एक वर्षमा बीमा कम्पनीहरुको व्यवस्थापन खर्च ७ प्रतिशतले बढ्यो



काठमाडौं । बीमा कम्पनीहरुको व्यवस्थापन खर्च बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा बीमा कम्पनीहरुले व्यवस्थापन खर्च शिर्षकमा ६ अर्ब २२ करोड ३८ लाख रुपैयाँ खर्च गरेका छन् ।

जुन गत आवको यसै अवधिको तुलनामा ४२ करोड २९ लाख रुपैयाँले बढी हो । अर्थात्, ७.२९ प्रतिशतले बढेको हो ।

गत आवको यसै अवधिमा बीमा कम्पनीहरुले व्यवस्थापन खर्चमा ५ अर्ब ८० करोड ९ लाख रुपैयाँ खर्च गरेका थिए ।

बीमा कम्पनीका शाखा कर्यालय थपिँदा, कर्मचारीको तलब भत्ता, अभिकर्ताले पाउने इन्सेन्टिभ र विज्ञापन खर्च लगाएतका शिर्षकमा हुने खर्च वृद्धि हुँदा व्यवस्थापन खर्च समेत बढ्न गएको हो ।

व्यवस्थापन खर्च अन्तर्गत कर्मचारीको तलब भत्ता, अभिकर्ताले पाउने इन्सेन्टिभ, विज्ञापन खर्च, कम्पनीको केन्द्रिय तथा शाखा कार्यालयको घर भाडा लगायत कम्पनीका प्रत्यक्ष खर्चहरु समावेश गरिएको हुन्छ ।

तर, व्यवस्थापन खर्च शिर्षकमा अभिकर्ताले पाउने कमिसन तथा बीमितको स्वास्थ्य परिक्षण खर्चलाई भने समावेश गरिदैन ।

बीमा समितिले उपलब्ध गराएको तथ्यांकअनुसार चालु आवको पुसमसान्तसम्ममा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीले व्यवस्थापन खर्च शिर्षकमा ४ अर्ब १६ लाख रुपैयाँ खर्च गरेका छन् ।

गत आवको यसै अवधिमा जीवन बीमा कम्पनीहरुले व्यवस्थापन खर्च शिर्षकमा ४ अर्ब १९ करोड ५३ लाख रुपैयाँ खर्च गरेका थिए ।

यस्तै, यस अवधिसम्ममा निर्जीवन बीमा कम्पनीले व्यवस्थापन खर्चमा २ अर्ब २२ करोड २२ लाख रुपैयाँ खर्च गरेका छन् ।

गत आवको यसै अवधिमा निर्जीवन बीमा कम्पनीहरुले एक अर्ब ६० करोड ५५ लाख रुपैयाँ मात्रै खर्च गरेका थिए ।

यस अवधिमा जीवन बीमा कम्पनीतर्फ व्यवस्थापन खर्च शिर्षकमा धेरै रकम नेपाल लाइफले खर्च गरेको छ ।

सबैभन्दा धेरै नेपाल लाइफले ४७ करोड ९६ लाख २२ हजार रुपैयाँ व्यवस्थापन खर्चमा खर्चेको छ ।

गत आवको यसै अवधिमा कम्पनीले व्यवस्थापन खर्च शिर्षकमा ४३ करोड २६ लाख १७ हजार रुपैयाँ खर्च गरेको थियो ।

यस्तै, एलआइसी नेपालले २९ करोड ९३ लाख ४५ हजार रुपैयाँ खर्च गरेको छ ।

निर्जीवन बीमा कम्पनीतर्फ भने शिखर इन्स्योरेन्सले व्यवस्थापन खर्च शिर्षकमा २० क्रोड ५४ लाख रुपैयाँ खर्च गरेको छ ।

लगानी, कर्जा तथा पुनर्बीमा कमिशन आयबाट बीमा कम्पनीले २० अर्ब कमाए

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा सञ्चालनमा रहेका बीमा कम्पनीहरुले २० अर्ब ४६ करोड २४ लाख रुपैयाँ आम्दानी गरेका छन् ।

समितिले उपलब्ध गराएको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशन आय, लगानी, कर्जा तथा अन्य आय र बीमालेख धितोमा कर्जा प्रवाह गरी १७ अर्ब २५ करोड ६७ लाख रुपैयाँ आम्दनी गरेका छन् ।

यस अवधिमा जीवन बीमा कम्पनीहरुले पुनर्बीमा कमिशन आयबाट ५ करोड १६ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्य आयबाट १४ अर्ब ४८ करोड ६ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट २ अर्ब ७२ करोड ४३ करोड रुपैयाँ आम्दानी गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले यस अवधिमा पुनर्बीमा कमिशन आयबाट २ अर्ब ३८ करोड ९६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्य आयबाट ८१ करोड ६० लाख रुपैयाँ आम्दानी गरेका छन् ।


क्लिकमान्डु