अज्ञात जोगीले चलाउँदा रहेछन् भारतको सेयर बजार



एजेन्सी । भारतको सामाजिक चरित्र नै जोगीहरुसँग जोडिएको छ । योगीको नाममा गरिने सामाजिक व्यवस्था तथा राजनीतिक चक्रव्यूह पनि जोगीले नै निर्धारण गर्छन् ।

भारतमा जताततै जोगी छन् । कसैले योगीको नाम दिएका छन्, त कसैले जोगी नै भनेर चिनाएका छन् । एउटा योगी त भारतको मुख्यमन्त्री नै छन् ।

उत्तर प्रदेशको मुख्यमन्त्रीमा रहेका योगी आदित्यनाथ भारतको सत्ताको केन्द्रमा छन् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको खास मानिसका रुपमा परिचित छन् । उनी भापजाका भन्दा पनि आरएसएका मानिस हुन् ।

भाजपा र आरएसएको विवादको बाछिटा बेला बेलामा भारतीय राजनीतिमा पर्छ । भारतको सामाजिक चरित्रका बारेमा जानकारहरुका अनुसार भारतमा झण्डै ५ करोड त जोगी नै छन् । कोही खरानी घस्छन् त कोही राजनीतिमा घुस्छन् । खरानी घस्ने र राजनीतिमा घुस्नले दुवैले आफू अनूकूल मानिस परिचालन गर्छन् ।

यस्तै, एउटा अनौठो विवाद भारतको सेयर बजारसँग जोडिएको विषयमा सार्वजनिक भएको छ । भारतमा सेयर कारोबार गर्ने २ वटा बजार छ ।

त्यसमध्येको एक नेशनल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृतले एक नाम नखुलेका जोगीसँग सेयर बजारको बारेमा महत्वपूर्ण सल्लाह गरेको र यतिसम्म की बोर्ड बैठकका एजेण्डा समेत के कस्ता तय गर्ने भन्ने बारेमा समेत विचार विमर्श गर्ने गरेको विवरणहरु समेत सार्वजनिक भएको छ ।

नेशनल स्टक एक्सचेञ्जका ती पूर्वप्रमुख कार्यकारी अधिकृत अज्ञात योगीको हातको कठपुतलीको रुपमा नै क्रियाशिल रहेको समेत भन्ने तिखो टिप्पणी समेत भइरहेको छ ।

नेपालको पनि धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगाना यस्तै एउटा केशमा जागिरबाट हात धुनुपर्यो भने नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत सर्वोत्तम सिमेन्ट प्रकरणमा कार्यवधि बाँकी हुँदै राजीनामा दिएर हिड्नुपर्यो ।

विवरणहरुमा जनाइए अनुसार भारतीय सेयर बजार नियामकले देशको सबैभन्दा ठूलो एक्सचेन्जका पूर्वप्रमुख (सीईओ)ले एक योगीसँग गोप्य जानकारी साझा गरेको र उनको सल्लाहमा धेरै महत्ववपूर्ण निर्णयहरू गरेको बताइएको छ ।

भारतीय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड (सेबी) ले नेशनल स्टक एक्सचेन्ज (एनएसई) प्रमुखको रूपमा आफ्नो कार्यकालमा चित्रारामकृष्णले हिमालयमा बस्ने एक आध्यात्मिक जोगीसँग महत्वपूर्ण विषयमा परामर्श गरेको बताएको छ ।

चित्रा रामकृष्णलाई योगीसँग व्यापार योजना, बोर्ड बैठकको एजेन्डा र वित्तीय अनुमानहरू साझा गरेको आरोप लागेको छ । तर ती जोगी को हुन् भन्ने बारेमा भने कुनै पनि जानकारी सार्वजनिक गरिएको छैन ।

चित्रा रामकृष्णले सन् २०१६ मा नेशनल स्टक एक्सचेन्जबाट राजीनामा दिएकी थिइन् ।

सेबीले भनेको छ कि उनीहरूले अहिलेसम्म जम्मा गरेका कागजातहरूले योगीले स्टक एक्सचेन्जलाई पछाडिबाट चलाइरहेको स्पष्ट देखिन्छ । जबसम्म चित्रा रामकृष्ण आफ्नो पदमा रहिन् उनी जोगीको हातको कठपुतली मात्र थिइन् ।

सेबीका अनुसार एनएसईको वित्तीय र व्यापारिक योजनाहरू अरू कसैसँग साझा गर्नु आफैमा दुर्भाग्यपूर्ण छ । यो अकल्पनीय पनि छ । यो त्यस्तो कार्य हो जसले एनएसईको जग नै हल्लाउन सक्छ । भयो पनि त्यस्तै ।

सेबीले चित्रा रामकृष्णलाई ३ करोड रुपैयाँ जरिवाना गरेको छ । उनलाई अन्य कुनै एक्सचेन्जमा काम गर्न पनि तीन वर्ष प्रतिबन्ध लगाइएको छ । यससँगै सेबीमा दर्ता भएको कुनै पनि संस्थामा मध्यस्थकर्ताका रूपमा काम गर्न समेत उनलाई तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

सेबीले योगीसँग सम्बन्धित इमेलमा पठाएको इमेलको कुनै प्रतिक्रिया पाउन सकेको छैन । सेबीले योगीको बारेमा अन्य कुनै जानकारी दिएको पनि छैन । सेबीले उनी हिमालयमा कतै बसेको हुनसक्ने मात्र बताएको छ । समपूर्ण विवरण भने खुलाइएको छैन ।

सेबीलाई दिएको जानकारीमा चित्रा रामकृष्णले करिब दुई दशकअघि योगीसँग गंगा नदीको किनारमा भेट भएको बताएकी छन् ।

उनले सोही समय देखि योगीसँग धेरै महत्वपूर्ण व्यक्तिगत र व्यावसायिक मामिलामा सल्लाह गरिरहेको र त्यो आफूहरुबीचको कुरा भएको बताउने गरेकी छिन् ।

‘हामीलाई थाहा छ कि हाम्रा वरिष्ठ नेताहरूले अनौपचारिक रूपमा आफ्ना प्रशिक्षकहरू, उनीहरूका सल्लाहकारहरू वा उद्योगका वरिष्ठ व्यक्तिहरूसँग पनि सल्लाह गरिरहेका छन् । त्यसैले मलाई उनीसँगको सल्लाहले मेरो भूमिका अझ राम्रो निभाउन सक्छु भन्ने लाग्यो । मैले सोही अनुसार गरे । मैले त्यसमा कुनै अपराध गरेको छैन ।’

‘नेताहरु तथा कर्मचारीले पनि गुप्त रुपमा को कसले सल्लाह लिन्छन् र कसको लागि कस्तो काम गर्छन् भन्ने कुरा त बेला बेलामा पत्रपत्रिकामा आएकै छन्, अनि मलाई मात्र तारो किन बनाइएको छ,’ उनले भनेकी छन् ।

सेबीले चित्रा रामकृष्णले जे गरिन त्यो नियम र कानूनको गम्भीर उल्लङ्घन भएको जनाएको छ । उनको कुनै पनि त्यस्ताृ कार्यले बजारलाई कुनै क्षति पुर्याएको छैन भन्ने उनको भनाइ बेतुकको भएको बताएको छ ।

नियामकहरूले एनएसईको प्रारम्भिक अनुसन्धानका क्रममा यी आध्यात्मिक जोगी र चित्रा रामकृष्णले पठाएको इमेल प्राप्त गरेको बताएको छ ।
चित्रा रामकृष्ण सन् १९९० को प्रारम्भमा नेशनल स्टक एक्सचेन्ज शुरु गर्ने कर्मचारी मध्येकी एक थिइन् । सन् २०१६ मा स्टक एक्सचेन्जबाट राजीनामा दिँदा, रामकृष्णले भनेका थिइन मैले व्यक्तिगत कारणले राजीनामा दिइरहेको छु । अरु कुनै कारण छैन ।

देशको सबैभन्दा ठूलो स्टक एक्सचेन्जमा नाम नखुलेका ‘आध्यात्मिक गुरु’सँग परामर्श गरेर महत्वपूर्ण निर्णय लिइएको खबर आएपछि भारतीय सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । मानिसहरूले यसलाई अकल्पनीय र डरलाग्दो भनेका छन् ।

कतिपयले यो एउटा कथा हो जसमा सिरियल बनाउन सकिने पनि बताएका छन् । यो खबरलाई लिएर आमजनतामा आक्रोश भइरहेका बेला भारतीय शेयर बजार नियामकको अनुसन्धानले देशको सबैभन्दा ठूलो स्टक एक्सचेन्ज एनएसईमा कर्पोरेट गभर्नेन्सको नियमलाई कडाइका साथ पालना नभएको विज्ञहरुले विश्वास व्यक्त गरेका छन् । यो खासगरी दुर्भाग्यपूर्ण छ । किनभने यी स्टक एक्सचेन्जहरूमा सूचीकृत भएका कम्पनीहरूसँग कडा नियमहरू छन् जुन तिनीहरूले पालना गर्नुपर्छ । तर त्यसको व्यवस्थापन गर्ने निकायको प्रमुख नै यस्तो कानून तोड्ने काममा लागेपछि कस्को विश्वास गर्ने भन्ने प्रश्न यहाँ जोडिएर आएको छ ।

भारतका प्रसिद्ध खोजी पत्रकार सुचेता दलालले यसलाई ‘विश्वस्तरीय कलंक’ भनेकी छन् । सुचेता पुस्तक ‘एब्सोल्युट पावरः द इनसाइड स्टोरी अफ नेशनल स्टक एक्सचेन्जको अमेजिङ सक्सेस’ , लिडिङ टु हब्री, रेगुलेटरी क्याप्चर एन्ड एल्गो स्क्याम’ पुस्तककी सह–लेखिका समेत हुन् ।

नेशनल स्टक एक्सचेञ्जको उदय र यसको कामका बारेमा सो पुस्तकमा विस्तृत रूपमा वर्णन गरिएको छ । यो पुस्तक प्रकाशित भएपछि भारतीय शेयर बजार नियामक सेबीको अनुसन्धान सुरु गरेको थियो, जसमा यो जानकारी अहिले बाहिर आएको छ ।

सुचेता दलालले अनुसन्धान असफल भएको भन्दै संस्थाका पूर्वप्रमुखलाई हिरासतमा लिएर सोधपुछ गर्नुपर्ने बताइन् । थोरै सजाय दिएर छाडिएको भन्दै थप कारवाहीको माग गरिएको छ ।

उनले यस छानबिनको नतिजाको समयमाथि पनि प्रश्न उठाउदै एनएसईको आईपीओ निस्कने बाटो खुलोस् भनेर एनएसईमा नियामकको अनुसन्धान अन्त्य गर्न चाहेको बताए ।

तर यो मामिला छिट्टै टुङ्गिने जस्तो लाग्दैन किनभने अहिलेसम्म यो सम्पूर्ण घटनाको केन्द्रमा रहेका योगीको पहिचान हुन सकेको छैन ।
संस्थागत सल्लाहकार कम्पनी आईआईएएसका संस्थापक अमित टण्डनका अनुसार यो घटनाले देशमा अझ बलियो ‘व्हिसल ब्लोअर’ को आवश्यकता रहेको संकेत गरेको छ ।


क्लिकमान्डु