिकलरुपमा देखाउन धेरै गाह्रो हुन्थ्यो । इन्टेरियरमा धेरै टिम वर्क हुन्छ । त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुन्थ्यो यो च्यालेन्जिङ र रमाइलो दुवै अनुभव उनलाई भयो ।

र, केही समयपछि आफ्नै कम्पनी खोलिन–इन्टेरियर डिजाइनर सर्भिस (आइडीएस) ।

ठूलो लगानी गरेर कम्पनी खोल्न आँट थिएन । नेपालमा इन्टेरियर डिजाइनको व्यवसाय कस्तो हुन्छ भन्ने पनि एकिन भइसकेको थिएन । भर्खर शुरु हुँदै थियो ।

मान्छेहरु इन्टेरियर डिजाइनको बारेमा सुनेका पनि थिएन । इन्टेरियर डिजाइन भनेको कोठा सजाउने र फोटोहरु राख्ने भन्ने सोच थियो । त्यो अवस्थामा लगानी गरेर काम गर्नु जोखिम पनि थियो ।

जागिर गर्दै गर्दा म्यानेजमेन्ट, योजना, ग्राहकसँग कसरी डिल गर्ने, कसरी मार्केटिङ गर्ने भन्ने अनुभव लिइसकेकी थिइन् । यो अनुभवले आफ्नो व्यवसाय गर्न सहज बनायो ।

उनले आफ्नो कम्पनी खोलेर इन्टेरियर डिजाइनको काम गरिरहेको गरेकोे १५ वर्ष भइसकेको छ । यसअवधिमा इन्टेरियर डिजाइनको व्यवसायमा धेरै परिवर्तन आइसकेको छ । मान्छेहरुको रुची पनि बढेको छ ।

अर्को कुरा, इन्टेरियर डिजाइनमा अहिले धेरै सजिलो पनि भएको छ । पहिला आफै आर्ट बनाएर कलर भरेर गर्नुपथ्र्यो भने अहिले मोबाइलमै अनेकन एप छन् । जहाँबाट ग्राहकलाई विभिन्न डिजाइन बनाएर देखाउन पनि सकिन्छ ।

कोरोना महामारीले पनि डिजिटल प्रविधिको प्रयोग अझ धेरै बढाएको छ । काठमाडौंमा इन्टेरियर डिजाइन सिकाउने स्कुलहरु पनि धेरै स्थापना भइसकेका छन् ।

इन्टेरियर डिजाइनमा नयाँ-नयाँ आइडिया थप्दै गएकी थिइन् ।

‘पहिला डिजाइनमात्र हुन्थ्यो भने अहिले विविधता थपेर अन्य प्रोडक्ट डिभलेपमेन्ट गरिरहेकी छु,’ उनी भन्छिन्, ‘डिजाइनलाई नेपालीपन, स्थानीय अनुभव दिन स्थानीय उत्पादन प्रयोग गरिरहेकी छु ।’

उनले झम्सिखेलमा सानो इन्टेरियर डिजाइनको व्यवसाय गरिरहँदा लिलितपुरमा रहेका ६÷७ जना महिला व्यवसायीहरु मिलेर ‘विमेन आन्टरप्रेनर एशसोशियसन’ भन्ने संस्था खोलेका थिए । उनीहरु व्यवसाय गरिरहेका धेरैभन्दा धेरै महिलाहरुलाई संस्थामा आवद्ध गर्न चाहन्थे । ठूलो संस्था बनाउन सदस्य दिइरहेको नीरुले पनि थाहा पाइन् ।

उनी पनि त्यस संस्थाको सदस्य बनिन् । एक्लै व्यवसाय गरिरहेकी नीरुलाई संस्थामा आवद्ध भएपछि धेरै फरक पर्ने रहेछ भन्ने अनुभव भयो ।

एक्लै काम गर्दा कुनै पनि समस्या आउँदा एक्लै भिड्नुपथ्र्यो । संस्थामा आवद्ध भएपछि कानुनी प्रकृया, मार्केटिङ, स्रोत साधनमा परेका समस्याहरु समाधान गर्न सजिलो हुँदो रहेछ ।

‘संस्थामा अरुका कुरा सुन्दा सबैलाई मेरो जस्तै समस्या पर्दो रहेछ भन्ने हुँदोरहेछ,’ उनी भन्छिन्, ‘संस्थामा जोडिएपछि समस्याहरु साझा हुँदा रहेछन् । सबै मिलेर समाधान गर्न सकिने ।’

संस्थाबाट राम्रो मेन्टिरसिप पनि उनले पाइन । चाहिएको कुरा लिन सकिने । आउट सोर्सिङ गर्न सकिने । सिक्न र सिकाउन पाइने अवसर त्यहाँ भयो ।

संस्था ठूलो हुँदै गयो । उपत्यका बाहिरका जिल्लामा पनि यसको संस्था बन्न थाले । महिला व्यवसायीहरुको एक छाता संगठन बनाउनु पर्छ भनेर सन् २००३ मा विमेन आन्टरप्रेनर एशसोशियसनलाई नेपाल महिला उद्यमी महासंघ (एफविन) भनेर गठन गरियो ।

यही संस्थाको संस्थापक सदस्य थिइन निरु । आज यो संस्थाले सातै प्रदेशका सयौं महिलाहरुलाई व्यवसाय, उद्यमी बन्न सहयोग गरिरहेको छ । सयौं आमाहरु यही संस्थामार्फत धेरै सहयोग पनि पाइरहेका छन् ।


सन्तोष न्यौपाने