आइतबारदेखि निर्माण होलिडे मनाउने व्यवसायीको निर्णय, निर्माणको काम रोकियो



काठमाडौं । आइतबारदेखि निर्माणको कार्य ठप्प हुने भएको छ ।

बजारमा निर्माण सामग्रीमा अत्यधिक मूल्यवृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि निर्माण होलिडे घोषणा गरेको हो ।

महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको मूल्य ३ गुणासम्म बढेकाले काम गर्न नसकेको बताए । उनका अनुसार अहिले बजारमा अधिकांश निर्माण सामग्रीको मूल्य बढेको अवस्थामा निर्माण कार्यलाई अगाडि बढाउन सक्दैनौं ।

‘सरकारले निर्माण सामग्रीको मूल्य बढेको आधारमा समायोजन गर्नुपर्छ,’ सिंहले भने, ‘सार्वजनिक खरिद नियमावलीसमेत मूल्यवृद्धि भएको आधारमा मूल्य समायोजना गर्न सक्ने व्यवस्था गरेको छ । सोहीअनुसार मूल्य समायोजन गर्नुपर्छ । पुरानो मूल्यमा हामी काम गर्न सक्ने अवस्थामा छैनौं ।’

त्यसैगरी, महासंघले आज सार्वजनिक खरिद अनुगमन कार्यालय र बीमा समितिको कार्यालयमा शान्तिपूर्ण आन्दोलन गरेको छ । उक्त आन्दोलन व्यवसायीहरूले शुक्रबार पनि गर्ने भएको छ ।

व्यवसायीहरूले विगत लामो समयदेखि निर्माण होलिडे मनाउने तयारी गरेको थियो । तर, सरकारले व्यवसायीलाई आश्वासन मात्रै दिए । तर, सम्बोधन भएन । त्यसैले, आइतबारदेखि निर्माण होलिडे मनाएर सरकारलाई सहयोग गर्ने उनको भनाइ छ ।

निर्माण व्यवसायीले यसभन्दा अगाडि पनि सरकारले मूल्यवृद्धिलाई सम्बोधन नगरे निर्माण होलिडे मनाउने चेतावनी दिएको थियो । महासंघले गत चैत १४ गते राष्ट्रिय भेला गरेर कसरी अगाडि बढ्ने भन्नेबारे छलफल भएको थियो ।

उक्त छलफलले जिल्ला, प्रदेश र केन्द्रका मुख्य सरकारी निकायलाई भेटेर पत्र बुझाएको थियो । उक्त पत्रमा महासंघले चैत २३ गतेसम्मको समय दिएको थियो ।

चालु अवस्थामा देशभर ८ हजार आयोजना सञ्चालन अवस्थामा छन् । त्यसमध्ये २७ सय म्याद थप भएको आयोजना छन् । जसमा ५ खर्ब बराबरको आयोजना सञ्चालन अवस्थामा हुँदा मूल्यवृद्धिले निर्माण क्षेत्र प्रभावित भएको छ ।

कन्स्ट्रक्सनको मापदण्डअनुसार निर्माण व्यवसायीले १० प्रतिशतसम्म मूल्यवृद्धि हुँदा जोखिमभार लिने हो । तर, अहिलको अवस्थामा १३० देखि १३५ प्रतिशसम्म मूल्यवृद्धि हुँदा जोखिमभार लिन नसक्ने महासंघको भनाइ छ ।

विगतको दिनमा ९० रुपैयाँ डण्डीको मूल्य हुँदा ठेक्का गरेको आयोजनामा अहिले डण्डीको मूल्य १३० देखि १३५ रुपैयाँ पुगेको छ । त्यस्तै, पाता, आइरन ब्लेड, बिटुमेन, सिमेन्ट ग्याबिन तार र नदीजन्य सामग्रीको उच्च मूल्यवृद्धि भएकाले निर्माण क्षेत्र प्रभावित भएको छ ।

अहिले देशभर ५ खर्ब बराबरको ८ हजार आयोजना सञ्चालनको अवस्थामा छ । तत्कालको अवस्था हेर्ने हो भने उक्त आयोजनाको लागत ६० प्रतिशतसम्म वृद्धि हुने महासंघको भनाइ छ ।


क्लिकमान्डु