बीमा समितिले तोकेको चुक्ता पुँजी पुर्याउन कुन कम्पनीले कति थप्नुपर्छ ?



काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने निर्णय गरेको छ । समितिको संचालक समितिको बिहिबार बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको हो ।

कम्पनीहरुलाई एकअर्कामा गाभ्ने गाभिने अनुकुल वातावरण सिर्जना गरी उपयुक्त संख्यामा राख्न तथा पुँजीगत आधार बलियो बनाउन कम्पनीहरुको पुँजी बढाउन लागिएको समितिको भनाइ छ ।

ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न कम्पनीहरुको पुँजी वृद्धि गर्नुपर्ने आवश्यकता रहेको समितिले बताएको छ ।

समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।

साथै, विदेशी बीमकको रुपमा दर्ता भई संचालनमा रहेको कम्पनीले पनि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

यस्तै, संयुक्त लगानीमा संचालित कम्पनीले समेत तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने छ ।

समितिका अनुसार बीमा कम्पनीहरुले सो पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने छ । निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पुर्याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने छ ।

यस्तै, समितिले कम्पनीहरुलाई ३० दिनभित्र आफ्नो पुँजी योजनासम्बन्धित बोर्डबाट निर्णय गराई समिति समक्ष पेश गर्न समेत निर्देशन दिएको छ ।

जीवन बीमातर्फ नेपाल लाइफको पुँजी पुग्यो

हाल जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको चुुक्ता पुँजी एक अर्ब रुपैयाँ कायम छ ।

सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थान र सर्वसाधारणलाई आइपीओ निष्काशन गर्न बाँकी रहेका पाँच जीवन बीमा कम्पनी बाहेक सबैले न्यूनतम चुक्ता पुँजी २ अर्ब कायम गरेका छन् ।

यस्तै, १८ निर्जीवन बीमा कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीबाहेक सबै कम्पनीको न्यूनतम चुक्ता पुँजी एक अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, बीमा कम्पनीहरुको चुक्ता पुँजीका लागि समितिले बनाएको मापदण्डअनुसार भने जीवन बीमा कम्पनीतर्फ एउटा कम्पनीको मात्रै चुक्ता पुँजी पुगेको छ । भने निर्जीवनतर्फ भने कुनै पनि कम्पनीको पुँजी पुगेको छैन । हाल जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफको मात्र चुक्ता पुँजी बीमा समितिले तोकेभन्दा बढी छ ।

जीवन बीमा कम्पनीतर्फ सबैभन्दा थोरै पुँजी सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानको छ । हाल संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख रुपैयाँमात्रै छ । संस्थानले पाँच अर्ब रुपैयाँ कायम गर्न अब ४ अर्ब ८१ करोड ८९ लाख रुपैयाँ थप गर्नु पर्ने छ ।

यस्तै, सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न बाँकी रहेका ५ जीवन बीमा कम्पनीलाई समितिले तोकेको पुँजी वृद्धि गर्नका लागि मुस्किल देखिन्छ ।

महालक्ष्मी लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्सको हालको पुँजी १ अर्ब ४० करोड रुपैयाँ छ । आइपीओ जारी गरेपश्चात यी चार कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्ने छ । त्यसपछि कम्पनीहरुले ५ अर्ब रुपैयाँ पुँजी कायम गर्नका लागि ३ अर्ब ६० करोड रुपैयाँ थप गर्नु पर्छ ।

यस्तै, आइपीओ निष्कासन गर्न बाँकी रहेको अर्को कम्पनी सिटिजन लाइफ इन्स्योरेन्सको हालको पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । आइपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । त्यसपछि सिटिजनले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न बाँकी ३ अर्ब २५ करोड रुपैयाँ थप गर्नुपर्ने देखिन्छ ।

नयाँ बीमा कम्पनीतर्फ सर्वसाधरणका लागि आइपीओ जारी गरेका सानिमा लाइफ र प्रभु लाइफले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न ३ अर्ब रुपैयाँ थप गर्नुपर्ने देखिन्छ । हाल यी दुईको चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ ।

यस्तै, यूनियनले ३ अर्ब ६० करोड, ज्योतिले २ अर्ब ५८ करोड रुपैयाँ र रिलायन्स लाइफले २ अर्ब ९० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ ।

पुराना जीवन बीमा कम्पनीतर्फ पाँच अर्ब रुपैयाँ पुँजी कायम गर्न ९६ करोड ४८ लाख ४२ हजार, एलआइसी नेपालले २ अर्ब ३४ करोड ६८ लाख, सूर्या लाइफले २ अर्ब ४४ करोड ९७ लाख १८ हजार, एशियन लाइफले २ अर्ब ४८ करोड ६५ लाख ४८ हजार रुपैयाँ, प्राइम लाइफले २ अर्ब २२ करोड ३ लाख ८४ हजार रुपैयाँ र गुराँस लाइफले २ अर्ब ९१ करोड ५७ लाख ५० हजार रुपैयाँ थप गर्नुपर्ने छ ।

निर्जीवनतर्फ शिखरलाई पुँजी पुर्याउन सहज

निर्जीवन बीमा कम्पनीतर्फ साढे २ अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्न सहज देखिन्छ ।

शिखर इन्स्योरेन्स कम्पनीले हाल ३० प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ पुग्नेछ । यस्तै, गत आवको मुनाफाबाट कम्पनीले लगानीकर्ताका लागि लाभांश घोषणा गर्न बाँकी छ । जसले गर्दा शिखरलाई पुँजी पुर्याउन सहज देखिएको हो ।

शिखरले लाभांश घोषणा नगर्दा पनि २१ करोड ३९ लाख रुपैयाँमात्रै थप गरे समितिले तोकेको पुँजी पुग्ने छ ।

यस्तै, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीलाई पुँजी पुर्याउन कठिन देखिन्छ । हाल २६ करोड ६६ लाख रुपैयाँमात्रै चुक्ता पुँजी रहेको कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी कायम गर्न २ अर्ब २३ करोड ३३ लाख रुपैयाँ थप गर्नुपर्ने छ ।

नयाँ निर्जीवन बीमा कम्पनी सानिमा जनरल, जनरल र अजोडले साढे २ अर्ब रुपैयाँ पुँजी कायम गर्न साढे एक अर्ब रुपैयाँ पुँजी थप गरे पुग्ने छ ।

आइएमई जनरलले साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउनका लागि ८७ करोड ९३ लाख रुपैयाँ पुँजी थप गर्नु पर्ने देखिन्छ ।

हिमालयन जनरलले एक अर्ब ३२ करोड ६४ लाख, यूनाइटेडले एक अर्ब ४७ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले एक अर्ब २१ करोड ३ लाख, प्रिमियर इन्स्योरेन्सले एक अर्ब २७ करोड २३ लाख, सगरमाथा इन्स्योरेन्सले एक अर्ब १६ करोड ६५ लाख, एभरेष्ट इन्स्योरेन्सले एक अर्ब २४ करोड, नेपाल इन्स्योरेन्सले एक अर्ब १२ करोड ११ लाख रुपैयाँ पुँजी थप गर्नु पर्ने छ ।

यस्तै, नेपाल इन्स्योरेन्सले साढे २ अर्ब रुपैयाँ पुँजी कायम गर्न एक अर्ब १२ करोड, नेको इन्स्योरेन्सले ७५ करोड १ लाख रुपैयाँ, सिद्दार्थ इन्स्योरेन्सले एक अर्ब २१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, लुम्बिनी जनरले १ अर्ब १८ करोड र प्रुडेन्सियल एक अर्ब ३१ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने देखिन्छ ।


बिजया बास्कोटा