बजाज ब्राण्डका पीता राहुल: सत्ता विरोधी भएर पनि १० खर्बका मालिक बने



एजेन्सी । नेपालमा समेत लोकप्रिय ब्राण्डको नाम हो बजाज । बजाजको पल्सर ब्राण्डको मोटर साइकल धेरैको रोजाइ बन्ने गरेको छ । सोही कम्पनीका प्रवद्र्धक एवं विस्तारक राहुल बजाजको शनिबार निधन भएको छ ।

जो सँधै व्यापार व्यवसायमा लागे । तर, इमानमा सम्झौता गरेनन्, सत्ताको चाकडी गरेनन्, जी हजुरी गर्ने फुर्सद भएन उनलाई । जति सफलता पाए आफ्नै बुतामा पाए । मेहनतले नै उनलाई खास ब्राण्डको मालिक बनायो ।

भारतको व्यवसायमा एउटा इमान्दार व्यवसायीको रुपमा उनले जीवन पर्यन्त लागि परे । त्यसैले उनलाई सत्ता विरोधी परिचय बनाएका खास व्यापारी एवं उद्योगीकारुपमा लिइन्छ । शनिबार ८३ वर्षको उमेरमा निधन भयो उनको ।

खासमा उनले भारतीय सत्तासँग सँधै पौंठेजोरी खेले पनि आफ्नो कर्ममा कहिल्यै सम्झौता नगरेका कारण उनी राहुल बजाजको रुपमा स्थापित भइरहे । जीवनको अन्तिम दिनसम्म पनि उनी व्यवसाय, उद्योगको प्रवद्र्धनमै लागे ।

भारतमा यतिबेला सत्ताको आडमा रहेर व्यवसाय गर्ने फेशन चलेको छ । गौतम अडानीको हावा त्यतै चलीरहेको छ । आसेपासे पूँजीवादको विस्तार पनि सुनामीको बेगमा विस्तारित भएको छ । तर, राहुल सँधै व्यवसायमा वा उद्योगमा मात्रै केन्द्रित भए ।

झण्डै ५० हजार बढी मानिसलाई एक्लैले रोजगारी पनि दिए । ती मानिसका एकमात्र आशा र भरोसाका पात्र शनिबार अस्तायो । अब उनले गरेको सकारात्मक योगदानलाई अगाडि बढाउने दायित्व उनका उत्तराधिकारीको काँधमा आइपरेको छ ।

उनी बजाज समूहको अध्यक्षकारुपमा कार्यरत थिए । गत वर्षमात्रै उनले सो पदबाट राजीनामा दिएर छोरालाई जिम्मा लगाएका थिए ।

राहुल बजाज भारतका सबैभन्दा सफल उद्योगपति हुन् । उनी भारतमा मात्रै होइन, विश्वभर उत्तिकै स्थापित थिए ।

उनको कम्पनीले उत्पादन गरेको सामग्री र वित्तीय सेवामा अग्रणी कम्पनीको रुपमा स्थापित छ । बजाज समूहको व्यवसाय दुईपाङ्ग्रे सवारी साधन, घरेलु उपकरण, विद्युतीय बत्ती, वायु ऊर्जा, विशेष मिश्रीत धातु र स्टेनलेस स्टील, फोर्जिङ, पूर्वाधार विकास, सामाग्री ह्यान्डलिङ उपकरण, यात्रा, वित्तीय सेवा र जीवन बीमाजस्ता क्षेत्रहरूमा फैलिएको छ ।

खासमा उनले हात नहालेको भन्ने क्षेत्र कमै होला । धेरैभन्दा धेरै क्षेत्रबाट नागरिकसँग जोडिनुपर्छ भन्ने उनको मान्यता थियो । किनकी, धेरै व्यवसायलाई एउटै छातामार्फत् जोड्न सकिन्छ भन्ने मान्यताका साथ उनले काम गरेका थिए ।
राहुल बजाजको जन्म १० जुन १९३८ मा बंगाल प्रेसिडेन्सीमा भएको थियो । बजाज समूहको व्यापार परिवारको जगमा अगाडि बढेको हो ।

राहुलका हजुरबुवा जमनालाल बजाजले गरेका थिए त्यसको शुरुवात । उनी भारतको स्वतन्त्रता सेनानीसमेत हुन् । उनका पीता र उनले स्थापित गरेको व्यापारिक साम्राज्य अब उनका छोराले अघि बढाउने छन् ।

राहुलले आफ्नो प्रारम्भिक शिक्षा क्याथेड्रल र जोन कोनन स्कूलबाट प्राप्त गरे । उनले दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट अर्थशास्त्रमा डिग्री गरे । बम्बे विश्वविद्यालयबाट कानूनको डिग्री र हार्वर्ड बिजनेश स्कूलबाट एमबीए गरेका थिए ।

उनले सन् १९६५ मा बजाज समूहको नेतृत्व सम्हालेका थिए । उनको सक्षम नेतृत्वमा कम्पनीले लाइसेन्स-राजजस्ता कठिन समयमा पनि सफलताको नयाँ उचाइ छुन सफल भयो । उनले सँधै लाइसेन्स राजको विरोध गरे । सोही कारण उनको छवी सत्ता विरोधी बन्न पुग्यो ।

बजाजले सन् १९८० को दशकमा दुईपाङ्ग्रे स्कुटरको शीर्ष निर्माता कम्पनीको रुपमा स्थापित थियो ।

सो समूहले निर्माण गरेको ‘चेतक’ ब्राण्डको स्कुटरको बारेमा त तपाईलाई पक्कै पनि थाहा होला । सो स्कुटरको माग यति धेरै थियो कि त्यसको लागि १० वर्षसम्म प्रतिक्षा गरेका थिए ।

किनकी, लामो समयसम्म प्रतिक्षा गरेरै भएपनि मानिसहरु चेतक स्कुटर लिन लालायित हुन्थे । नाम थियो, अनि उत्तिकै किफायती पनि । आज पनि बजाज समूहले बनाएको पल्सर बाइक अन्यभन्दा किफायती र आरामदायी मानिन्छ ।

राहुल धेरै कम्पनीका बोर्डको अध्यक्षका रुपमा रहे । उनी आर्थिक क्षेत्र र उद्योग जगतमा गरेको योगदानका कारण भारतीय संसदको माथिल्लो सदन राज्यसभाको सदस्य पनि निर्वाचित भएका थिए ।

उनले आईआईटी रुर्कीलगायत ७ विश्वविद्यालयले मानार्थ विद्यावारिधि पनि प्रदान गरेको थियो । किनकी, उनलाई त्यो उपाधि दिँदा त्यो उपाधीको सम्मान नै हुन्थ्यो ।

सन् १९९० को दशकमा भारतमा उदारीकरणको युग शुरु भयो । त्यो समय बजाज अटोका लागि ठूलो चुनौती पनि सँगै ल्याएको थियो । उदारीकरणले सस्तो आयात र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) जस्ता महत्वपूर्ण चुनौतीहरू ल्यायो । जसकारण राहुल बजाजले उदारीकरणको विरोध गरेको पनि भारतीय मिडियाहरुको दावी छ ।

मानिसहरूले मोटरसाइकलमा बढी चासो देखाएकाले स्कुटरको बिक्री घट्न थाल्यो । उनको प्रतिद्वन्द्वी हिरो होन्डाले यसको पूरा फाइदा उठाएको थियो । पछि उनले पनि मोटरसाइकल उत्पादन शुरु गरे । जुन आज प्रर्यन्त जारी छ ।
आर्थिक र व्यापारको क्षेत्रमा उनको बहुमूल्य योगदानलाई ध्यानमा राख्दै, राहुललाई धेरै पुरस्कारले सम्मानित गरिएको छ । सन् २००१ मा भारत सरकारद्वारा पद्म भूषणबाट सम्मानित गर्यो ।

यस्तै हार्वर्ड बिजनेस स्कूलद्वारा पूर्वछात्र उपलब्धि पुरस्कार दियो । नवभारत टाइम्सले लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्यो । फ्रान्सका राष्ट्रपतिले नाइट इन द अर्डर अफ द लिजन अफ अनर नियुक्त गरे ।

भारत सरकारले राहुल बजाजलाई सन् १९७५ देखि १९७७ सम्म अटोमोबाइल र सम्बद्ध उद्योगहरूको विकास परिषदको अध्यक्षको रूपमा नियुक्त गरेको थियो । सन् १९७५ मा नेशनल क्वालिटी एस्योरेन्स इन्स्टिच्युटले उनलाई ‘म्यान अफ द इयर’ अवार्डबाट सम्मानित गरेको थियो ।

यस्तै १९०९० मा उनलाई व्यवस्थापन को क्षेत्र मा सबैभन्दा विशिष्ट सेवा गरेको भन्दै बम्बे व्यवस्थापन संघ पुरस्कार प्रदान गर्यो । प्रिन्स अफ वेल्सले उनलाई फेब्रुरुअरी १९९२ मा प्रिन्स अफ वेल्स इन्टरनेशनल बिजनेस लिडर्स फोरम को सदस्य बनायो ।

एफआईई फाउन्डेसनले उनलाई सन् १९९६ मा राष्ट्रभूषण पुरस्कारले सम्मान गरेको थियो । सन् १९८६ देखि १९८९ सम्म भारत सरकारले उनलाई भारतीय वायुसेवाको अध्यक्ष नियुक्त गरेको थियो ।

भारतका राष्ट्रपतिले उनलाई सन् २००३ देखि २००६ सम्म इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी बम्बेको बोर्ड अफ गभर्नरको अध्यक्ष बनाएका थिए ।

उनी जेनेभाको इन्टरनेशनल बिजनेस काउन्सिलको इकोनोमिक फोरमका पूर्वअध्यक्ष र सदस्यकारुपमा रहे भने हार्वर्ड बिजनेस स्कूलको ग्लोबल एडभाइजरी बोर्डका सदस्यका रुपमा रहे । वाशिंगटन डीसीको अन्तर्राष्ट्रिय सल्लाहकार परिषद्का सदस्य र इन्डियन स्कूल अफ बिजनेशको कार्यकारी बोर्डका सदस्य पनि भए ।

बजाज समूहको कर्पोरेट सामाजिक उत्तरदायित्वमा राहुल बजाजको पनि ठूलो योगदान छ । यस अन्तर्गत जमनालाल बजाज फाउन्डेसन र शिक्षा मण्डल जस्ता संस्थाहरू र भारतीय युवा शक्ति ट्रस्ट र रुबी हल क्लिनिक (पुणेको ठूलो अस्पताल) जस्ता धेरै सामाजिक संस्थाहरू सञ्चालित छन् ।

भारतका दिग्गज उद्योगपति राहुल बजाजको शनिबार पुणेमा निधन भएको हो । शनिबार दिउँसो २.३० बजे उनले अन्तिम सास लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राहुल बजाजलाई निमोनिया र मुटुसम्बन्धी रोग थियो । पछिल्लो एक महिनादेखि स्वास्थ्यमा समस्या आएपछि उनी अस्पतालमा भर्ना भएका थिए ।

उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वाणिज्य तथा उद्योगको क्षेत्रमा पुरयाएको योगदानलाई स्मरणीय र सामुदायिक सेवाका लागि पनि स्मरणीय रहने उल्लेख गरेर उनको सम्मान गरेका छन् ।

बजाजले लामो समयसम्म देशकै पुरानो औद्योगिक घराना मध्येको एक बजाज समूहको नेतृत्व गरेका थिए । उनी उद्योगको मुखर आवाजकारुपमा परिचित थिए । उनी सबै मुद्दामा खुलेर बोल्नु पर्छ भन्ने विश्वास राख्थे ।

बजाज आफ्नो स्पष्टवक्ताको लागि परिचित थिए । कर्पोरेट इन्डियाको सरोकार होस् वा देशको हितसँग जोडिएको विषय होस्, उनी खुलेर बोल्न कहिल्यै हिच्किचाउँदैन थिए ।

‘बिजनेस स्ट्याण्डर्ड’को विवरण अनुसार इकोनोमिक टाइम्सले आयोजना गरेको एक कार्यक्रममा राहुल बजाजले आफू जन्मजात सत्ता विरोधी भएको बताएका थिए । तर, सन् २००६ मा उनी भाजपा, एनसीपी र शिवसेनाको समर्थनमा, स्वतन्त्र सदस्यको रूपमा राज्यसभामा पुगेका थिए ।

उनले गृहमन्त्री अमित शाहको अगाडि नै पूर्ववर्ती कांग्रेस सरकारको नाम लिँदै भनेका थिए- मानिसहरू (उद्योगपतिहरू) तपाईं (मोदी सरकार) देखि डराएका छन् । जब यूपीए सरकार थियो, हामी कसैको आलोचना गर्न सक्थ्यौं । हामीलाई विश्वास छैन अब तपार्इंहरुको आलोचना गर्न पाउँछौ कि पाउँदैनौ भन्ने चिन्ता छ । त्यसको अमित शाहले कुनै पनि जवाफ दिएनन् ।

बजाजले आफ्नो समूह बजाजलाई आफ्नो व्यावसायिक कौशलताले देशको अटो उद्योगको प्रमुख बनाएका थिए । उनको नेतृत्वमा बजाज स्कुटरले निकै लोकप्रियता पायो । यो स्कुटरको विज्ञापन ‘हमारा बजाज’ राष्ट्रगानजस्तै बनेको छ । त्यो भारतको आत्मनिर्भरताको प्रतीक बनेको थियो ।

व्यवसायिक मापदण्डअनुसार सन् १९७० को दशकमा इटालियन कम्पनी पियाजियोले बजाजको लाइसेन्स नवीकरण नगरेपछि आफ्नै ब्राण्ड चेतक र सुपरमा स्कुटर बनाउन थाले ।

उनले लाइसेन्स प्रणालीको पनि विरोध गरे । लाइसेन्सका कारण ७०-८० को दशकमा स्कुटर बुक गरेपछि डेलिभरीका लागि वर्षौं कुर्नुपरेको तथ्य पटक पटक भारतीय मिडियाले दोहोर्याएका छन् । उनले यसको विरोध गरेका थियो ।
उनले भनेका थिए, देशवासीलाई चाहिने सामान बनाउदा जेल जानु पर्यो भने जान्छु ।

वरिष्ठ पत्रकार टीके अरुणका अनुसार बजाजले लाइसेन्सराजको विरोध गरे पनि उनी स्वदेशी उद्योगको पनि उत्तिकै ठूलो वकालत भएको बताउँछन् ।

अरुण भन्छन्, ‘राहुल बजाजले सन् १९९२–९४ मा भएको उद्योग सुधारको विरुद्धमा पनि खुलेर बोलेका थिए । यसले भारतीय उद्योगलाई धक्का दिने र स्वदेशी कम्पनीहरूलाई प्रतिस्पर्धा गर्न गाह्रो हुने उनको तर्क थियो ।’

जब राहुल बजाजको जन्म भयो । इन्दिरा गान्धी कमलनयन बजाज (राहुलका बुबा) को घर पुगिन् । उनले आफ्नो बहुमूल्य चीज लिएको गुनासो गरिन् । त्यो थियो छोराको नाम राहुल । जुन जवाहरलाल नेहरूलाई धेरै मन पथ्र्यो । उनले यो इन्दिराका छोराका लागि सोचेका थिए । तर, नेहरूले यो नाम कमलनयन बजाजका छोरालाई दिए, जो उनको अगाडि जन्मेका थिए ।

भनिन्छ, पछि इन्दिरा गान्धीले पनि राजीव गान्धीका छोराको नाम राहुल राखेकी थिइन् । किनभने, उनका पितालाई यो नाम निकै मन पथ्र्यो ।

बुबा कमलनयन बजाजजस्तै राहुल बजाजले पनि विदेशमा अध्ययन गरेका थिए ।

दिल्ली विश्वविद्यालयको सेन्ट स्टीफन्स कलेजबाट अर्थशास्त्र गरेपछि राहुल बजाजले बजाज इलेक्ट्रिकल्स कम्पनीमा करिब तीन वर्ष तालिम लिए । यस अवधिमा उनले बम्बे विश्वविद्यालयबाट कानूनको अध्ययन पनि गरेका थिए ।
पढाइ पूरा गरेपछि सन् १९६८ मा ३० वर्षको उमेरमा नै राहुल बजाजले बजाज अटो लिमिटेडको सीईओको पदभार ग्रहण गर्दा उनी यो पद हासिल गर्ने सबैभन्दा कान्छो भारतीय भएको बताइएको थियो ।

बजाज चेतक (स्कुटर) र त्यसपछि बजाज पल्सर (मोटरसाइकल) जस्ता उत्पादनले बजारमा आफ्नो ब्राण्डको विश्वसनीयता बढाएको र सन् १९६५ मा कम्पनी ३ करोडको कारोबारबाट सन् २००८ मा १० हजार करोडको हाराहारीमा पुगेको उनको दाबी थियो ।

बजाजले सफलताको श्रेय श्रीमतीलाई दिने गर्थे ।

सन् २०१६ मा वरिष्ठ पत्रकार करण थापरलाई दिएको अन्तर्वार्तामा राहुल बजाजले सन् १९६१ मा रुपा र आफ्नो विवाह हुँदा भारतको मारवाडी–राजस्थानी औद्योगिक घरानामा पहिलो प्रेम विवाह भएको बताएका थिए ।

रुपा महाराष्ट्रकी ब्राह्मण थिइन् । उनको बुबा निजामती कर्मचारी थिए । र, हामी व्यापारी परिवार भएकाले दुई परिवारलाई मिलाउन अलिक गाह्रो भएको उनले पटक पटक भनेका छन् । उनले भनेका थिए- तर, म रूपालाई धेरै सम्मान गर्छु किनभने मैले उनीबाट धेरै कुरा सिक्ने मौका पाएँ ।

फोब्र्सको विवरण अनुसार बजाज समूहको कूल नेटवर्थ १२ फेब्रुअरी २०२२ मा मात्रै ८.२ अर्ब डलर छ ।


क्लिकमान्डु