बैंकहरुको पुँजीकोष सहज बनाउन हकप्रदको विकल्पमा राष्ट्र बैंकले प्रयोग गर्नसक्छ यी मौद्रिक औजार



काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार २ वटा वाणिज्य बैंकको प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा कम छ । ४ वटा वाणिज्य बैंकको साढे ८ प्रतिशत नजिक र अरु ४ वटा वाणिज्य बैंकको पुँजीकोष अनुपात १० प्रतिशतभन्दा कम छ ।

राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई प्राथमिक पुँजीकोष नपुगेको भन्दै लाभांश बाँड्न रोक लगाएपछि पुँजीकोष अनुपात चर्चामा छ ।

पुस मसान्तको विवरणअनुसार सबैभन्दा कम पुँजीकोष अनुपात एनआइसी एशिया बैंकको छ । एनआइसी एशिया बैंकको ७.८० प्रतिशत छ । यस्तै माछापुच्छ्रे बैंकको ८.०९ प्रतिशत छ । अहिले माछापुच्छ्रेको पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा माथि छ । एनआइसी एशियाले चैत मसान्तसम्म पुँजीकोष अनुपात साढे ८ प्रतिशत माथि पुर्याएर आगामी वर्ष लाभांश दिने रणनीति लिएको छ ।

राष्ट्र बैंकले यो वर्ष लिएको नीति कार्यान्वयन गरेमो एनआइसी एशियालाई र माछापुच्छ्रे बैंकलाई अगामी वर्ष लाभांश दिन कठिन हुन्छ । अन्य ४ वटा बैंकको पुँजीकोष अनुपात साढे ८ प्रतिशत नजिक रहेको र त्योभन्दा कम जानसक्ने हुँदा लाभांश दिन नसक्ने स्थिति आउनसक्छ ।

नेपाल बैकर्स संघले प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत नजिक भएको हुँदा हकप्रद सेयर जारी गर्न दिन माग गरेको छ । राष्ट्र बैंकले हकप्रद सेयर जारी गर्न नदिएमा बैकर्स संघले दुई खाले ऋणपत्र जारी गर्न दिन माग गरेको छ । बैकर्स संघले कन्र्भटेभल डिबेन्चर (परिवत्र्य ऋणपत्र) जारी गर्न दिन सुझाव दिएको छ । परपेस्युअल डिबेन्चर (चिरस्थायी ऋणपत्र) जारी गर्न दिन माग गरेको हो । यो उपकरण बासेल ३ मा प्राथमिक पुँजीकोष अनुपातमा गणना गर्न मिल्छ । नेपालमा प्रयोगमा नभएपनि विदेशी बैंकमा प्राथमिक पुँजीकोष (टायर १)मा यस्तो प्रयोग हुने गरेको छ ।

परिवत्र्य ऋणपत्र निश्चित अवधीपछि सेयरमा परिणत हुन्छ । सेयरमा परिणत नहुँदासम्म यसरी ऋणपत्रको ब्याज तिनुपर्छ । यस्तै बैकर्स संघले मागेको अर्को उपकरण हो परपेस्युअल डिबेन्चर । यो ऋणपत्र समयसीमा तोकिएको हुँदैन । यसलाई समयसीमा नतोकिएको ऋणपत्रको रुपमा बैंकहरुले जारी गर्न सक्छन् । यसको लागि निश्चित प्रतिशत ब्याजदर तोकिएको हुन्छ ।
बैकर्स संघका अध्यक्ष अनिल उपाध्याय हकप्रद जारी गर्न नदिएमा पुँजीकोष अनुपातलाई सहज बनाउन राष्ट्र बैंकले अन्य उपकरण खोल्ने काम गर्नुपर्ने सुझाव दिएको बताए ।

‘बैंकहरु प्राथमिक पुँजीकोष अनुपात नपुगेको कारण व्यवसाय गर्न कठिन स्थितिमा पुग्ने देखिएको छ, यसलाई सहज बनाउने उपकरण जारी गर्न दिन माग गरेका हौं,’ उपाध्यायले क्लिकमाण्डूसँग भने ।

एनआइसीले मागेको उपकरण नै संघले माग्यो

बैकर्स संघले माग गरेको उपकरण एनआइसी एशिया बैंकले यसअघि नै प्रस्ताव गरेको हो । २ वर्षअघि एनआइसी एशिया बैंकले आफ्नो पुँजीकोष अनुपात साढे ८ प्रतिशतभन्दा कम भएपछि पुँजी बढाउनको लागि हकप्रद जारी गर्न दिन माग गरेको थियो । यसलाई राष्ट्र बैंकले अस्वीकार गरेको थियो ।

यसबाहेक एनआइसी एशिया बैंकले परिवत्र्य ऋणपत्र जारी गर्न दिन माग गरेको थियो । त्यसपछि राष्ट्र बैंकमा एनआइसी एशिया बैंकले परपेस्युअल डिबेन्चर जारी गर्न दिन माग गरेको थियो ।

राष्ट्र बैंकले एनआइसी एशियाले माग गरेको कुनै उपकरण जारी गर्न अनुमति दिएन भने एनआइसी एशिया बैंकलाई लाभांश बाँड्न रोक लगायो । अघिल्लो वर्षसम्म प्राथमिक पुँजीकोष अनुपात नपुगेको एनआइसी एशिया मात्र थियो । यो वर्ष माछापुच्छ्रे बैंक थपियो भने ४ वटा बैंकको साढे ८ प्रतिशत नजिक भयो । एनआइसी एशियाले मागेको उपकरण जारी गर्न नदिएको राष्ट्र बैंकलाई यस पटक भने बैकर्स संघले संस्थागत रुपमा माग्दा थप दवाव भएको छ ।

बैंकरहरुका अनुसार ऋण विस्तार गरेमा असार मसान्तसम्ममा करिब १२ वटा बैंकको पुँजीकोष अनुपात साढे ८ प्रतिशत नजिक हुन्छ ।

‘एनआईसी एशिया बैंकका मात्र पुँजीकोष अनुपात कम भएको होइन, अहिले ४ वटा बैंक साढे ८ प्रतिशतको नजिक छन्, एकवर्षभित्रमा १५ बैंक यसको नजिक पुग्न सक्छन्,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘जुन अवस्था निकै भयावह हुनेछ । त्यसकारण राष्ट्र बैंकले समयमै उपयुक्त औजारको प्रयोग गर्नुको विकल्प छैन ।’

अग्राधिकार सेयर हुनसक्छ बिकल्प

कृषि विकास बैंकको प्राथमिक पुँजीकोष अनुपात पुस मसान्तसम्म १३.९० प्रतिशत छ । वाणिज्य बैंकहरुमा प्राथमिक पुँजीकोष अनुपात बढी हुनेमा स्टाण्डर्ड चार्टर्ड बैंकपछि प्राथमिक पुँजी कोष अनुपात हुनेमा दोस्रोमा कृषि विकास बैंक पर्छ ।

कृषि विकास बैंक पुँजीकोष अनुपातमा सहज हुनुको पछाडि उसँग भएको अग्राधिकरण सेयर एउटा कारण हो । टायर १ क्यापिटलमा अग्राधिकार सेयरलाई जोड्न मिल्छ । कृषि विकास बैंकमा सरकारको ५ अर्ब ४३ करोड रुपैयाँको अग्राधिकार सेयर छ । जसमा कृषि विकास बैंकले नाफा गरेर लाभांश दिएमा ६ प्रतिशत नगद लाभांश सरकारले पाउँछ ।

अग्राधिकार सेयरधनीलाई निश्चित प्रतिशत प्रतिफल दिने वा फरक दिने भन्ने बिकल्प भने हुन्छ । कृषि विकास बैंकले अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत प्रतिफल दिन्छ जुन परिवर्तन हुँदैन ।

कम्पनीले आर्जन गरेको नाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको सेयरलाई अग्राधिकार सेयर भनेर बुझिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण सेयरवालाको भन्दा अग्राअधिकार हुने हुनाले नै यसलाई अग्राधिकार भनिएको हो ।

अग्राधिकार सेयरधनीहरुले आफ्ना हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा बाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । कृषि विकास बैंकमा अग्राधिकार सेयर रहेको हुँदा राष्ट्र बैकले पुँजीकोष अनुपात सहज बनाउनका लागि यो उपकरणसमेत जारी गर्न दिनसक्ने सुझाव बैंकरको छ ।

राष्ट्र बैंकले सुझाव नमानेमा के हुन्छ ?

आधा दर्जन वाणिज्य बैंक प्राथमिक पुँजीकोष अनुपात राष्ट्र बैंकको तोकेको नजिक पुगेपछि बैकर्स संघले सहज गर्नका लागि औपचारिक प्रस्ताव गरेको हो ।

यसअघि एनआइसी एशिया बैंकले मागेको उपकरण जारी गर्न नदिएको राष्ट्र बैंकले बैकर्स संघले दिएको सुझाव कार्यान्वयन नगरेमा बैंकहरुलाई मर्जर जाने वा व्यवसाय कम गर्ने मात्र बिकल्प हुन्छ । यो भएमा बैंकहरुलाई ऋण दिने क्षमता कमजोर हुने हुँदा ऋण प्रवाह कम हुन्छ ।

बैंकरहरु पुँजीकोष बढी भएको संस्थासँग कम भएको संस्था मर्जर तथा एक्विजेशनमा गएमा मात्र समस्या समाधान हुने भएपनि मर्जर र एक्विजेशन जटिल देखिएको बताउँछन् । नेपाल इन्भेष्टमेन्ट र बैंक र हिमालयन बैंकको मर्जर भाँडिएपछि मर्जर प्रक्रिया सजिलो नभएको देखिएको छ ।

‘राष्ट्र बैंकले टायर १ क्यापिटलमा देखिएको समस्या समाधान नगरेर ऋण रोकेर बस्नुको बिकल्प हुँदैन, यसले सरकारले लिन खोजेको आर्थिक बृद्धिदरमा समेत प्रभाव पार्छ,’ एक बैंकका सीइओले भने ।


क्लिकमान्डु