तेल बजारमा अमेरिकी डलरको प्रभूत्व घट्दैछ ?



एजेन्सी । संसारभर नै अमेरिकी डलरको प्रभुत्व कम गर्नका लागि केही देशले नयाँ खालको प्रयोग गर्न लागेको विवरण सार्वजनिक भएको छ ।

केही दिनअघि अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलमा साउदी अरेबियाले चीनलाई तेल बिक्री गर्दा युआनमा भुक्तानी लिने विचार गरिरहेको समाचार छापिएको थियो ।

यो समाचारमात्रै होइन, पछिल्ला दिनमा डलरको विकल्पमा संसारले खोजीरहेको नयाँपनको एउटा अभिव्यक्ति थियो । खासमा भित्रभित्रै यस खालको सल्लाह भइरहेको छ ।

वालस्ट्रिट जर्नलको यो खबरसँगै यो पेट्रोडलर युगको अन्त्यको सुरुवात हो कि भनेर हल्ला पनि व्यापक रुपमा चल्न थालेको छ ।

खासमा पेट्रोडलर शब्द सत्तरीको दशकमा शुरु भएको थियो । यससँगै विश्वको व्यापारमा अन्तर्राष्ट्रिय लेनदेनको लागि रुचाइएको मुद्राको रूपमा डलरको स्थिति बलियो हुँदै गएको थियो ।

ऊर्जा क्षेत्रको एक प्रकाशन कम्पनी इनर्जी इन्टेलिजेन्सका वरिष्ठ सम्पादक रफिक लट्टाले चिनियाँ मुद्रा युआनको बारेमा साउदी स्रोतलाई उधृत गर्दै समाचार सार्वजनिक भएको बताएका छन् ।

साउदी अरेबियाले यसबारे आधिकारिकरूपमा केही बोलेको छैन । तर, यो जानकारी सार्वजनिक भएपछि यो बहस केही दिनसम्म चल्ने पक्का भएको छ ।

किनकी, पछिल्ला दिनमा साउदी अरब अमेरिकाको छाताबाट बाहिर निस्केर चीन र रसियातर्फ केन्द्रीत भएको छ । अमेरिकाले प्राकृतिक स्रोतमात्रै लैजाने, आफूहरुको अन्य कुनै पनि विषयमा चासो नदिने र सहयोग नगर्ने अवस्था आएको भन्दै उसले आपत्ति जनाउँदै आएको छ ।

उर्जा विज्ञ डा. अनास अल्हाजी यो वर्ष विश्व तेलको व्यापार २.६ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको बताउँछन् । यो असाध्यै ठूलो रकम हुनेछ ।

यसको मतलब तेल किन्ने र बेच्ने मुद्रामा तरलताको राम्रो मात्रा हुनुपर्ने अवस्था देखिएको छ ।

उनी भन्छन् ‘कि डलर मुद्रा हो जसबाट यो काम राम्रो तरिकाले गर्न सकिन्छ । यसका अन्य कारण पनि छन् ।’

डलरमा सबैभन्दा बढी तरलता छ । यसको विनिमय दर अन्य मुद्राहरू भन्दा बढी स्थिर छ । र, यो सम्पूर्ण विश्वमा लेनदेनको लागि सबैभन्दा स्वीकृत मुद्राका रुपमा परिचित छ ।

विश्वव्यापी तेल संकटको केही समयपछि, १९८४ मा, साउदी अरेबियाको सरकारले तत्कालीन अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनसँग एक सम्झौता गरेको थियो । जस अन्तर्गत साउदी अरबले तेल निर्यात डलरमा गर्ने निर्णय भएको थियो ।

यस सम्झौता अन्तर्गत, साउदी अरेबियाले आफ्नो पैसा अमेरिकी ट्रेजरी बन्डमा लगानी गरेको थियो ।

साउदी अरब र अमेरिकाबीचको यो सम्झौताले दूरगामी प्रभाव पारेको छ । साउदी अरेबियाको पाइलामा धेरै देश अघिबढे र विश्वभर तेलको मूल्य डलरमा तोक्न थालियो ।

सोही कारणले गर्दा विश्वका विभिन्न देशले तेल र ट्रेजरी बन्डहरू किन्न, पश्चिमी देशहरूमा लगानी गर्न र अन्य विदेशी वस्तु तथा सेवा आयात गर्नका लागि तेल किन्न विदेशी मुद्रा भण्डार डलरमा राख्न थाले ।

रफिक लट्टाका अनुसार आज हामीले महशुस गरेको विश्वव्यापी अर्थतन्त्र ल्याउन डलरको व्यापारले ठूलो भूमिका खेलेको छ ।

विश्वभरका देशहरूमा जसले आफ्नो विदेशी मुद्रा सञ्चिति राख्छन्, त्यसमा यो भेट्टाइन्छ कि थोकको ६० प्रतिशतभन्दा बढी डलरमा मात्रै भएको छ ।

उनी भन्छन्, ‘अमेरिकी शक्ति निर्माणमा पेट्रोडलर अर्थतन्त्रको ठूलो योगदान छ । र यो अवस्थामा कुनै पनि परिवर्तन आर्थिक पक्षमा मात्र सीमित हुने छैन । यसले विश्व राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध र समीकरणहरूमा प्रत्यक्ष प्रभाव पार्छ ।

सन् २०२० को तथ्यांक अनुसार चीनले हाल दैनिक एक करोड ब्यारेल कच्चा तेल आयात गरिरहेको छ । जसमध्ये १७ लाख ब्यारेलभन्दा बढी तेल साउदी अरबबाट लगिरहेको छ । यो चीनको तेल आयातको लगभग १८ प्रतिशत हो । यो साउदी अरबको कुल तेल निर्यातको २६ प्रतिशत बराबर हो ।

चीनले पनि रुसबाट दैनिक १५ लाख ब्यारेल तेल आयात गर्छ । हाल चीन विश्वभर ऊर्जाको प्रमुख उपभोक्ता बनेको छ ।

यो वास्तविकताले विश्व तेल बजारको संरचना नै परिवर्तन गरिदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको दावी छ । हाल चीन तेल बजारमा ठूलो ग्राहक तथा खपतकर्ता बनीरहेको छ ।

भारत, जापान र दक्षिण कोरियाजस्ता एशियाली देश पनि कच्चा तेलका ठूला ग्राहकका रूपमा देखिएका छन् ।

अमेरिकी ऊर्जा सूचना प्रशासनको २०२० को तथ्यांकअनुसार साउदी अरबको तेल निर्यातको ७७ प्रतिशत एसियाली बजारमा जान्छ ।

दश प्रतिशतमात्रै युरोप जाने गरेको छ । अमेरिकामा दैनिक आधा मिलियन ब्यारेलमात्र तेल जान्छ । अमेरिका स्थानीयरूपमा निस्कने तेलमा निर्भर रहेको भएपनि कारोबारका आधारमा विदेशी तेल लगेर भण्डारण गरिरहेको छ ।
यही वास्तविकतालाई ध्यानमा राख्दै साउदी अरेबिया, रुस र अन्य तेल निर्यातक मुलुकले अब चीन र अन्य एशियाली मुलुकसँग रणनीतिक सम्बन्ध बनाउन खोजिरहेको देखिन्छ ।

सोही सम्बन्ध मार्फत तिनीहरू सुनिश्चित गर्न चाहन्छन् कि तिनीको तेल ती महत्वपूर्ण बजारमा पुग्न जारी छ ।

त्यसका लागि तेल आयात गर्ने देश चीन, भारत, दक्षिण कोरिया र जापानमा रिफाइनरी बनाउन चाहिरहेको देखिन्छ । यसबाट तेल खरिद गर्ने देशहरूले दीर्घकालीन खरिद गर्न पाउँछन् ।

साउदी कम्पनी अरामकोले हालै चीनसँग पेट्रोल केमिकल कम्प्लेक्स र रिफाइनरी निर्माण गर्न साझेदारी सम्झौतामा हस्ताक्षर गरेको छ ।

पछिल्ला केही वर्षयता चिनियाँ मुद्रा युआनमा इन्धन किन्ने बहस पनि उत्तिकै चर्किएको छ ।

रफिक लट्टा भन्छन्, ‘वास्तवमा यो कुरा अहिले बाहिर आएको छ र यसले साउदी अरेबिया र अमेरिकाबीचको सम्बन्धमा देखिएको तनावलाई देखाउँछ ।’

विश्व तेल बजारले केही समयदेखि यो संरचनात्मक परिवर्तनको साक्षी दिइरहेको छ । त्यसले युक्रेनमा रुसको आक्रमणले बदलिएको भूराजनीतिक वातावरणलाई पनि देखाइरहेको छ । सोही नीतिले चीनसँगको आफ्नो महत्वपूर्ण सम्बन्धमा पनि नजर राखिरहेको छ ।

साउदी अरेबियाबाट खरिद गरिएको तेल युआनमा तिर्ने हो भने यो व्यवस्था साउदी अरेबिया र चीन दुवैका लागि बीमा नीतिजस्तै हुने धेरै विज्ञहरूको विश्वास छ । यससँगै भविष्यमा कुनै प्रतिबन्धका कारण डलरमा तेलको कारोबारमा प्रतिबन्ध लागेमा युआन सबैभन्दा राम्रो विकल्प सावित हुनसक्छ ।


क्लिकमान्डु