बिहारबाट खाली हात मुम्बई पुगेका अनिल अग्रवालले यसरी खडा गरे ४ खर्बको वेदान्ता साम्राज्य



एजेन्सी । भाग्य र कर्मले मानिसलाई कहाँबाट कहाँ पुर्याउँछ भन्ने कुराको कुनै ठेगान छैन । इमान्दार भएर आफ्नो कर्ममा लाग्यो भने एक न एक दिन सफल भएरै छाडिन्छ ।

केवल सपना देखेर मात्रै नबस्दा वा सपनालाई कार्यान्वयन गर्न लागिपर्दा त्यसले एक न एक दिन सफलताको शिखरमा पुर्याउँछ नै । भारत यस्तो देश हो, जहाँ सानो गाँउबाट उठेका मानिसले पनि सफलताको मिठो स्वाद चाख्न पाएका छन् ।

एक अर्ब ३५ करोड जनसंख्या भएको भारतका केही एकाध मानिसले पाएको सफलताको कथा आफैंमा आम विश्वका लागि पनि एउटा उदाहरण बन्ने गरेको छ ।

सत्कर्म, इमान्दार प्रयास भएपछि भाग्यले कहिल्यै ठग्न सक्दैन । सफलता भाग्यको रेखामा होइन, कर्मको गोरेटोमा कोरिएको हुन्छ । मानिसहरु भाग्यलाई दोष दिएर आफ्नो क्षमता र योग्यताको समेत नजरअन्दाज गरेर बसिरहेका हुन्छन् । तर, केही मानिस भने कर्ममा लाग्छन्, त्यसैमा डुब्छन् र सफलताको मोती लिएर फर्कन्छन् ।

त्यस्तै एक सफल भारतीय व्यवसायीको बारेमा जानकारी दिने प्रयास गरिएको छ । उनले आफ्नो सत्यकथाको बारेमा सामाजिक सञ्जाल ट्वीटरमा जानकारी साझा गरेपछि यो विषय राम्ररी नै गर्माएको छ ।

नेपालको सीमा जोडिएको बिहार राज्यबाट खाली हात सहर पसेका अनिल अग्रवालले पाएको सफलता आफैमा आम मानिसका लागि उदाहरणीय बनेको छ । उनको बदलिएको भाग्य र चम्किएको नाम आम बिहारका लागि मात्रै होइन, बिहार जस्तै अन्य राज्यका मानिसका लागि समेत प्रेरणाको स्रोत बनेको छ ।

खासमा उनले १५ वर्षमै पढाइ छोडेका थिए । केही काम नपाएपछि उनले फोहोर समेत बेचेका थिए ।

तिनै फोहोर बच्ने अनिलले पाएको सफलता र आज उनको कम्पनीको नाममा बनेको ३.९ अर्ब डलर बराबरको पोर्टफोलियो आफैमा अर्को अच्चम लाग्ने विषय बनेको छ । फोर्ब्सको विवरण अनुसार अनिल अग्रवालले २१ हजार करोड भारु बराबर त दानमै खर्चिएका छन् ।

व्यवसायी अनिल अग्रवाल आफ्नो समूहका दुई कम्पनी मर्जरको घोषणा केही वर्ष अगाडि गरेका थिए । उनको सो घोषणासँगै कर्पोरेट जगतमा असाध्यै ठूलो चर्चा भएको थियो ।

विवरणहरुमा जनाइए अनुसार सन् २००७ मा बनेको तेल र ग्यास अन्वेषण कम्पनी केयर्न इन्डियालाई प्राकृतिक स्रोत कम्पनी वेदान्त लिमिटेडसँग गाभियो ।

बिजनेस टाइकुनको सूचीमा परेका वेदान्त समूहका अध्यक्ष अनिल अग्रवाललाई कुनै परिचयको आवश्यकता छैन । उनी खासमा बिहारका हुन् । बिहारमा अझै पनि बिजुली बत्ती बाल्न नपाउने करोडौं मानिस छन् । ठूलो रुख मुनी बसेर पढ्ने छात्र छात्राको संख्या हजारौमा छ ।

कबाडी वा फोहोरबाट संकलन हुने सामग्रीको व्यवसायबाट आफ्नो व्यवसायिक जीवन शुरु गरेका उनले सानो व्यवसायबाट पनि सफलताको उचाइमा पुग्न सकिन्छ भन्ने स्थापित गरेका छन् ।

उनले शुरु गरेको खानी तथा धातुको सबैभन्दा ठूलो व्यापारी बन्ने आफ्नो यात्रामा धेरै उतारचढाव देखेका छन् । आज उनी झण्डै ४ खर्बको मालिक बन्न पाएका छन् ।

उनका कम्पनीले भारतमा जिंक, तामा र आल्मुनियमका सबैभन्दा ठूलो उत्पादकको रुपमा हिस्सा बनाएको छ । आफ्नो कूल सम्पत्तिको ७५% सम्पत्ति दान गर्ने घोषणाले उनको महानतालाई पनि स्पष्ट पारेको भारतीय मिडियाहरुको विवरणमा समेटिएको छ ।

वेदान्त रिसोर्सेसका समेत मालिक रहेका अनिल अग्रवालले लन्डन स्टक एक्सचेन्जमा कम्पनीको सूचीकरणको १०औं वार्षिकोत्सव मनाउने क्रममा केही वर्षअघि आफ्नो सम्पत्तिको ७५ प्रतिशत दान दिने घोषणा गरेका थिए ।

यो चन्दाको पछाडि उनको व्यक्तिगत सोचको बारेमा धेरै पटक भनिएको थियो, पैसा नै सबै कुरा होइन, म कमाएको पैसा समाजलाई फिर्ता गर्न चाहन्छु । विश्वको सबैभन्दा धनी बिल गेट्सलाई भेटेपछि उनको परोपकारको विचारलाई बढावा मिलेको बताइन्छ ।

पटनामा जन्मे र हुर्केका अनिलले मिलर हायर सेकेन्डरी स्कूलमा पढे । तर १५ वर्षको उमेरमा आफ्नो बुबाको व्यापारका लागि स्कूल छोडे र पहिले पुणे र त्यसपछि मुम्बई गए ।

कबाडी संकलन गर्ने डिलरबाट करिअर शुरु गरेका उनी आज देशकै शीर्ष व्यापारीको सूचीमा परेका छन् ।

उनी धातु तथा तेल तथा ग्यासको व्यवसायमा संलग्न छन् । अनिलले सन् १९७० मा कबाडीबाट संकलन हुने धातुको व्यवसाय शुरु गरेका थिए । सन् १९७६ मा उनले शैमशायर स्टर्लिङ कर्पोरेशन समेत खरिद गरेका थिए ।

अनिल अग्रवालले ट्वीटरमा आफना पूराना दिनहरुको स्मरण सार्वजनिक गरेका छन् । उनले लेखेका छन् कि ‘करोडौं मानिस आफ्नो भाग्य र भविष्यको खोजीका लागि मुम्बई आउँछन् । म पनि त्यस्तैमध्येको एक थिए । जो भाग्य खोज्न बिहारबाट मुम्बई पुगेको थिए ।’

उनले भनेका छन्, ‘मलाई त्यो दिनको याद छ, मेरो साथमा केवल एउटा टिफिन बक्स र ओढ्ने ओच्छ्याउने कपडा मात्रै थियो । त्यसको साथमा आँखामा सपना थियो । उनले स्मरण गर्दै अगाडि भनेका छन्, ‘म भिक्टोरिया टर्मिनल स्टेशन पुगे र पहिलो पटक कैउौं चिज देखेको थिए । हाम्रो बिहारमा कहाँ पाउनु ती सबै कुरा ।’

मुम्बईमा नै उनले पहिलो पटक ट्याक्सी देखेका थिए । डबल डेकर बस पनि यहीँ देखे । यी सबै चिज उनले आफूले फिल्ममा मात्रै देख्ने गरेका थिए ।

उनी स्मरण गर्छन्, ‘मैले युवालाई कडा मेहनतका साथ काम गर्न प्रेरित गर्छु । ताकि उसले सफलताको शिखर छुन सकोस् । यदि तपाईं खास लक्ष्य तय गरेर नै पहिलो पाइला सार्नुहुन्छ भने तपाई लक्ष्यमा वा सफलताको खास शिखरमा उक्लिन सक्नुुहुन्छ नै ।’

उनले सन् १९८० को दशमा नै उनले स्टरलाइट इन्डस्ट्रिज स्थापना गरेका थिए । स्टरलाइट सन् १९९० मा तामाको प्रशोधन गर्ने देशको पहिलो निजी कम्पनी बन्न पुगेको थियो ।

सोही कम्पनी अगाडि बढ्दै जाँदा वेदान्ता रिर्सोसेज लिमिटेड वा आज भोलिको भाषामा भन्दा बेदान्ता समूह बन्न पुगेको हो । वेदान्ता समूह आजको सन्दर्भमा सबैभन्दा बढी खनिज उत्खनन् गर्ने कम्पनीमध्यको एक हो ।

सो कम्पनीले फलामको धाउ, एल्मुनियमको साथ साथै कच्चा तेल उत्पादन गर्ने काम समेत गर्दछ । आज वेदान्ता लिमिटेडको बजार पूँजीकरण मात्रै १.३६ लाख करोड भारु बराबर रहेको छ । फोब्र्सले असाध्यै दुःखबाट हुर्केको एक प्रेरणादायी अर्बपतिको रुपमा अनिल अग्रवाललाई चिनाएको छ । इमान्दार प्रयास गरेको खण्डमा सफल हुन सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन् ।

वेदान्त समूहले भारतीय पेट्रोलियम खरिद गर्ने तयारी समेत गरेको छ । सो सरकारी कम्पनीको खरिदका लागि मात्रै १२ अर्ब डलर बराबरको प्रस्ताव गरेको छ ।

‘हामी आक्रामक रूपमा बिड गर्दैनौ । तर हामी भारतीय पेट्रोलियमको सही मूल्यमा बोली लगाउँछौ,’ उनले भनेका छन् ।

झण्डै दुई वर्षको लामो प्रतिक्षापछि अन्ततः बीपीसीएल भारत पेट्रोलियमको निजीकरणको प्रक्रिया पूरा हुने आशा बढ्दै गएको छ । वेदान्त समूह सो सरकारी कम्पनी प्राप्ति गर्नका लागि १२ अर्ब डलर खर्च गर्न तयार छ । सरकारले भारतीय पेट्रोलियमको ५३ प्रतिशत सेयर बिक्री पूरा गर्न गत सेप्टेम्बरको समयसीमा गुमाएको छ ।

बोलपत्रदाताहरूलाई मेगा अधिग्रहणका लागि साझेदारहरू फेला पार्न र वित्तीय जोखिम फैलाउन गाह्रो भएको थियो । वेदान्त समूहका अध्यक्ष अनिल अग्रवालले भने, ‘हामी आक्रामक रूपमा बिड गर्ने छैनौं, तर उचित मूल्य राख्नेछौं । कम्पनीको मार्केट क्याप लगभग ११ अर्बदेखि १२ अर्ब डलर बराबर छ ।’

अनिल अग्रवालले आशा गरेका छन् कि सरकारले आगामी मार्चमा बीपीसीएलको लागि बोलपत्र खोल्नेछ । वेदान्त समूह बाहेक निजी इक्विटी फर्म एपोलो ग्लोबल म्यानेजमेन्ट र आई स्क्वायर क्यापिटलले पनि सेयर खरिदमा चासो देखाएका छन् ।

११ अर्ब डलरभन्दा बढीको मूल्यांकन जोखिमपूर्ण प्रस्ताव हो । खासगरी सरकारले कतिपय सम्पत्ति कटौतीमा कडा सर्त राख्न सक्छ । पेट्रोल र डिजेलको मूल्य निर्धारणमा हस्तक्षेप गर्छ भनेर केही कडा शर्त राख्न लागिएको बताइएको छ ।

त्यसमा एक रिफाइनरी, एक क्याप्टिभ पोर्ट, एक पावर प्लान्ट र ३ हजार ५०० वटा पेट्रोल पम्प समावेश थिए ।

यसको तुलनामा, बीपीसीएलको सम्झौतामा मुम्बई र कोच्चीमा करिब १९ हजार पेट्रोल पम्प, करिब ६० हवाई इन्धन स्टेशन, एलपीजी बाटतलिङ प्लान्ट, रिफाइनिङ क्षमता पनि समावेश छ । यति मात्र होइन, पेट्रोकेमिकल प्लान्ट र सहरी ग्यास वितरणमा हिस्सेदारीसँगै २० अर्ब डलरको मोजाम्बिक एलएनजी परियोजनामा समेत १० प्रतिशत सेयर समावेश छ ।


क्लिकमान्डु