अन्तरप्रेरणाको मेन्टरिङले देशभर जन्माउँदैछ सयौं नवउद्यमी, लगानी गर्नेहरुको सञ्जाल बनाउँदै निरज



काठमाडौं । कति नवप्रवर्तकहरु आइडिया भएर पनि त्यसलाई व्यवसायमा ढाल्न सक्दैनन् । कतिलाई व्यवसाय शुरु गरेपछि विस्तार गर्न लगानी हुँदैन ।

अझ स्टार्टअप शुरु गरेकाहरु राम्रो ‘मेन्टरिङ’ नहुँदा त्यत्तिकै सेलाएर हराउँछन् । अनुभवी सिनियर उद्यमीले नव आगन्तुक उद्यमीलाई राम्रो कोचिङ गर्दा र नगर्दा उद्यमशिलता विकासमा धेरै फरक पर्छ ।

नेपालमा यस्तो चलनको ठूलो ‘ग्याप’ छ ।

यही ग्यापलाई पूरा गर्न भनेर लागि परेका छन् अन्तरप्रेरणका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत निरज खनाल । अन्तरप्रेरणा एक यस्तो संस्था हो, जसले नवउद्यमी, स्टार्टअप, नयाँ कम्पनीहरु, विद्यार्थीहरुलाई मेन्टरिङ र कोचिङको काम गर्छ ।

सम्भावित कम्पनीमा लगानी गर्ने र लगानी जुटाइदिने काम पनि यसले गर्छ । निरजका साथमा छन् अन्तरप्रेरणका अध्यक्ष ओम राजभण्डारी ।

‘नेपालमा उद्यमशिलता विकासमा ठूलो ग्याप छ भन्ने हामीले अनुभव गरिरहेका थियौं,’ निरज भन्छन्, ‘यही समस्या समाधान गर्न सन् २०१५ अन्तरप्रेरणा स्थापना गरेका हौं ।’

अन्तरप्रेरणा आफैंमा एक स्टार्टअप हो ।

दुबैको उद्देश्य थियो नयाँ उद्यमी, स्टार्टअप, व्यवसायमा आउन चाहने विद्यार्थीहरुलाई मेन्टिरिङ गर्ने, विज्ञसँग प्रशिक्षणको अवसर मिलाउने र आवश्यक भएका लगानी पनि जुटाउने ।

सन् २०१५ मा अन्तरप्रेरणा शुरु गर्दा राजभण्डारीले उद्देश्य राखेका थिए, कम्तिमा १०० जना नवउद्यमीलाई सहयोग गर्ने ।

६ वर्षमा यो संख्या धेरै माथि पुगिसकेको छ । अन्तरप्रेरणाको ‘नवउद्यमीशाला’ कार्यक्रमको १० वटा व्याजबाट १२३ जना ग्राजुएट भइसकेका छन् । विभिन्न जिल्लामा १०० भन्दा धेरै उद्यमीलाई मेन्टरिङ गरेकाछन् भने त्यसबाट १५ कम्पनीमा आफैंले लगानी गरेका छन् ।

विभिन्न जिल्लामा लगानीकर्ताको सञ्जाल बनाएर त्यस्ता नवउद्यमीलाई ‘एन्जल फन्ड’समेत व्यवस्था गरेका छन् ।

‘उद्यमशिलता विकास गर्न मेन्टर, लगानीकर्ता, सहयोगी संस्था तथा अन्य लगानीकर्तालाई एकै ठाउँमा ल्याउने प्लेटफर्म हो अन्तरप्रेरणा,’ निरज आफ्नो कामको बारेमा भन्छन्, ‘हामीले मुख्य त ‘थ्रि आई’मा काम गर्छौं ।’

तीन ‘आई’को अर्थ ‘इन्क्युवेसन’, ‘इन्भेष्टमेन्ट’ र ‘इन्टरनेसनल लिंकेज’ हो ।

इन्क्युवेसनमा नवउद्यमी, स्टार्टअप तथा कम्पनीहरुलाई मेन्टरिङ र कोचिङको काम हुन्छ ।

उत्पादित वस्तुलाई कसरी उपभोक्तामैत्री बनाउने, उपभोक्तासम्म कसरी पुर्याउने, लगानीकर्ताको सम्बन्ध कसरी राम्रो राख्ने, कम्पनी व्यवस्थापन, आफ्नो संस्थाको फिलोसोपी र कल्चर कसरी विकास गर्ने र लगानीयोग्य कम्पनी कसरी बनाउनेजस्ता विभिन्न विषयमा मेन्टरिङ हुन्छ ।

नयाँ कम्पनीलाई आर्थिक, प्राविधिक, कानुनी प्रावधान बारेमा सहयोग चाहिन्छ यस्ता विषयमा इन्क्युवेसनबाट प्रशिक्षण र सहयोग हुन्छ ।

इन्क्युवेसन प्रोग्राममा २ चरणको कार्यक्रम गर्ने निरजले बताए ।

पहिलो, शैक्षिक संस्थाहरुमा कोचिङ । जहाँबाट विद्यार्थीहरुले नयाँ आइडियाहरु बनाइरहेका हुन्छन् । त्यसलाई थप छलफल गर्ने । सम्भावना हेर्ने र थप परिस्कृत गर्ने ।

‘अहिलेसम्म हामीले २० वटा कलेजमा यस्तो कार्यक्रम गरिरहेका छौं,’ निरजले भने ।

दोस्रो, काम शुरु गरिसकेका कम्पनीहरु व्यवसाय विस्तारमा सहयोग गर्ने । नयाँ कम्पनीले व्यवसाय विस्तार र लगानी जुटाउने गाह्रो भइरहेको हुन्छ ।

यस्ता शुरुवाति कम्पनीहरुलाई विभिन्न संघसंस्थाहरु जस्तो कि उद्योग वाणिज्य संघ, पालिकाहरु वा अन्य लगानीकर्तासँग मिलेर उनीहरुलाई कोचिङ गर्ने व्यवस्था अन्तरप्रेरणाले गर्छ ।

अहिले यस्तो कार्यक्रम ३२ जिल्लामा पुगिसकेको छ । ती जिल्लामा १०० भन्दा धेरैले मेन्टरसिप लिइसकेका छन् ।

मुलुकका मुख्य शहरमा पनि अहिले पनि थुप्रै नवउद्यमीहरुले कार्यक्रममा सहभागी भइरहेका छन् ।

काठमाडौंबाहेक बुटबल, विराटनगर, नेपालगञ्ज, हेटौंडा, चितवन, सुर्खेत, कर्णालीजस्ता ठाउँहरुमा मेन्टरसिपको काम भइरहेको छ ।

‘त्यहाँका शैक्षिक संस्था, उद्योग वाणिज्य संघहरुसँग मिलेर कार्यक्रम तयार गरेका छौं,’ निरजले भने, ‘यी कार्यक्रम गर्दा सरकारी निकायसँग पनि समन्वय गर्छौं।’

कोचिङमा आएकाहरु सबैले व्यवसाय गर्छन् भन्ने पनि छैन ।

‘कति जनाले कोचिङपछि नेपालमा सकिने रहेनछ भनेर हात झिक्नुभएको पनि छ,’ निरजले भने, ‘यो राम्रो कुरा हो । उहाँहरुको कन्फ्युजन हट्छ र असफल हुनबाट बच्नुहुन्छ ।’

यसलाई ‘फेल फास्ट फेल सेफ’ भनिने उनी बताउँछन् ।

साथै, ‘इन्भेष्टमेन्ट रेडिनेस’को बारेमा पनि सिकाइन्छ । यसमा आउने प्राविधक पक्ष, प्लानिङ एण्ड प्याकेजिङ, एकाउन्टिङ लगायतका कुराहरु प्याकेजका रुपमा तयार गरेर मेन्टरिङ हुने निरजले बताए ।

इन्क्युवेसनको कामपछि उनीहरुको अर्को काम ‘इन्भेष्टमेन्ट’ अर्थात् लगानी जुटाउने हो ।

मेन्टरिङमा आएका नवउद्यमी, स्टार्टअप वा कम्पनीहरुलाई व्यवसाय विस्तार गर्न थप लगानी आवश्यक पर्नसक्छ । कतिलाई लगानी नचाहिन पनि सक्छ भने कति लगानीयोग्य नहुन पनि सक्छन् ।

मेन्टरिङमा यस बारेमा मुल्यांकन हुन्छ । ‘हामीले मेन्टरिङ गरेका व्यवसायलाई लगानी चाहिने देखियो भने लगानीकर्ता खोज्ने वा आफैं पनि लगानी गर्छौं,’ निरजले भने ।

लगानी जुटाउन २ तरिका अपनाउँछन् । पहिलो, कति कम्पनीमा उनीहरुले आफैं लगानी गर्छन् ।

‘अहिलेसम्म १५ वटा विभिन्न कम्पनीमा मेन्टरिङपछि हामी आफैं लगानी गरेका छौं,’ निरजले भने, ‘कतिलाई लगानीकर्तासँग जोड्ने काम गर्छौं ।’

उनीहरुले ‘एन्जल फन्ड’ जुटाउने काम गर्छ । जस्तो कि कोही जागिर गरिरहेको छ वा विभिन्न ठाउँमा बसेर अन्य काम गरिरहेका छन् भने उनीहरुले विभिन्न कम्पनीमा लगानी गर्न चाहन्छन् ।

दोस्रो, ‘एन्जल फन्ड’को रुपमा लगानी गर्न चाहनेहरुको सञ्जाल बनाइरहेका छन् । जुन सञ्जालमा रहेका व्यक्तिले साना वा ठूला कम्पनीमा दुई-तीन लाखदेखि ४०-५० लाखसम्म लगानी गरिरहेका छन् ।

‘हामीसँग अहिले विभिन्न जिल्लाका १०० जनाको त्यस्तो सञ्जाल बनेको छ,’ निरजले भने, ‘यो विस्तार भइरहेको छ ।’

कोचिङ, लगानीसँगै अन्तर्राष्ट्रिङ सम्बन्ध अर्थात् ‘इन्टरनेसनल लिंकेज’ गर्ने काम पनि अन्तरप्रेरणाले गरिरहेको छ ।

निरज नेदरल्याण्डको ‘पीयुएम नेदरल्याण्ड सिनियर एक्सपर्ट’ संस्थाको नेपालको प्रतिनिधि हुन् । पीयुएम नेदरल्याण्डले नेपालको उद्यमीलाई मेन्टरिङ लगायतमा सहयोग गरिरहेको छ ।

‘वर्षमा १०० जना जति विज्ञ समन्वय हुन्छ,’ निरजले भने, नेदरल्याण्डको मेन्टर कम्युनिटी, वल्र्ड स्टार्टअपले कोचिङमा सघाइरहेका छन् ।’

त्यस्तै, नेपाल र भुटानको एक्स्चेन्ज प्रोग्राम पनि गरिरहेका छन् । भुटानका २३ जना नवउद्यमीलाई मेन्टरिङको काम अन्तरप्रेरणाले गरिरहेको छ । कोरोना संक्रमण भएपछि त्यो काम अनलाइनबाट चलिरहेको छ ।

दक्षिण कोरिया, डेनमार्कका संस्थासँग पनि मेन्टरिङ र एक्सचेन्जको काम भइरहेको उनले बताए । बाहिर कस्तो भइरहेको छ, कसरी काम गरिरहेका छन् भनेर नेपालका स्टार्टअप व्यवसायीलाई जानकारी गराउने, कोचिङ गर्ने काम गरिरहेका छन् ।

सन् २०१५ मा अन्तरप्रेरणा शुरु गरेसँगै उनीहरुले ‘नवउद्यमीशाला’ भन्ने कार्यक्रम शुरुवात गरे । यसले पनि मुख्य काम मेन्टरिङ र लगानी जुटाउने हो ।

नयाँ आइडिाय भएकाहरु, विदेशबाट अनुभव लिएर फर्किएकाहरु, नेपालमै केही गर्नुपर्छ भनेर लागिरहेको युवाहरुलाई यस कार्यक्रममा उद्यमशील सिकाउँछन् । काठमाडौंको नवउद्यमीशालामा १० वटा व्याज भइसकेको छ । यसबाट १२३ जना ‘ग्राजुएट’ भएको उनले बताए ।

कसरी सहभागी हुने मेन्टरसिपमा ?

मेन्टरिङका लागि वर्षमा एक-दुई आवेदन आह्वान गर्छन् । यस्ता आवेदनको माग काठमाडौंसहित विभिन्न जिल्ला पनि गर्छन् ।

आवेदन परेकाबाट छनोट गरेर कोचिङमा लैजान्छन् । यसका लागि जिल्लाका उद्योग वाणिज्य संघ, पालिका, मेयरहरुसँग समन्वय गरेर काम गर्छन ।

अहिले बुटबल, चितवन, नेपालगञ्ज, विराटगरमा मेन्टरिङ शुरु गरेका छन् । विराटनगरमा २०, नेपालगञ्जमा १०, बुटबलमा २५ जनाका आवेदन परेको निरजले बताए । यस्तो मेन्टरिङको समय ६ महिनादेखि ९ महिनाको हुन्छ ।

मेन्टरिङको काम लामो हुने भएकाले जिल्ला जिल्लामा अनुभवी उद्यमीहरुको ‘मेन्टर कम्युनिटी’ बनाएका छन् । जस्तो कि मेन्टर कम्युनिटी नेपालगञ्ज, मेन्टर कम्युनिटी विराटनगर । उनीहरुले स्थानीय क्षेत्रमा मेन्टरिङको काम गर्छन् ।

‘यसबाट हामीले सिनियर उद्योगीले जुनियर उद्यमीलाई सिकाउने कल्चर विकास गर्न खोजिरहेका छौं,’ निरजले भने ।


सन्तोष न्यौपाने