कुस्मा बन्यो पर्यटकीय हब, बन्ला त पोखराको वैकल्पिक गन्तव्य ?
द क्लिफले बन्जी जम्प सञ्चालनमा ल्याएपछि पर्यटकिय गतिविधी बढेको कुस्मामा नयाँ नयाँ प्रोडक्ट थपिने क्रम बढ्दो छ ।
कुस्मा । पर्वत जिल्ला सदरमुकाम हो, कुस्मा । मुक्तिनाथ जाने बाटो भएकाले पनि कुस्मा बजार पर्यटन क्षेत्रमा नौलो नाम भने होइन् ।
तर, कोरोना महामारी शुरु हुनु भन्दा दुई महिना अघिदेखि ‘द क्लिफ’ले कालिगण्डकी नदीमाथि स्वीङ र बञ्जीजम्प सञ्चालनमा ल्याएपछि कुस्मा बजार पर्यटकिय गतिविधि हुने स्थानको रुपमा चिनिन थालेको हो ।
कुस्मामा बञ्जी शुरु भएपछि त्यहाँको एउटा क्षेत्रले बञ्जी साइट भन्ने नयाँ नाम मात्र पाएन् कुस्मा बजारले साहसिक खेलमा रुचि राख्ने कैयौँ व्यक्तिलाई स्वागत समेत गर्न पाएको छ ।
गत फागुन १२ मा अर्थमन्त्री जनार्दन शर्माले संसदमा एमसीसीको छलफल छलेर ‘द क्लिफ’ले सञ्चालन गरेको स्काई क्याफेमा ब्रेकफास्ट गरेपछि कुस्मामा रहेका साहसिक गतिविधि फेरि एकपटक चर्चामा आएको हो ।
बञ्जी र स्वीङ मात्र नभई स्काई साइकिलिङ, स्काई क्याफेसहितका साहासिक खेल समावेश गर्दै द क्लिफ रिसोर्ट सिन्धुपाल्चोकका युवा राजु कार्कीसहितको टीमले करिब ३० करोड लगानीमा सञ्चालनमा ल्याएका हुन् । रिसोर्टमा २०० जनासम्म बस्ने सुविधा पनि छ । यस्तै २१ वटा सफारी टेन्टमा ७० जना बस्ने क्षमता छ ।
पोखराबाट ५७ किलोमिटरको दुरीमा रहेको कुस्मा आजका दिनमा रात्रिकालिन गन्तव्य भन्दा पनि दिउँसो पर्यटकीय गतिविधि हुने गन्तव्य हो ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी गन्तव्य विकासका क्रममा कुनै पनि सहरमा एकैपटक धेरै पर्यटक नपुग्ने बताउँछन् ।
‘पर्यटकको संख्या बढ्दै जाँदा निजी क्षेत्रले लगानी बढाउने गर्छन,्’ जोशी भन्छन्, ‘कुस्मामा निजी क्षेत्रका लगानी बढ्नुको सिधा अर्थ हुन्छ, त्यहाँ पर्यटकको संख्या बढेको छ । आगामी दिनमा कुस्मा रात्रिकालीन गन्तव्य पनि बन्न सक्छ ।’
पोखराबाट बञ्जी गर्न मात्रै कुस्मा पुग्ने पर्यटक बढेपछि कुस्मै कम्तीमा एक रात बस्ने वातावरण बनाउन कुस्मा क्षेत्रमा नयाँ–नयाँ रिसोर्ट पनि खुल्न थालेका छन् । अन्नपूर्ण बेस क्याम्पको गेटवे नयाँ पुलबाट १५ किलोमिटरको दुरीमा रहेकाले पनि कुस्मामा एकपटक बञ्जी गरेर टे«क जाने व्यक्ति पनि बढेका छन् ।
२०७६ माघ १६ बाट शुरु गरिएको द क्लिफको व्यवसाय कोरोना महामारीको चपेटा पर्याे । कालीगण्डकी नदीको खोँचमा ५ सय २५ मिटर लामो र २ सय २८ मिटर उचाईको पुलमा सञ्चालनमा आएको कुस्माको बञ्जी र स्वीङ पर्यटकले रुचाउने प्रडक्ट बनेको छ ।
लकडाउनको समयमा नेपालमा टिकटक प्रयोगकर्ता बढेको लाभ द क्लिफलाई पनि भयो । कुस्मामा बञ्जी चर्चित बनाउन टिकटकले महत्वपूर्ण योजना दिएको कुस्मामा भिडियोग्राफीको काम गर्दै आएका विष्णुकान्त घिमिरे बताउँछन् ।
दायाँबायाँ हरियाली पहाड र मुनी कालिगण्डकी नदिमाथि २२८ मिटरको उचाईंबाट छलाङ पार्ने मार्ने अनुभव विरलै पाइने हुँदा पनि कुस्माको बञ्जी र स्वीङमा आकर्षण बढेको कुस्मामा स्वीङ गरेका नविन पौडेल बताउँछन् ।
बञ्जी कुस्माको मुख्य प्रडक्ट हो । तर, कुस्मा छेउछाउ कैयौँ प्रडक्ट छन् । जसले कुस्मालाई गुल्जार बनाएको छ ।
एकल स्पानमा बनेको नेपालका अग्गा र लामा भोलुङ्गे पुल पनि पर्वत र बाग्लुङ जोड्ने गर्छन् । कालिगण्डकी नदीको माथि पर्वतको अदुवाबारी र बाङ्गेचौर जोड्ने गरी निर्माण भएको भोलुङ्गे पुलको एकल स्पानमा बनेको नेपालको लामो पुल हो ।
उक्त पुलको लम्बाई ५ सय ७६ मिटर लामो छ । धेरै स्पान भएको लामो भोलुङ्गे पुल भने कञ्चनपुरको दोधरा चाँदनीमा रहेको छ । उक्त पुलको लम्बाई भने १ हजार ४ सय ५३ मिटर रहेको छ ।
निर्माण सम्पन्न गर्नुपर्ने अवधिभन्दा १० महिना अगाडि २०७७ वैशाख २० गतेदेखि सञ्चालनमा आएको भोलुङ्गे पुल आन्तरिक पर्यटकको आकर्षकको केन्द्र बनेको छ । एकपटक ६१२ जना पैदल यात्रीले आवतजावत गर्न सक्ने पुलमा फोटो खिच्नेको भिड हुनेगर्छ ।
पर्यटन व्यवस्थापनको सिद्दान्त अनुसार एउटा मात्रै पर्यटकीय गन्तव्य पर्यटकको संख्या बढाउन पर्याप्त हुदैन । कुनै पनि क्षेत्रमा पर्यटकको बसाईं अवधि र खर्च बढाउनका लागि एकभन्दा बढी गन्तव्य विकास गर्नुपर्छ ।
संसारको धेरै पर्यटक पुग्ने देश फ्रान्समा पनि सबै गन्तव्यमा पर्यटकको संख्या समान हुँदैनन् । आइफिल टावर हेर्नु पर्यटक फ्रान्स जाने गर्छन् । तर, आइफिल टावर वरपर विकास भएका विभिन्न गन्तव्यमा पर्यटकीय गतिविधि हुँदा रोजगार बढ्नुका साथै पर्यटनको दायरा बिस्तार भएको छ ।
कुस्माका हकमा यो सिद्दान्त लागू भएको छ । द क्लिफले पर्वतको कुस्मामा बञ्जी र स्वीङ शुरु गरेको लाभ बाग्लुङको कालिका मन्दिरमा फूल बिक्री गर्ने समेतले पाएका छन् ।
कालिका मन्दिर बाहिर फूल बिक्री गर्दै आएकी सरिता पौडेल पछिल्लो केहीदेखि कालिका मन्दिर पुग्ने युवाको संख्या पनि बढेको बताउँछिन् ।
‘कालिका मन्दिरको महत्व त पहिलेदेखि नै हो । नवरात्रीमा जहिल्यै भिडभाड हुने गर्दथ्यो,’ उनले भनिन्, ‘कुस्मामा बञ्जी शुरु भएपछि त कालिका दर्शनका लागि युवाहरु पनि पुग्न थालेका छन् । दर्शन गर्नेको संख्या विगतभन्दा संख्या बढेको छ ।’
पोखरामा राति बस्ने, बिहानै पर्वत जाने र बञ्जी वा स्वीङ गर्दै फेरि पोखरा फर्कने टे«ण्ड चलेपछि द क्लिफले नै कुस्मामा कैयौं प्रडक्ट थप गरेको छ ।
सबै व्यक्तिले बञ्जी र स्वीङ गर्न नसक्ने हुँदा पिङ, स्काई चेयर, स्काई साइकिलिङ, स्काई क्याफे लगायतका प्रडक्ट द क्लिफले थप गरेको छ ।
कुस्माको बञ्जी नेपालको सबैभन्दा उचाईको र संसारको दोस्रो उचाइमा रहेको छ । यस्तै कुस्माको स्वीङ संसारको धेरै उचाइमा छ ।
त्यति मात्रै होइन, कुस्मामा केबुलकार जस्तै लाग्ने यान्त्रिक पुलबाट कालिगण्डकी नदि पार गर्ने सुविधा पनि छ । २०६९ फागुन २१ बाट औपचारिक रुपमा सञ्चालनमा आएका यान्त्रिक पुलमा ४ सय ६२ जना सर्वसाधारणले लगानी गरेका छन् ।
पर्वतको कुस्मालाई बाग्लुङको बलेवासँग जोड्न यान्त्रिक पुल सञ्चालनमा ल्याएको थियो । यान्त्रिक पुल निर्माण सँगै बागलुङको बलेवा क्षेत्रका बासिन्दाको कुश्माबजारसँग पहँुच स्थापना भएको थियो । पछिल्लो समय त यान्त्रिक पुलबाट कालिगण्डकी नदी तर्ने पर्यटकको संख्या पनि बढेको छ ।
यति मात्रै होइन, विश्वको दोस्रो लामो दाबी गरिएको जिपलाइन पनि कुस्मामै छ ।
साहसिक खेलका लागि नेपालको उत्कृष्ट पहिचान कुस्माले बनाउन लागेको छ । प्यारागलाईडिङ, रक कलाम्बिङ जस्ता प्रडक्ट पनि कुस्मामा थपिने क्रममा छन् । कालिगण्डकी नदिको जलयात्रालाई निकै रोचक मानिने गर्छ । ११५ मिटर अग्गो महाभिर झरना क्यानोनिङको सम्भावना छ ।
पर्वत बाग्लुङको सीमा मालढुंगादेखि कालिगण्डकी जलविद्युत आयोजनाको ड्याम स्थल मिर्मिसम्म ३ दिनको र्याप्टिङ पनि विदेशी माझ निकै चर्चित प्रडक्ट हो । तर, कोरोना महामारीपछि विदेशी पर्यटकको संख्या घट्दा यस रुटमा लामो र्याप्टिङ बन्द भएको छ । विदेशी पर्यटकबीच चर्चित तीन दिनसम्म खोलामा बसेर गर्ने र्याप्टिङ साहसिक खेल रुचाउने व्यक्तिलाई बिक्री गर्न सकिने सम्भावना छ ।
पर्वत जिल्लाको कुस्मामा निर्माण भएको सुपरम्यान शैलीमा विश्वकै दोस्रो लामो जिपलाइन भएको दाबी कम्पनीको छ ।
गत जनवरी १ बाट हार्नेस प्रालिले सञ्चालनमा ल्याएको जिपलाइन, रिसोर्टलगायतका प्रडक्ट निर्माणमा १५ करोड रुपैयाँ खर्च भइसकेको कम्पनीले जनाएको छ । कालीगण्डकी नदीको सतहदेखि २५० मिटरको उचाइबाट शुरु हुने जिपलाइनको लम्बाइ १४ सय ८० मिटर हुन्छ ।
सुपरम्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन भने दुबइमा छ । कुस्माको अर्काे प्रडक्ट हो, गुप्तेश्वर महादेब ।
उद्योग वाणिज्य संघ पर्वतको अगुवाइमा गुफा रहेको स्थानमा शिव पार्वतीको संसारमै ठूलो मूर्ती बनाउन लागिएको छ । यो ठाउँ पनि सञ्चालनमा आयो भने पर्यटकका लागि २/३ घण्टा घुम्ने नयाँ प्रडक्ट सञ्चालनमा आउँछ ।
१२०० मिटर लामो र ५० मिटर चौडा गुफामा परापूर्वकालमा पार्वतिले तपस्या गरेको र पार्वतीको तपस्याबाट खुशी भई गुफामा महादेब आई पार्वतीलाई बरदान दिएपछि जनविश्वास छ । उक्त घटनाबाट यो गुफाको नाम गुप्तेश्वर गुफा रहन गएको विश्वमा कुस्माका जनतामा छ ।
कालिगण्डकी नदी मात्रै फोहर हुने र बाहिरी लगानीकर्ताले मात्रै लाभ हुने अवस्था रहयो भने स्थानीयले विरोध वा अवरोध गर्न सक्छन् । त्यसैले लगानीकर्ताले पनि स्थानीय जनतालाई पर्यटकीय गन्तव्यको लाभ वितरणमा कसरी जोड्ने भन्ने योजना बनाउनु पर्छ ।
स्थानीय सरकारले गर्नुपर्ने काम, स्थानीय उद्योमीलाई तालिम दिएर कुनै स्थानीय उत्पादन प्रयोग गर्दै बहुउपयोगी उपाहार बनाउन सिकाउनु पर्छ । तर, स्थानीय सरकारले यसतर्फ खासै ध्यान दिन सकेको छैन ।
जस्तो भारतको राजस्थानमा पर्यटकीय गन्तव्यमा शंखमर्मरको खल बिक्रीमा राखिने गर्छन् । राजस्थानमा शंखमर्मर पाइने हुँदा त्यहाँ पुग्ने पर्यटकले खल उपाहारका रुपमा लैजाले गर्छन । जसले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्छ ।
कुस्मामा पनि पर्यटकीय गन्तव्य विकासको क्रममा छ । यदी पर्यटकिय गन्तव्य व्यवस्थापना दिगो पर्यटन विकासको अवधारणालाई कार्यान्वयन गर्न सकिएन भने कुस्माको पर्यटन पनि दिगो नहुने र पर्यटनबाट त्यहाँ लगानी गरेका व्यक्ति पनि दीर्घकालीन लाभ नपाउने सम्भावना हुन्छ ।
दिगो पर्यटन विकासका लागि वातावरण संरक्षण, स्थानीय संस्कृति संरक्षण र आर्थिक लाभ वितरण एकै साथ प्राथमिकतामा पर्नुपर्छ । यदि लगानीकर्ताले मात्र आर्थिक लाभ पाउने र स्थानीय जनताले पर्यटकले गरेको फोहर मात्रै देख्ने अवस्था हुने हो भने कुस्माको पर्यटन दिगो बन्ने बाटोमा जाने छैन ।