भारत र चीन सीमामा तनाव: व्यापारमा उभार, गतवर्ष खर्ब बढीको कारोबार



एजेन्सी । अन्तर्राष्ट्रिय सीमा एक अर्काविरुद्ध बन्दुक ताकेर बसेका चीन र भारतबीचको व्यापार भने विल्कुल त्यस्तो छैन । भारतमा सबैभन्दा बढी चीनको सामान उपलब्ध हुने गरेको छ ।

विवरणहरुमा जनाइए अनुसार चीन र भारतबीचको व्यापार ९.३ लाख करोड भारु बराबर हुनेछ । भारतको सबैभन्दा धेरै कारोबार चीनसँग नै भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन पहिले हैदरावादमा वैष्णव सन्त रामानुजाचार्य स्वामीको प्रतिमा स्ट्याचु अफ इक्विालिटीको उद्घाटन गरे ।

तर, सो प्रतिमा बनाउने कम्पनी भारतीय थिएन । सो प्रतिमामा बनाउने कम्पनी चिनियाँ थियो । चिनियाँ कम्पनी एरोसन कर्पोरेशनले सो प्रतिमा बनाएको हो ।

भारत र चीनबीचको सम्बन्ध राम्रो छैन । भारतीयहरुले ड्रागन भन्दै चिनियाँ हस्तक्षेप बढेको तथा सीमा मिचेको जस्तो आरोप लगाएपनि व्यापार व्यवसाय, अन्तर्राष्ट्रिय कारोबारका अलावा भारतका विभिन्न राज्यमा विभिन्न भौतिक पूर्वाधारको विकासका लागि चिनियाँ कम्पनी नै आवश्यक पर्ने दखिएको छ ।

सीमामा दुई देश एक अर्का विरुद्ध आमनेसामने छन् । तर, भौतिक पूर्वाधार निर्माण र प्रविधिको क्षेत्रमा भारतभन्दा चीन धेरै अगाडि छ । सोही कारण भारतीयले नचाहँदा नचाहँदै पनि चिनियाँ कम्पनीलाई बोलाउनुपर्ने, काम दिनुपर्ने बाध्यता छ ।

भारत सरकारले विभिन्न चिनियाँ सामानमा प्रतिबन्ध लगाएको छ । विभिन्न एपहरु समेत नखुल्ने बनाएको छ । भारत र चीनबीच लद्दाखमा भइरहेको तनावमा बीचमा पनि सन् २०२१ म मात्रै दुई देशबीच सबैभन्दा धेरै कारोबार भएको छ । भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदारमा चीन नै शीर्ष स्थानमा रहेको विवरण स्वयम् भारत सरकारले सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षपनि चीन नै भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदारका रुपमा थियो । भारतले चीनको साथमा झण्डै १० लाख करोड भारु भन्दा बढीको कारोबार गरेको छ । भारतीय बजारमा मात्रै चीनको ७.२ लाख करोड बराबरको सामान बिक्री भएको छ ।

तर सो अवधिमा भारतबाट चीनमा मात्रै २ लाख करोडको मात्रै सामान निर्यात भएको छ । यसबाट पनि के देखिन्छ भने भारतको तुलनामा हरेक क्षेत्रमा चीन नै अब्बल देखिन्छ ।

भारतको चीनसँगको व्यापार घाटा बढेर ५.१ लाख करोड बराबर पुगेको छ । सन् २००१ म भरतको चीनसँग १३.६ हजार करोड भारु बराबरको द्विपक्षीय व्यापार भएको थियो । त्यो २० वर्षपछि आइपुग्दा गुणात्मक रुपमा वृद्धि भएको देखिन्छ ।

पहिलो पटक यस्तो देखिएको छ कि दुई देशबीचको व्यापार बढेर १०० अर्ब डलर माथि पुगेको छ । व्यापार घाटा बढ्नुका पछाडि चिनियाँ सामानको बोलबाला भारतमा अत्यधिक छ । भारतले जतिसुकै प्रतिबन्ध लगाएपनि सस्तो सामान र भारतीयको कमजोर क्रयशक्तिका कारण सस्ता सामानको माग अत्यधिक छ ।

कोरोना कहरपछि त झन् भारतीयको क्रमशक्ति कमजोर भएको छ । सोही कारण सस्तो सामानको खोजीमा भारतीयको अत्यधिक चासो देखिन्छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार भारतले नचाहँदा नचाहँदै पनि बजारमा चिनियाँ उपस्थित बलियो छ । सीमामा हुने लडाई र झडपले व्यापारमा कुनै पनि प्रभाव पारेको छैन भन्ने कुरा यसबाट प्रष्ट हुन जान्छ ।

भाजपा र त्यसका नेता नरेन्द्र मोदी सन् २०१४ देखि भारतमा प्रधानन्त्री छन् । उनले सबै क्षेत्रमा असाध्यै राम्रो गरेको दाबी गरेपनि व्यापार घाटामा देखिएको यो भीमकाय तथ्यांकका कारण उनका सबै दाबी असफल सिद्द भएको टिप्पणी समेत भारतीय मिडियाहरुको छ ।

पछिल्लो वर्षदेखि भारतमा आत्मनिर्भरताको अभियान चलाइएको छ । सबै क्षेत्रमा आफै सक्षम हुने र सकेसम्म विदेशी सामानको आयातलाई कम गर्दै जाने लक्ष्य राखिएको छ ।

तर, त्यसमा खास रुपमा प्रगति हुन सकेको छैन । आत्मनिर्भर बन्ने ध्येयका साथ आयात कम गर्नका लागि केही सामानमा अत्यधिक मात्रामा कर वृद्धि गरिएको छ । उत्पादनमूलक उद्योगको बढावा दिने भनिएपनि त्यस क्षेत्रमा लगानी विस्तार हुन सकेको छैन ।

आत्मनिर्भरता अभियानको मुख्य केन्द्रमा चीन छ । चीनको सामान कम मात्रामा मात्रै आयात गर्ने भनिएपनि बजारको तथ्यांकले त्यसो भन्दैन । चीनसँगको भारतको निर्भरता घट्नुको साटो बरु बढिरहेको छ । त्यसकारण बजारले दिने तथ्यांक र मोदीको भाषणमा आउने तथ्यांकका बीचमा आकाश र जमिनको अन्तर देखिएको छ ।

सन् २०२० को अप्रिलमा सीमा रेखामा भएको विवादका बाबजूद भारतले व्यापार र सीमाको तनाव एकै साथ जान नसक्ने बताएको थियो । भारतले कडा प्रतिबन्धहरु लगाएको घोषणा समेत गरेको थियो ।

त्यसबाट चिनियाँ लगानी मात्रै भारतमा सामान्य रुपमा घटेको देखिन्छ । त्यसो त चीनले लगानीका हरेक क्षेत्रमा आफ्ना रणनीतिहरुमा पुनः विचार गरिरहेको छ ।

त्यसबाट खासगरी सूचना तथा प्रविधि, एवम् टेलिकम क्षेत्रमा मात्रै लगानी कम भएको छ । भारतमा अलिबाबा जस्ता कम्पनीको लगानीमा मात्रै केही कमी आएको छ ।

भारत सरकारले २०० भन्दा बढी चिनियाँ एपलाई सुरक्षा मामिलासँग जोडिएको भन्दै प्रतिबन्ध लगाएको थियो । त्यसमा लोकप्रिय भिडियो सेयरिङ एप टिकटक, विच्याट र विवो समेत थिए ।

यस्तै, भारतमा चिनियाँ कम्पनीलाई ५ जी परीक्षणबाट पनि बाहिर राखिएको छ । त्यस्तै, भारतमा हालै मात्रै स्मार्टफोन निर्माता कम्पनी साओमीसहित अन्य केही कम्पनीले कर छलेको आरोपमा कारवाही गरेको छ ।

भारतले विद्युतीय सामग्रीको आयातमा प्रतिबन्ध लगाएको थियो । विशेष रसायन, मेडिकल उपकरणमा समेत भारत बढी रुढ देखिएको थियो ।
तर, भारत सरकारको वाणिज्य मन्त्रालयका अनुसार सन् २०२१ मा ती सबै वस्तुको आयात जारी छ । त्यसको साथ साथै ल्यापटप, अक्सिजन कन्सेप्टर, एसिटिक एसिडको पनि आयात भइरहेको छ ।

यस्तै, अटोमेटिक डेटा प्रोसेसिङ मेशिन र त्यसको युनिट, टेलिफोन सामग्री, भिडियो फोन, विद्युतीय सामग्री, सेमीकन्डक्टर उपकरण, उवर, साउण्ड रेकर्डिङ, टिभी क्यामेरा जस्ता सामग्रीको आयात झनै वृद्धि भएको छ ।

यसबाट पनि के देखिन्छ भने भारतको चिनियाँ सामान माथिको प्रतिबन्ध तत्कालीन उद्देश्यका लागि मात्रै थियो र दीर्घकालीन रुपमा थिएन भन्ने स्पष्ट देखिन्छ ।


क्लिकमान्डु