दुध उत्पादन घट्दै, वैशाखदेखि दैनिक ५ लाख लिटर अभाव हुने



काठमाडौं । बजारमा अहिले कच्चा दुधसँगै पाउडरको अभाव हुँदै गएको छ । गर्मी महिना शुरु भएसँगै कच्चा दुधको उत्पादन कम हुने र पाउडर दुधको बढी प्रयोग हुँदै आएकोमा अहिले बजारमा कच्चासँगै पाउडरको अभाव देखिन थालेको हो ।

असोजदेखि फागुनसम्ममा कच्चा दुधको पर्याप्त उत्पादन हुने गर्दछ । तर, फागुनपश्चात भने हरेक वर्ष दुध कम उत्पादन हुन्छ ।
जसमा उद्योगीहरूले असोजदेखि फागुनसम्ममा अत्यधिक उत्पादन भएको कच्चा दुध प्रशोधन गरेर पाउडर बनाउने गर्दछ ।

उक्त प्रशोधन गरी राखिएको पाउडर कच्चा दुधको अभावको भएको बेला आपूर्ति गर्न प्रयोग गर्ने गर्दछ ।

तर, यो वर्षको दुध उत्पादन हुने मौसममै पर्याप्त दुध उत्पादन नहुँदा अहिले बजारमा दुधको अभाव खड्किएको दुग्ध उद्योगीहरूले बताएका छन् ।

नेपालमा दैनिक कच्चा दुधको खपत ३१ लाख लिटर रहेको छ । अहिले भने बजारमा २८ लाखदेखि २९ लाख लिटर मात्रै संकलन हुन थालेको छ । जसले गर्दा अहिले बजारमा माग आपूर्ति गर्नका लागि उद्योगीहरूले पाउडर दुधको प्रयोग गर्दै आएका छन् ।

नेपाल डेरी एशोसियएसनका महासचिव प्रल्हाद दाहालले अहिले बजारमा कच्चा दुधको अभावले गर्दा पर्याप्त मात्रामा दुध उपलब्ध नभएको बताए ।

बजारमा अहिले दुधबाट बन्ने वस्तु आइसक्रिम, दहीजस्ता दुग्धजन्य वस्तुको अत्यधिक माग छ । जसले गर्दा बजारबाट संकलित दुध उक्त वस्तु बनाउन बढी प्रयोग भइरहेको छ । त्यसैले, उद्योगीहरूले कच्चा दुधको अभावसँगै पाउडरको प्रयोग गर्दै आएका छन् ।

बजारमा दुध अभावले गर्दा दुग्ध विकास संस्थान (डीडीसी)ले बेच्दै आएको बटर अभाव भइरहेको छ । साथै, अन्य वस्तुको पनि कम मात्रामा उत्पादन भइरहेको डीडीसीले जनाएको छ ।

डीडीसीका उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले अहिले बजारमा कच्चा दुधको अभाव भएको बताए । उनकाअनुसार असोजदेखि फागुनसम्ममा अत्यन्तै उत्पादन हुने र बढी भएको दुधलाई पाउडर र बटर बनाएर राख्थ्यौं ।

‘अघिल्ला वर्षहरूमा खपतभन्दा बढी दुध उत्पादन भइरहेको थियो । तर, यो वर्ष खपतमा मात्रै सीमित भएको छ,’ उनले भने, ‘अब वैशाखदेखि भदौसम्ममा दुध न्यून संकलन हुन्छ । यसले गर्दा आगामी दिनमा झनै अभाव देखिनेछ ।’

बजारमा अहिले डीडीसीसँग दैनिक १ लाख लिटरको हाराहारीमा मात्रै दुध संकलन भइरहेको जनाएको छ । सामान्य अवस्थामा १ लाख ७० हजार बढी दुध संकलन हुँदै आएकोमा अहिले १ लाख लिटर मात्रै दुध संकलन हुँदा पर्याप्त मात्रामा बटर, दही उत्पादन गर्न नसकेको बताए ।

डीडीसीले अहिले दुध अभावका कारण उत्पादन हुँदै आएको वस्तु पर्याप्त उत्पादन गर्न नसकेपछि निजी क्षेत्रलाई सूची दर्ताको सुचना प्रकाशन गरेको छ ।

‘डीडीसीले निजी क्षेत्र तथा कृषकसँग पाउडर दुध, बटर जे छ सो बेच्न सक्नेछ भनेर सूची दर्ताको सूचना प्रकाशन गरेको छ,’ उनले भने ।

सबैभन्दा पहिला नेपालकै किसान तथा व्यवसायीले बिक्री गर्छ भने खरिद गर्ने भनेर पहिलो प्राथमिकतामा राखेको छ । तर, देशभित्रको उत्पादनले धान्न नसकेको अवस्थामा अन्य देशबाटै आयात गर्नुपर्ने बाध्यता आउन सक्ने उनले जिकिर गरे ।

त्यसैगरी, डीडीसीले विभिन्न जिल्लामा गएर दुध संकलन गर्न थालेको छ । अहिले डीडीसीले डडेलधुरा, डोटी, कञ्चनपुर, कैलाली र मध्यपहाडी क्षेत्रहरूमा दुध संकलन शुरु गरेको छ । जसमा डीडीसीले आवश्यक दुध आपूर्तिका लागि विभिन्न जिल्लामा गएर सञ्जाल बिस्तार गरी संकलन गरिरहेको उनले बताए ।

वैशाखदेखि दैनिक ५ लाख दुध अभाव हुने
अहिले बजारमा दैनिक साढे २ लाखको हाराहारीमा कच्चा दुधको अभाव भएको उद्योगीहरूले बताउँदै आएका छन् । तर, चैत महिनामा विवाह, ब्रतबन्धलगायत अन्य चाडपर्व खासै नभएको अवस्थामा समेत दैनिक साढे २ लाख दुधको भइरहेको अवस्थामा उद्योगीहरूले पाउडर दुधको प्रयोगले बजार धान्दै आएको छ ।

आगामी वैशाखबाट विभिन्न विवाहको लगन, व्रतबन्धलगायतका कार्यक्रम धेरै हुने भएकाले वैशाखबाट दुधको चरम अभाव हुने देखिएको महासचिव दाहाल बताउँछन् ।

उनकाअनुसार आगामी वैशाखबाट बजारमा दैनिक ५ लाख लिटर दुध अभाव हुनेछ । दुधको उत्पादन आगामी असोजबाट मात्रै बढ्ने भएकाले अबका दिनमा कसरी बजार माग धान्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

‘अहिले निजी क्षेत्रसँग २ महिना मात्रै धान्न सक्ने पाउडर दुध छ,’ उनले भने, ‘२ महिनापश्चात बजार माग कसरी धान्ने थाहा छैन ।’

डीडीसीले पनि आगामी वैशाखबाट निरन्तर भदौसम्ममा दुधको अभाव देखिने अनुमान गरेको छ । बजारमा दैनिक खपत बढेको छ भने उत्पादन घट्दो अवस्थामा छ । जसले गर्दा आगामी दिनमा दुधको आपूर्तिका लागि सरकारल छलफल गरिरहेको जनाएको छ ।

अनौपचारिक क्षेत्रलाई नियन्त्रण गरे दुध अभाव हुुन्नः बोर्ड
निजी क्षेत्र र डीडीसीले आगामी दिनमा दुधको अभाव हुने बताए पनि राष्ट्रिय दुग्ध विकास बोर्डले भने अभाव नहुने जनाएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले अहिले विभिन्न क्षेत्रबाट दुधको अभाव भएको पत्र आइरहेको बताए । तर, जुन हिसाबले निजी क्षेत्रले अभाव हुने भन्दै आएको छ । सोअनुसार अभाव नुहने उनको भनाइ छ ।

‘वार्षिक नेपालमा २३ लाख मेट्रिक टन दुध उत्पादन हुन्छ । उक्त उत्पादित दुध औपचारिक क्षेत्रमा १७ प्रतिशत मात्रै छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘बाँकी अन्य दुध अनौपचारिक क्षेत्रमा जाने गर्दछ । त्यसैले, अनौपचारिक क्षेत्रमा गएको दुधलाई औपचारिकमा ल्याउन सके अभाव नै हुँदैन ।’

उनकाअनुसार अनौपचारिक क्षेत्रमा जाने दुधलाई औपचारिक क्षेत्रमा ल्याउन सके कुनै अभाव हुँदैन । त्यसैले बोर्डले उद्योगीहरूलाई अनौपचारिक क्षेत्रको डेरीको बजारमा गएर संकलन गर्नुपर्ने जिकिर गरे ।

उनले औपचारिक क्षेत्रमा दुध नआएर अभाव भएको उल्लेख गरे । अहिले बोर्डले अभाव भएको जानकारी पाएसँगै अध्ययन शुरु गरेको छ । यदि अभाव नै हो भने आपूर्तिका लागि केही कदम अगाडि बढाउन उनको भनाइ छ ।


क्लिकमान्डु