नेपालमै पहिलोपटक कोरियन प्रविधिबाट नपोलेको इट्टा उत्पादन



गोर्खा । नेपालमै पहिलो पटक गोर्खाको पालुङटारमा कोरियन प्रविधिबाट नपोली इट्टा उत्पादन शुरु गरेको छ । कोरियन कम्पनी इन्नोसीएसआर सहयोगमा गोर्खा इन्नोटेक कम्पनीले गोर्खाको पालुङ्टारमा असल इट्टा पद्दतिबाट इट्टा उत्पादन शुरु गरेको हो ।

सन् २००८ मा कोरियामा स्थापना भएको इन्नोसीएसआर कम्पनीले दिगो विकासका लागि प्रविधिमैत्री र वातावरणमैत्री इट्टा उत्पादन गर्न शुरु गरेको थियो । उक्त कम्पनीले प्रयोग गरेको प्रविधिबाट हालसम्ममा कोरिया, मलेसिया, म्यानमार, फिलिपिन्स र चीनमा इट्टा उत्पादन शुरु गरिसकेको छ ।

त्यस्तै, नेपालमा पनि उक्त प्रविधिको प्रयोगबाट इट्टा उत्पादन शुरु गरेको छ । नेपालमा हालसम्ममा चिम्नीको प्रयोगबाट मात्रै पोलेको इट्टा उत्पादन गरेको इट्टा उद्योग छन् । तर, इन्नोसीएसआरले उच्च प्रविधिको प्रयोगबाट बिना पोलेको इट्टा उत्पादन गर्न शुरु गरेको छ ।

कम्पनीका सञ्चालक विकास श्रेष्ठले नेपालमा पनि कोरियन प्रविधिको प्रयोगबाट बिना आगोमा नपोली इट्टा उत्पादन शुरु गर्न थालेको जानकारी दिए । उनका अनुसार नेपालमा हालसम्म पोलेको इट्टामात्रै गरिरहेको अवस्थामा कम्पनीले नयाँ प्रविधिको प्रयोगले वातावारणमैत्री इट्टा उत्पादन शुरु गरेको हो ।

‘शुरुमा चिम्नीको उद्योग नै सञ्चालन गर्ने तयारी गरेको थियो,’ उनले भने, ‘अध्ययन गर्ने क्रममा नयाँ प्रविधि थाहा पाएपछि सोहीअनुसार पालुङ्टारमा प्रविधिको प्रयोगबाट इट्टा उत्पादन शुरु गरेको हो ।’

नेपालमा पोकेको इट्टाको ठूलो बजार छ । तर, कम्पनीले कोइलाको प्रयोग बिनै उत्पादन शुरु गरेकाले नेपालमा निकै नौलो रहेको छ । कम्पनीले हालको लागि नभएको पनि आगामी दिनमा निकै राम्रो हुने किसिमले नयाँ प्रविधि अपनाएको उनको भनाइ छ ।

This image has an empty alt attribute; its file name is 111--768x432.jpg

नेपालमा सन् २०१८ बाट इन्नोसीएसआर प्रालिको रुपमा उद्योग स्थापना भएको थियो । अध्ययन गरेर उत्पादन गर्ने तयारी गरेको अवस्थामा कोरोनाले निकै असर गरेकाले उत्पादन शुरु गर्न नसकेको उनले बताए ।

कम्पनीले शुरुवाती चरणमा कोरोनाका कारण आफ्नो व्यवसायी नै धारासायी बनाएको उनले जिकिर गरे । सन् २०१८ मा कम्पनी स्थापना भए पनि विगत ४ महिनाबाट मात्रै निरन्तर उत्पादन गरेर बजारमा बिक्री गर्न थालेको उनको भनाइ छ ।

कम्पनीले ९० प्रतिशत माटो, ९.८ प्रतिशत सिमेन्ट र ०.२ माटो स्टेबलाइजरको मिश्रणबाट मेसिनको प्रयोगद्वारा इट्टा उत्पादन गरिरहेको छ ।

कम्पनीले धुलोरहित हुनगई वातावारणमैत्री भएको दाबी गरेको छ । साथै, सानो जग्गामा सहजै उत्पादन हुने र ध्वानी प्रदुषण पनि कम गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार कोरियन प्रविधिको प्रयोगबाट उत्पादन शुरु गरेको मेसिनबाट प्रतिघण्टा ३५ सय इट्टा उत्पादन हुने जनाएको छ । साथै, मासिक रुपमा ८ लाख इट्टा उत्पादन गर्न सक्नेछ ।

त्यसैगरी, मेसिनको क्षमताअनुसार वार्षिक ८ घण्टा मेसिन सञ्चालन गर्दा १ करोडदेखि २ करोड इट्टा उत्पादन गर्न सक्ने कम्पनी जनाएको छ ।

तर, काेराेना कहरका कारण इट्टाको बजारीकरण राम्रोसँग गर्न नपाएकाले पूर्णक्षमतामा सञ्चालन हुन नसकेको सञ्चालक श्रेष्ठले बताए ।

कम्पनीले अहिले उत्पादन गरेको इट्टा गाच्छेपानी र लमजुङमा विशेषगरी ढुवानी गरिरहेको छ ।

कम्पनीको सञ्चालक हरिराम श्रेष्ठले अहिले इट्टाको रङलगायत अन्यमा विभिन्न प्रतिक्रिया आउने गरेको बताए । तर, कम्पनीले उत्पादन गरेको इट्टाले बजार लिई सकेपछि कसैको पनि गुनासो नआउने बताए ।

उनकाअनुसार कम्पनीले प्रविधि मैत्री र वातावातरणमैत्री उत्पादन शुरु गरेकाले आगामी दिनमा धेरै राम्रो बजार लिने अपेक्षा गरेको छ ।

कम्पनीले सञ्चालनमा ल्याएको उद्योगले धेरै नाफा कमाउन सक्ने दाबी गरेको छ । त्यसैगरी, उक्त उद्योगले कम ध्वानी प्रदुषण हुने, कम जनशक्तिले काम गर्न सक्ने, कोइलाको अभाव नहुने र सहजै उत्पादन गर्न सक्ने जनाएको छ ।

साथै, उत्पादित नपोलेको इट्टाको मुख्य विशेषता भनेको उक्त इट्टालाई पुनः माटोको सेपमा ल्याउन सक्ने कम्पनीको भनाइ छ ।

कम्पनीले उत्पादन गरेको इट्टामा ९ देखि ९.५ एमपीए रहेकाले निकै गुणस्तरको रहेको कम्पनीको दाबी छ । इट्टा उत्पादनमा ३.५ एमपीए भए पुग्ने भएकाले कम्पनीले उत्पादन गरेको इट्टा निकै गुणस्तर रहेको कम्पनीका रिसर्ज म्यानेजर नम्रता सिंहले जानकारी दिइन् ।

इट्टा उत्पादन गर्ने चाहनेलाई उद्योग स्थापनाका लागि सहजीकरण गर्ने

कम्पनीले उत्पादनसँगै उद्योग सञ्चालन गर्ने चाहने व्यक्तिलाई पनि उद्योग सञ्चालनका लागि सहयोग गर्नेछ । कम्पनीले उक्त प्रविधिबाट इट्टा उत्पादन गर्न इच्छुक व्यक्तिका लागि सम्पूर्ण प्रविधिको उपलब्ध गराउनेछ ।

जसमा कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक टेक्निकल सहयोग, कति जग्गामा कसरी मिलाउने, लेबलिङलगायत अन्य विभिन्न आवश्यक प्रविधिको लागि सहकार्य गर्नेछ । कम कामदारले धेरै इट्टा उत्पादन गर्न सक्ने भएकाले कामदारको अभाव नहुने श्रेष्ठको भनाइ छ ।

‘उद्योग सञ्चालन गर्ने इच्छुक व्यक्तिले लगानीअनुसार उद्योग स्थापना गर्न सक्नेछन्,’ उनले भने, ‘ठूलो उद्योग सञ्चालनका लागि सोही अनुसार प्रविधि प्रयोग हुनेछ भने सानो आकारमा सञ्चालन गर्नेका लागि सोही अनुसार मेसिनको प्रयोग हुनेछ ।’

त्यसैगरी, हाल बजारमा रहेको इट्टाको जस्तै ५० देखि ६० वर्षको आयु हुने भएकाले निकै गुणस्तरसमेत रहेको उल्लेख गरे ।

त्यसैगरी, असल इट्टाको एउटै प्रकार र एउटै आकारको हुने भएकाले थप सहज बनाउने कम्पनीको भनाइ छ । साथै, घर निर्माण गर्दा उक्त इट्टा प्रयोग गरेमा धेरै सस्तोमा घर निर्माण गर्न सक्ने कम्पनीको दाबी छ ।


अरिष्मा मोक्तान