राष्ट्र बैंकको एक्सनले एक महिनामा १२ अर्बले घट्यो आयात



काठमाडौं । उच्च आयातले देशको शोधानान्तर स्थिति खस्किँदै गएपछि राष्ट्र बैंकले लिएको एक्सनका कारण पछिल्लो एक महिनामा १२ अर्ब रुपैयाँले आयात घटेको छ । राष्ट्र बैंकले उच्च रुपमा आयात हुन थालेपछि कडाइ गरेको थियो ।

चालु आर्थिक वर्षको शुरुवातदेखि नै उच्च रुपमा चाँँदी आयात हुँदा सरकारले भन्सार शुल्क बढाउनेदेखि वैदेशिक मुद्रा सटहीमा कडाइ गरेको थियो । जसले गर्दा पछिल्ला दिनमा चाँदी आयात निकै कम भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, उक्त चाँदीको आयातको कडाइले मात्रै कम नभएपछि राष्ट्र बैंकले गत पुस ५ गते परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतितपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन र २ वटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।

नेपाल राष्ट्र बैंकले विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि ती वस्तुको आयात घटेको छ । सरकारले गत पुसमा लागू गरेको नीतिको प्रभाव बिस्तारै देखिन थालेको छ ।

साथै, पछिल्लो समयमा सरकारले गत माघ २८ गते थप २७ वस्तुमा नगद मार्जिनको व्यवस्था गरेको छ । उक्त व्यवस्थाले आगामी दिनमा झन कम आयात हुनेछ ।

सामान्य अवस्थामा मासिक डेढ खर्ब रुपैयाँबढीको आयात हुँदै आएकोमा माघ महिनामा नगद मार्जिनको व्यवस्थाले आयात मूल्य डेढ खर्ब पुग्न सकेको छैन ।

राष्ट्र बैंकले गत पुसमा लागू गरेको नगद मार्जिनको व्यवस्थाले माघ महिनामा आयात ह्वात्तै घटेको हो । माघ महिनामा नेपालले १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँको मात्रै आयात भएको छ । जुन चालु आर्थिक वर्षको कुनै पनि महिनाको तुलनामा कम हो ।

चालु आर्थिक वर्षको साउन महिनामा १ खर्ब ५० अर्ब ७३ करोड, भदौमा १ खर्ब ६३ अर्ब ७८ करोड, असोजमा १ खर्ब ६४ अर्ब र कात्तिकमा १ खर्ब ७१ अर्ब ७७ करोड मंसिर महिनामा १ खर्ब ८८ अर्ब ११ करोड रुपैयाँको आयात भएको थियो ।

उक्त तथ्याङ्क हेर्दा हरेक महिना आयातको ग्राफ बढ्दो देखिन्छ । तर, पुसमा लागू भएको मार्जिनको व्यवस्थाले सोही महिनाबाट आयात कम भएको छ । पुसमा नेपालले १ खर्ब ६० अर्ब ९३ करोड रुपैयाँको वस्तु आयात गरेको थियो ।

४ अर्बले घट्यो राजस्व
उच्च रुपमा आयात हुँदा सरकारले पनि लक्ष्यभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो । कतिपय अवस्थामा भन्सार कार्यालयहरूले लक्ष्यभन्दा बढी राजस्व संकलन पनि गर्दै आएका थिए ।

तर, अहिले सरकारले आयातमा कडाई गर्दै गएपछि भन्सार लक्ष्यमा पनि धक्का पुगेको विभागको भनाइ छ । साथै, भन्सार विभागको तथ्याङ्कले पनि भन्सार महसुल संकलनमा कमी आएको स्पष्ट देखाउँदछ । जसमा माघ महिनामा मात्रै सरकारले पुस महिनाको तुलनामा ४ अर्बले कम राजस्व संकलन गरेको छ ।

सरकारले मंसिर महिनामा ४४ अर्ब ७० करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । त्यस्तै, राजस्व संकलनमा पुस महिनामा ४ अर्बले घटेर ४० अर्ब २७ करोड ३८ लाख रुपैयाँ सिमित भएको थियो ।

त्यस्तै, सरकारले झन कडाई गरेपछि संकलित भएको राजस्वबाट पनि माघ महिनामा ४ अर्बले घटेको देखिन्छ । सरकारले माघ महिनामा ३६ अर्ब ७ करोड ६५ लाख रुपैयाँ मात्रै राजस्व संकलन गर्न सफल भएको छ ।

यी हुन् आयात गर्दा मार्जिन लागू गरेको वस्तु
राष्ट्र बैंकले यसअघि नै चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामाग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर जस्ता वस्तु आयातगर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको हो ।

साथै, गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो । हाल राष्ट्र बैंकले पुनः आयातमा कडाई गर्दै थप २४ वस्तुमा शतप्रतिशत र ३ वस्तुमा ५० प्रतिशत मार्जिन लागू गरेको छ ।

सरकारले सी फूड, दुधको धुलो, अण्डा, गुलाफलगायतका फूल, सु्केको तरकारी, सुपारी, केरा, छोकडा, मरिच, ससेज, कोका पाउडर, अचार सोया सस, जुस, कुकुरका खानालगायत पिठो, प्लास्टिकको सामान, ट्वाइलेट सप र अन्य, मेडिकल पञ्जा, एप्रोन र अन्य, ह्यान्ड ब्याग, कार्पेट, पर्दा, ब्लयाङ्केट, सुनका गरगहना, विद्युतीय घडी, जाम, सस, भेनेगर, जुस, बेकिङ पाउडर, रेडिमेड गार्मेन्ट, टेक्सटायल तथा कार्पेट, ब्लेडलगायत धारिलो पदार्थ, बस्नका लागि प्रयोग हुने कुर्सीलगायत अन्य वस्तुको आयातमा कडाइ गरेको छ ।


अरिष्मा मोक्तान