गुगलले भारतीय कम्पनी एयरटेलमा १ बिलियन डलर लगानी गर्ने



एजेन्सी । भारतको दूरसञ्चार उद्योगमा विदेशी लगानी भित्र्याउने क्रम शुरु भएको छ । तीव्र प्रतिस्पर्धा चलिरहेको यस क्षेत्रमा के कसरी बढी भन्दा बढी सेवा तथा सुविधा दिने होड पनि उत्तिकै छ ।

सामान्य कमजोरी हुनासाथ पनि बजारमा पछि परिने अवस्था आएपछि नयाँ–नयाँ लगानीकर्ताहरु खोज्न थालिएको छ ।

यतिबेला भारतमा मुकेश अम्बानीको रिलायन्स जियोको बोलबावाला छ । विभिन्न कम्पनीले सेवा प्रदान गरिरहेका छन् । त्यसमा देखिएको चर्को प्रतिस्पर्धाले उपभोक्तालाई सेवा छनौट गर्ने अवसर पनि उत्तिकै दिएको छ । यसै क्रममा सर्च इन्जिनको रुपमा रहेको गुगलले पनि भारतको दूरसञ्चार क्षत्रेमा लगानी गर्ने भएको छ ।

समाचार विवरणहरुमा जनाइए अनुसार गुगलले भारतीय एयरटेलमा १ बिलियन बराबरको लगानी गर्ने भएको छ । भारतमा जनघनत्व बढी रहेको तथा सेवामा विविधता थप्दा राम्रो फाइदा हुने देखेपछि गुगलले एयरटेलमा लगानी गर्न लागेको हो ।

भारतीय एयरटेलले शुक्रबार मात्रै यस्तो घोषणा गरेको हो । विवरण अनुसार गुगलले उसको गुगल फर इन्डिया डिजिटाइजेसन कोषको एक अंशको रुपमा टेलिकम क्षेत्रमा १ बिलियन डलर लगानी गर्नेछ ।

सम्झौता अनुसार गुगलले एयरटेलको १.२८ प्रतिशत स्वामित्व प्राप्त गर्नेछ । त्यसमा ७०० मिलियन तत्काल र सम्भावित बहु–वर्षीय व्यापारिक सम्झौताहरूमा ३०० मिलियन बराबरकोे लगानी गर्ने विषय समावेश रहेको छ ।

गुगल र एयरटेलको साझेदारी महत्वपूर्ण रहने बताइएको छ । दूरसंचार सेवा प्रदायक एयरटेलले भनेको छ हामीले सहज रुपमा मूल्य दायराहरूमा रहेर स्मार्टफोनहरू उपलब्ध गराउन पनि यसमा जोडिएका छौ । किफायती पहुँच स्थापना गर्न हामी सक्षम हुनेछौं ।

हामी त्यसैमा केन्द्रित हुनेछौ । यस्तै अन्य मानकहरूको लागि भारत केन्द्रीत विशिष्ट नेटवर्क डोमेन प्रयोग गर्ने विषयमा सम्भावित रूपमा सह–सृजना गर्न तिनीहरूको अवस्थित साझेदारी हुनेछ । यस्तै, सहकार्यका साथ नयाँ खोज तथा त्यस क्षेत्रहरुको निर्माणका लागि पनि अन्वेषण निरन्तर अगाडि बढ्नेछ ।

यसले भारत भरी नै व्यवसायिक क्लाउड इकोसिस्टमलाई गति दिन पनि मद्दत गर्नेछ । त्यसबाट डेटाको भण्डारण तथा वितरणका लागि पनि सहयोग पुग्नेछ ।

गुगल इन्टरनेशनल एलएलसीले भारतीय एयरटेलको ७१ करोड १७ लाख ६ हजार ८३९ बराबरको इक्विटी सेयर प्राप्त गर्नेछ । त्यसको प्राथमिक मूल्य ७३४ भारु तोकिएको छ । त्यसको कूल मूल्य ५ हजार २२४.३८ करोड भारु अर्थात् ७०० मिलियन बराबर हुनेछ ।

सो घोषणा हुने सूचना बजारमा बाहिरिएपछि एयरटेलको सेयर मूल्यमा समेत उभार आएको छ । हाल सेयर कारोबारमा १.९५ प्रतिशतले बढोत्तरी भई प्रतिकित्ता ७२१ भारुमा पुगेको छ । सेयर पण्डितहरुले यसलाई उच्च वृद्धिको संज्ञा दिएका छन् ।

यस्तै, कूल ३०० मिलियन बराबरको रकम भने अन्य व्यवसायिक कामहरुमा खर्च गर्ने योजना अगाडि सारिएको छ । त्यो काम निरन्तर कार्यान्वयन हुँदै जानेछ ।

यस्तै एयरटेलले अगाडि सारेका अन्य प्रस्तावहरू कार्यान्वयमा लगानी हुनेछ । जसले उपभोक्तालाई किफायती कार्यक्रम मार्फत उपकरणको दायरा विस्तार गरिनेछ । त्यसबाट भारतको डिजिटल इकोसिस्टममा पहुँच बढाउन तथा डिजिटल समावेशिकरणको गति बढाउने काममा उपयोग गरिनेछ ।

यो निर्णयलाई भने नियामक निकायले स्वीकृति दिनुपर्ने एयरटेलको भनाइ छ ।

हाल, एयरटेलमा मित्तल परिवार र सिंगटेलको टेल्कोको ५५.९३ प्रतिशत सेयर स्वामित्व छ । बाँकी भने आम लगानीकर्ताको सेयर स्वामित्व छ । मित्तल परिवारको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लगभग २४.१३ प्रतिशत र सिंगटेलको ३१.७२ प्रतिशत सेयर स्वामित्व छ ।

यसको पहिलो व्यावसायिक सम्झौताको एक भागको रूपमा,एयरटेल र गुगलले थप कार्य प्रस्तावहरू निर्माण गर्न सँगै काम गर्नेछन् । जसले उपभोक्तालाई कसरी किफायती कार्यक्रममार्फत् एन्ड्रोइड–संयन्त्र तथा उपकरणहरुको दायरा फराकिलो बनाउनेछ ।

सँगै, कम्पनीले विभिन्न उपकरण निर्माताहरूसँग साझेदारीमा पनि काम गर्नेछ । यसले न्यून मूल्यमा स्मार्टफोनको उपलब्ध गराउनेछ । यस्तै थप अवसरहरू अन्वेषण पनि जारी राख्नेछ । यसबाट भारतीय बजारमा दह्रो उपस्थिती जनाउन सहयोग पुग्नेछ ।

एयरटेल र गुगलले नवीन उत्पादनहरू मार्फत डिजिटल इण्डियाको अवधारणालाई थप अगाडि बढाउनेछ । भविष्यमा सबल नेटवर्क बनाउने डिजिटल प्लेटफर्म मार्फत थप नयाँ काम पनि यसै मार्फत हुनेछ ।

‘भुक्तानी इकोसिस्टमको साथ, हामी भारतको डिजिटल इकोसिस्टमको क्षेत्र तथा यसको प्रभावलाई बढाउन गुगलसँग मिलेर काम गर्न तयार भएका हौ’, भारतीय एयरटेलका अध्यक्ष सुनिल भारतीय मित्तलले भनेका छन् ।

गुगल तथा अल्फाबेटका सीईओ सुन्दर पिचाईले भने, ‘ एयरटेलमा हाम्रो व्यावसायिक र इक्विटी लगानी स्मार्टफोनहरूमा पहुँच बढाउन, नयाँ व्यापार मोडेलहरूको बढावाका लागि कनेक्टिविटी बढाउन र कम्पनीहरूलाई डिजिटलमा रूपान्तरण गर्न सहयोग पुर्याउने उद्देश्यका साथ गुगल फर इन्डिया डिजिटाइजेसन कोषको प्रयोग गर्न लागिएको हो ।’ यो काम हाम्रो निरन्तरता यात्रा हो । हामी अगाडि बढ्छौ ।

गुगलको यो घोषणापछि भारतीय दूरसञ्चार क्षेत्रमा सेवा दिइरहेका अन्य अपरेटरलाई पनि अब नयाँ लगानीकर्ता वा साझेदार खोज्न दबाब पर्नेछ । किनकी, सेवा विस्तारमा आक्रामक देखिएका सेवा प्रदायकले कुनै पनि कमजोरी गर्न नहुनेमा सहमत छन् । त्यसका लागि उनीहरुले थप के कस्तो रणनीति अवलम्बन गर्लान् र कस्ता साझेदार ल्याउलान् त्यो भने आगामी दिनमा नै देखिनेछ ।

(विभिन्न भारतीय मिडियाहरुको विवरणमा आधारित )


क्लिकमान्डु