तोकिएको समयमा बीमा कम्पनीलाई पुँजी बढाउन चुनौती



काठमाडौं । बीमा समितिको गत साता बसेको संचालक समितिको बैठकले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता साढे २ अर्ब रुपैयाँ पुर्याउने निर्णय गरेको छ । हाल कायम रहेको चुक्ता पुँजीको तुलनामा समितिले कम्पनीहरुको चुक्ता पुँजी साढे २ गुणाले बढाउने निर्णय गरेको हो ।

अहिले जीवन बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ छ । समितिका अनुसार बीमा कम्पनीहरुले सो पुँजी २०७९ साल चैत मसान्तसम्ममा कायम गरिसक्नुपर्ने छ । कतिपय कम्पनीहरुले यसअघि नै कायम गर्नुपर्ने चुक्ता पुँजी नै पुर्याउन बाँकी छ ।

बीमा समितिले बीमकको दर्ता र व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका २०७३ जारी गर्दै ०७४/७५ को अन्त्यसम्म सबै बीमा कम्पनीहरुलाई तोकिएको पुँजी पुर्याउन निर्देशन दिएको थियो ।


निर्देशिका अनुसार निर्जीवन बीमा कम्पनीले १ अर्ब र जीवन बीमा कम्पनीले १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्ने थियो ।०७४/७५ अन्त्यसम्म पुँजी जुटाउन नसक्ने कम्पनीका लागि पुँजी पुर्याउन समितिले पटक पटक समय पनि थप गरेको थियो ।

तर, आर्थिक वर्ष २०७८/८९ को आठ महिना वित्दा पनि सञ्चालनमा आएका नयाँ जीवन बीमा कम्पनी र सरकारी स्वामित्वमा रहेका दुई बीमा कम्पनीको सो बमोजिमको चुक्ता पुँजी कायम गर्न सकेका छैनन् ।

यस्तो अवस्थामा समितिको नयाँ निर्देशनअनुसार एक वर्षको अवधिमा अधिकांश कम्पनीलाई पुुँजी वृद्धि गर्न सकस देखिएको छ । समितिको नयाँ निर्देशनअनुसार नेपाल लाइफको भने चुक्ता पुँजी पुगेको छ ।

नेपाल लाइफ बाहेकका अन्य कम्पनीले भने तोकिएको समयमा पुँजी वृद्धि गर्न नसक्ने देखिन्छ । बीमा समितिले तोकेअनुसार निर्धारित समयमा नै पुँजी वृद्धि गर्न नसकिने कम्पनीहरुले बताएका छन् ।

एक वर्षभित्र नै समितिले तोकेअनुसार साढे दुई गुणाले पुँजी वृद्धि गर्न नसकिने बीमकहरुको भनाइ छ ।

बजारमा तरलता अभाव र समय पनि छोटो भएकाले तोकिएको पुँजी कायम गर्न नसकिने उनीहरुको बुझाइ छ ।

साथै, एक वर्षमा दोब्बरभन्दा धेरै रकमले पुँजी बढाउनु कम्पनीहरुका लागि चुनौतिपूर्ण भएको कम्पनीहरुको भनाइ छ ।

समितिको पुँजी वृद्धिको उक्त निर्देशनले ठूला कम्पनीलाई फाइदा भए पनि साना कम्पनीहरु समस्यामा पर्ने उनीहरुको भनाइ छ ।

समितिले साना–ठूला कम्पनीहरुलाई समान पुँजी तोक्नुभन्दा पनि कम्पनीको जोखिम हेरेर पुँजी तोक्नु पर्ने बीमकहरुको भनाइ छ ।

जीवन बीमा कम्पनीहरुको छाता संगठन जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठले अहिलेको पुँजी वृद्धिले कम्पनीलाई बलियो बनाए पनि जुन कम्पनीले जति जोखिम उठाएको छ सोही बमोजिम पुँजी कायम गर्नुपर्ने व्यवस्थाको खाँचो रहेको बताए ।

जसले गर्दा साना-ठूला सबै कम्पनीलाई सहजता थपिने उनको भनाइ छ ।

‘ठूला विजनेश तथा जोखिम भएका कम्पनीहरुका लागि यो उपयुक्त पनि हो । जसका लागि ५ अर्ब रुपैयाँको पुँजी चाहिने पनि होला । अझै त्यो भन्दा बढी पनि पुँजी चाहिने होला । भर्खर सुरुवात भएका कम्पनीहरु पनि छन् । जसले राम्रोसँग विजनेस पनि गर्न सकेका छैनन् । ती कम्पनीहरुलाई ५ अर्ब रुपैयाँको लोड थप्नु हुँदैन,’ मेट लाइफका सीइओसमेत रहेका श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘सानादेखि ठूला कम्पनीहरुलाई एउटै पुँजी तोक्नुभन्दा पनि जोखिममा आधारित पुँजीमा जानु उपयुक्त देखिन्छ ।’

उनका अनुसार तत्कालका लागि सबै कम्पनीलाई समान पुँजी तोक्नुभन्दा पनि जोखिममा आधारित पुँजी कायम गर्दा बीमा बजारका लागि राम्रो कुरा हो ।

तोकिएको समयमा जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब रुपैयाँ पुँजी कायम गर्न कठिन हुने उनको भनाइ । समितिले पुँजी बढाउनका लागि दिएको समय छोटो भएको उनले बताए ।

समितिले जोखिममा आधारित पुँजीमा आधारित भएर अघिबढेको भए बीमा क्षेत्रका लागि सहज हुने उनको भनाइ छ ।

जीवन बीमा कम्पनीहरु पुँजी बढाउनको लागि रिस्कबेस्ड क्यापिटलमै जानु पर्ने उनको बुझाइ छ । रिस्कवेस्ड क्यापिटल भए पछि आ–आफ्नो जोखिम अनुसार पुँजी थप गर्नु पर्ने हुन्छ । ठुला बीमा कम्पनी अथवा ठुलो जोखिम लिने कम्पनीले ठुलै पुँजी कायम गर्नु पर्छ । सानो जोखिम लिने कम्पनीले सानै पुँजी कायम गर्नुपर्छ । यदि यस्तो व्यवस्था लागू हुन सक्यो भने बीमा बजारमा स्वस्थ्य प्रतिस्पर्धा हुने उनको भनाइ छ ।

‘बीमा समितिले कम्पनीहरुको पुँजी बढाउनुको उदेश्य चाँही बीमा कम्पनीहरुलाई मर्जमा लाने जस्तो पनि बुझिन्छ । यदि यस्तो हुन सक्यो भने त राम्रो हो,’ श्रेष्ठले भने, ‘मर्जर हुन सक्यो भने राम्रो हो । तर, नेपालका लागि मर्जर सजिलो छैन । सबैको आ आफ्नो इन्भेष्टर हुन्छन् । ती इन्भेष्टरका आ-आफ्नै इच्छा हुन्छन् ।’

पूराना बीमा कम्पनीको तुलनामा नयाँ कम्पनीलाई समितिको पुँजी वृद्धिको योजनाले समस्या थपिएको उनको भनाइ छ ।

आइपीओ नै ल्याउन बाँकी रहेका कम्पनीलाई भने एक वर्षको अवधिमा तोकिएको पुँजी कायम गर्न झनै कठिन हुने उनको भनाइ छ । यी कम्पनीहरुलाई समितिले आईपीओमा गएर त्यसपछि पुँजी वृद्धिको योजना बनाउन सहजता समितिले गरिदिनु पर्ने उनले बताए ।

तर, जुन काम पनि नियामकले तोकिदिएको एक वर्षको अवधिमा सम्भव नहुने उनको भनाइ छ । सबै कम्पनीको संस्थापक र सञ्चालक समितिसँग छलफल भएपछि मात्रै के गर्ने भन्ने निर्णय आउने र त्यो निर्णय पनि कम्पनीअनुसार फरक पर्ने उनको भनाइ छ ।

प्रत्येक कम्पनी, कम्पनीका संस्थापक र नियामक निकाय बसेर पुँजी वृृद्धिको योजना तय गर्न सकिने उनले बताए ।

एक वर्षभित्रमा नै पुँजी बढाउन कम्पनीहरुलाई चुनौतीपूर्ण रहेको उनको भनाइ छ । बजारमा लगानी योग्य रकम (तरलता) कम भएको अवस्थामा कम्पनीहरुलाई पुँजी वृद्धि गर्न झनै कठिन हुने उनले बताए ।

कम्पनीहरुले कति जोखिम लिएका छन्, उक्त जोखिमको आधारमा कम्पनी सुरक्षित हुनलाई निश्चित पुँजी चाहिने उनको राय छ ।

जबसम्म सबै बीमा कम्पनीको एक चरणको बोर्ड बैठक बस्दैन तबसम्म पुँजी वृद्धिको योजनाका बारेमा सीईओहरुले बोल्न नमिल्ने एक निर्जीवन बीमा कम्पनीका सीइओले बताए ।

कम्पनीहरुको चुक्ता पुँजी बढाउँदा कम्पनीहरुले लगानीकर्तालाई दिने लाभांश क्षमता घट्दै जाने एक जीवन बीमा कम्पनीका लगानीकर्ताको भनाइ छ ।

‘दुई करोड रुपैयाँ पुँजीमा जीवन बीमा कम्पनीहरुको औषतमा ५ देखि ६ प्रतिशत छ । सञ्चालनमा रहेका ठुला कम्पनीको पनि फ्युचर प्रोभिजनको व्यवस्थाले गर्दा लाभांश दर घटेर १४/१५ प्रतिशतमा आई पुगेको छ,’ती लगानीकर्ताले क्लिकमाण्डूसँग भने,‘२ अर्ब रुपैयाँ चुक्ता पुँजी हुँदा जीवन बीमा कम्पनीहरुको लाभांश दिने क्षमता औषतमा ५ देखि ६ प्रतिशत भन्दा बढी छैन । २ अर्ब रुपैयाँबाट ५ अर्ब रुपैयाँ चुक्ता पुँजी वृद्धि गर्दा कम्पनीहरुको लाभांश दिने यो क्षमता २ देखि ३ प्रतिशतमा सीमित हुन्छ ।’

जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब रुपैयाँले वृद्धि गर्दा औषतमा २ देखि ३ प्रतिशतमात्रै लाभांश दिन सक्ने उनको भनाइ छ ।

‘कम्पनीहरुले दिने प्रतिफल औषतमा २ देखि ३ प्रतिशत मात्रै हुन्छ भने अब लगानी किन गर्ने,’ ती लगानीकर्ताले भने,‘लगानीकर्ताले लगानी प्रतिफलका लागि गर्छ । तर, कम्पनीहरुले दिने प्रतिफल औषतमा २ देखि ३ प्रतिशतमा मात्रै सीमित हुन्छ भने अब लगानी किन गर्ने ?’

लगानीकर्ताले कम्पनीमा कम्पनीले दिने प्रतिफल र पुँजीगत लाभका लागि लगानी गर्ने हो । तर, आफुहरुले पाउने लाभांश नै घट्दै जान्छ भने लगानीकर्ताले थप रकम लगानी नगर्ने ती लगानीकर्ताको भनाइ छ ।

जीवन बीमा कम्पनीहरुको पुँजी ५ अर्ब रुपैयाँ पुर्याउँदा लाभांश क्षमता औषतमा २ देखि ३ प्रतिशतमा सीमित हुने र धितोपत्र बजारमा ती कम्पनीहरुको सेयर मूल्य पनि डेढ सयदेखि साढे दुई सय रुपैयाँमा झर्ने उनको भनाइ छ ।

वाणिज्य बैंकहरुको ८ अर्ब रुपैयाँको पुँजी हुँदा अधिकांशको सेयर मूल्य औषतमा दुई सय रुपैयाँदेखि छ । ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएका वाणिज्य बैंकहरुले औषतमा १२ देखि १३ प्रतिशतसम्म लाभांश दिने क्षता रहेको बताउँदै ती लगानीकर्ताले जीवन बीमा कम्पनीको पनि यही अवस्था सिर्जना हुने बताए ।

बीमा कम्पनीहरुको सेयर मूल्य पनि डेढ सयदेखि साढे दुई सय रुपैयाँमा सीमित हुँदा प्रमोटरले एक सय रुपैयाँ पनि सेयर बेच्न गाह्रो हुने उनले बताए ।

कम्पनीको हित र लगानीकर्ताको हितका लागि कम्पनीहरु पोर्टफोलियो सहित मर्जमा जानु पर्ने उनको भनाइ छ । जसले गर्दा कम्पनीहरुको खर्च कम हुने उनको बुझाइ छ ।

दुई कम्पनी एक आपसमा मर्ज हुँदा कम्पनीहरुको विजनेस पनि जोडिन्छ र औषतमा ८÷९ प्रतिशत प्रतिफलसमेत दिनसक्ने ती लगानीकर्ताको भनाइ छ ।

‘एउटा लगानीकर्ताले खोज्ने भनेको लभांश हो । र, अर्को भनेको क्यापिटल गेन हो । हालको पुँजीअनुसार कम्पनीहरुको लाभांश दिने क्षमता औषतमा ५ देखि ६ प्रतिशत मात्रै छ । पुँजी वृद्धि भएर ५ अर्ब रुपैयाँ पुग्दा २ देखि ३ प्रतिशतमा सीमित हुन्छ भने म किन लगानी थप गर्ने,’ उनले भने ।

समग्र बीमा क्षेत्रको लागि र लगानीकर्ताको हितका लागि प्रमोटरले रकम थप गर्नुभन्दा पनि मर्जमा जानु पर्ने उनको राय छ ।


बिजया बास्कोटा