डिजिटल करेन्सी जारी नभए नेपाली मुद्राको भविष्य संकटमा



नेपालको छिमेकी मुलुक भारत र चीनले डिजिटल मुद्रा जारी गर्ने तयारी गरेको अवस्थामा नेपालले ढिलाइ गरे नेपाली मुद्राको भविष्य संकटमा पर्ने जोखिम छ ।

काठमाडौं । २०१३ साल वैशाख १४ गते नेपाल राष्ट्र बैंक स्थापना हुनुअघि तराईका भन्सार र मालपोत कार्यालयमा समेत नेपाली मुद्रा प्रचलनमा थिएन ।

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणाले तराई र काठमाडौं उपत्यकामा सटही काउन्टर सञ्चालनमा ल्याउनुका साथै काठमाडौं इन्द्रचोक र मख्खन चोकमा घटबढ भइरहने भारुको सटही दरलाई स्थिर गर्दै मुलुकभर नेपाली मुद्रा प्रचलनमा ल्याए ।

गभर्नरका रुपमा राणाले ठूलो नोटको आकारलाई सानो बनाउनुका साथ नेपालभित्र नेपाली मुद्रामै कारोबार हुने वातावरण बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

तर पछिल्लो समय संसारभर विकसित भइरहेको विद्युतीय भुक्तानी र डिजिटल करेन्सीको व्यापकताबाट भने अचम्मित छन् ।

‘मेरो बुबाको तलब आउँदा ५ सय र १ हजार रुपैयाँको थैली आउँथ्यो, पछि चेकबाट आउन थाल्यो तर अहिले अनलाइनबाटै कारोबार हुन थालेको छ । अब भर्चुअल करेन्सी पनि पक्कै आउँछ । र, यसका लागि केन्द्रीय बैंकले अध्ययन गर्नुपर्छ,’ उनले भने ।

पछिल्लो समय विकास भइरहेको प्रविधि आत्मसात गर्न नसके निकै दुःख गरी सञ्चालनमा ल्याएको नेपाली मुद्रा संकटमा पर्न सक्ने उनको भनाइ छ ।

भारत र चीनले डिजिटल मुद्रा जारी गर्ने गरी काम गरिरहेको अवस्थामा नेपालले पनि डिजिटल मुद्राका विषयमा व्यापक अध्ययन गर्नुपर्ने राणा बताउँछन् ।

‘प्रविधिको विकासलाई हामीले रोक्न सक्दैनौं,’ राणाले भने, ‘हामी समयानुकुल परिवर्तन हुन सकेनौं भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ । त्यसैले नेपाली मुद्राको अस्तित्व जोगाउनका लागि पनि डिजिटल करेन्सी जारी गर्ने विषयमा सोच्नु पर्छ ।’

अर्थशास्त्री विश्वम्भर प्याकुरेल डिजिटल करेन्सीलाई प्रविधिको नयाँ विकास मान्छन् ।

‘संसारका धेरै व्यक्तिले डिजिटल करेन्सीमा विश्वास गर्दै लगानी गरिरहेका छन्,’ प्याकुरेलले भने, ‘प्रविधिको बिस्तारलाई रोक्न सक्ने अवस्थामा छैनौं । त्यसैले हामी डिजिटल करेन्सी लागू गर्नेतर्फ जानुपर्छ ।’

अलमलमा केन्द्रीय बैंक
चालु आर्थिक वर्षको मौद्रिक नीतिमा विश्वमा विद्युतीय मुद्राको प्रयोग तथा सम्भाव्यता अध्ययन भइरहेको सन्दर्भमा नेपालमा समेत विद्युतीय मुद्राको सम्भाव्यता अध्ययन गरिने उल्लेख थियो ।

हालसम्म राष्ट्र बैंकले डिजिटल करेन्सीका विषयमा गरेको अध्ययन सार्वजनिक गरेको छैन । तर, नेपाल राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा डेपुटी गभर्नर बमबहादुर मिश्रले केन्द्रीय बैंकले डिजिटल करेन्सी जारी गर्ने बताए ।

‘प्रविधिको विकासलाई चाहेर पनि हामी रोक्न सक्दैनौं,’ डेपुटी गभर्नर मिश्रले भने, ‘त्यसैले नेपालमा पनि डिजिटल मुद्रा जारी गर्ने निष्कर्षमा राष्ट्र बैंक पुगेको छ । हामीले आवश्यक तयारी शुरु गरिसकेका छौं ।’

नेपालले तत्कालै विद्युतीय मुद्रा जारी गर्ने विषयमा उचित निर्णय गर्न नसके नेपालको मुद्रा प्रचलनबाटै हराउन सक्ने दुरसञ्चार इञ्जिनियर केशव ज्ञवालीको चेतावनी छ ।

‘छिमेकी देशले डिजिटल करेन्सीका विषयमा गरेको तयारी नेपालको केन्द्रीय बैंकले हेर्नुपर्छ,’ ज्ञवालीले भने, ‘व्यक्तीले सहजता हेर्छ । विद्युतीय मुद्रामा सहजता हुँदा मानिसहरु त्यता जान सक्छन् । जसले गर्दा नेपाली मुद्राको प्रयोग घट्न सक्छ ।’

तत्कालै नेपाली मुद्रा प्रचलनबाट नहराए पनि भारत र चीनमा डिजिटल करेन्सीको प्रयोग बढ्दै जाँदा नेपाली मुद्रा संकटमा पर्न सक्ने ज्ञवालीको भनाइ छ ।

‘भारत र चीनले जारी गरेको विद्युतीय मुद्राको प्रयोग नेपाली बजारमा शुरु भयो भने भौतिक नोट राख्नेको संख्या घट्न सक्छ,’ ज्ञवाली भन्छन्, ‘त्यसैले नेपाली मुद्राको अस्तित्व जोगाउन पनि केन्द्रीय बैंक गम्भीर हुनुपर्ने अवस्था छ ।’

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा डिजिटल मुद्रा बढ्दै जाने बताउँछन् ।

‘विश्व ई-टिकेटिङमा गयो, ई-पासपोर्टमा गयो,’ थापाले भने, ‘त्यसैले ई-करेन्सीमा पनि जान्छ । नेपालले पनि अन्य मुलुकले के गरिरहेका छन् भन्ने निकै नजिकबाट हेरर नीति बनाउनु पर्छ ।’

कठिन प्रविधि
गत माघ १० गते राजस्व अनुसन्धान विभागले कैलालीका दिनेश खड्काविरुद्ध क्रिप्टोकरेन्सी कारोबार गर्दै विदेशी मुद्रा अपचलन गरेको आरोप लगाउदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि नेपालमा डिजिटल करेन्सीको विषयमा सार्वजनिक चासो बढेको हो ।

हुन न राष्ट्र बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ को दफा १२ अनुसार २०७४ साउन २९ गते नै सार्वजनिक सूचना प्रकाशित गर्दै बिटक्वाइनमा लगानी नगर्न नेपाली नागरिकलाई सचेत गराएको थियो ।

२०७४ सालको सार्वजिनिक सूचनामा राष्ट्र बैंकले बिटक्वाइनमा मात्रै लगानी गर्न प्रतिबन्ध लगाएको थियो । जबकी इथेरम, लिथक्याइन, कार्डानो, बिटक्वाइन क्यासलगायतका कैयौं क्रिप्टोकरेन्सी प्रचलनमा छन् ।

यस्ता क्रिप्टोकरेन्सीको कारोबार गर्न बाइसान्स र इस्क्रिललगायतका कैयौं एक्सचेञ्ज कम्पनीबाट हुने गर्छ । राष्ट्र बैंकले २०७५ चैत २६ गते प्रकाशित गरेको सूचनामा मात्रै बिटक्वाइन क्रिप्टोकरेन्सीको एउटा प्रकार भएको र संसारमा कैयौं क्रिप्टोकरेन्सी प्रचलनमा रहेको तथ्य स्वीकार गरेको थियो ।

भारतले चालु आर्थिक वर्षको बजेटमा क्रिप्टोकरेन्सीलाई डिजिटल भ्यालु एसेट्ट मान्दै ३० प्रतिशतसम्म कर लिने नीति लिएको छ । केही व्यक्तिहरु भारत सरकारको कर लिने नीतिलाई भारतमा क्रिप्टोकरेन्सीलाई कानूनी मान्यता दिएको अर्थ लगाउने गर्छन् ।

संस्थागत आय कर २५ प्रतिशत लिने भारतमा डिजिटल सम्पत्तिको कारोबारमा ३० प्रतिशत आयकरका साथै १ प्रतिशत कारोबार शुल्क लगाएर भारत सरकारले क्रिप्टो कारोबार निरुत्साहित गर्न खोजेको देखिन्छ ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वित्तमन्त्री निर्मला सितारमणले भारतले आफ्नै डिजिटल मुद्रा जारी गर्ने घोषणा गरेकी थिइन् ।

डिजिटल मुद्रा र क्रिप्टोकरेन्सी एउटै हो त ?
दुरसञ्चार इञ्जिनियर ज्ञवालीका अनुसार अभौतिक दुनियामा जारी हुने विद्युतीय सम्पत्ति ह्यास अल्गोरिदम सिद्दान्त प्रयोग गर्दै क्रिप्टोग्राफी विधि प्रयोग गर्दै जारी हुने बताउँछन् ।

‘निजी क्षेत्रबाट जारी भएका जुन क्रिप्टो छन्, ती सबै क्रिप्टोग्राफी विधि प्रयोग गर्दै जारी भएका हुन्,’ ज्ञवाली भन्छन्, ‘क्रिप्टोग्राफीबाट युनिक नम्बर जेनेरेट हुन्छ । जुन नक्कल गर्न सकिदैन् । ’

बल्कचेन प्रविधिमा आधारित क्रिप्टोग्राफी प्रविधि प्रयोग गर्दै बजारमा विभिन्न किसिममा क्रिप्टो जारी भएका छन् । पछिल्लो समय विभिन्न देशका नागरिकको रुचि क्रिप्टो खरिदमा देखिएपछि भौतिक मुद्राको भविष्यका विषयमा प्रश्न उठ्दै आएको छ ।

क्रिप्टोको मूल्यमा छोटो समयमा ठूलो उतारचढाव देखिने हुँदा धेरै व्यक्तिले क्रिप्टो विश्वासिलो मुद्रा मानेका छैनन् । इञ्जिनियर ज्ञवाली एल साल्भाडोर जस्तो सानो देशले मात्रै क्रिप्टोलाई कानूनी मान्यता दिनुको साथैं बजारमा क्रिप्टोको आपूर्ति निकै कम भएकाले मूल्यमा ठूलो उतारचढाव देखिएको बताउँछन् ।

कुनै निजी संस्थाले जारी गरेको क्रिप्टो र केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी एउटै हो त ?

केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी जारी गर्नुको अर्थ हुन्छ, अभौतिक दुनियाँमा निश्चित सिरियल नम्बर जारी गर्नु ।

जसरी केन्द्रीय बैंकले कागजको मुद्रामा पनि युनिक नम्बर जारी गरेको हुन्छ, त्यसैगरी डिजिटल मुद्रामा पनि युनिक नम्बर जारी हुने इञ्जिनियर ज्ञवालीको भनाइ छ ।

‘डिजिटल माध्यममा युनिक नम्बर जारी गर्ने सबैभन्दा भरपर्दाे सिद्दान्त ह्यास अल्गोरिदम हो,’ ज्ञवाली भन्छन्, ‘डिजिटल हस्ताक्षर पनि ह्यास अल्गोरिदम प्रयोग गरेर जारी भएको हो । क्रिप्टो करेन्सीमा पनि ह्यास अल्गोरिदम प्रयोग भएको थियो । केन्द्रीय बैंकले जारी गर्ने डिजिटल करेन्सी पनिमा पनि ह्यास अल्गोरिदम प्रयोग हुन सक्छ ।’

क्रिप्टोकरेन्सी र डिजिटल करेन्सी एउटै होइन । डिजिटल करेन्सी केन्द्रीय बैंकले जारी गर्छ । जसको मूल्य स्थिर हुने गर्छ । तर, क्रिप्टोकरेन्सीको मूल्य स्थिर हुँदैन ।

केन्द्रीय बैंकले डिजिटल करेन्सी जारी नगर्दा सबै देशको मुद्राको अस्तित्व समाप्त हुने देखिएपछि विभिन्न देशले डिजिटल करेन्सीका जारी गर्ने विषयमा अनुसन्धान शुरु गरेका छन् ।

अनियन्त्रित क्रिप्टोकरेन्सीको बढ्दो प्रभाव कम गर्न पनि डिजिटल करेन्सी जारी गर्न आवश्यक रहेको विज्ञको भनाइ छ ।

हाल एक हजार रुपैयाँको नोट छपाइ गर्न तीन रुपैयाँ खर्च लाग्ने नेपाल राष्ट्र बैंकको भनाइ छ । तर, डिजिटल मुद्रामा एउटा युनिक नम्बर निकाल्न निकै धेरै लागत लाग्ने विभिन्न अध्ययनले देखाएको छ ।

संसारका कुनै पनि देशका केन्द्रीय बैंकले डिजिटल मुद्राको व्यवसायी प्रयोग शुरु नगरेकाले डिजिटल करेन्सीको कस्तो हुने भन्ने यकिन हुन सकेको छैन ।


शरद ओझा