ओमिक्रोनः सौराह र पोखराका होटलको बुकिङ धमाधम क्यान्सिल हुँदै



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोपको सहजतासँगै मौलाएको पर्यटन क्षेत्र ओमिक्रोनको पछिल्लो झट्काले फेरि निराशा बनाएको छ ।

विदेशी पर्यटक आउन केही सहज भएको अवस्थामा आन्तरिक पर्यटन बढ्दो क्रममा थियो । र, केही हदसम्म बुकिङहरु आउन थालेको भए पनि ओमिक्रोनसँगै दैनिक १० हजारभन्दा बढी संक्रमित भेटिन थालेपछि यतिबेला पर्यटकीय नगरी पोखरा र सौराहमा पर्यटक संख्या घट्न थालेको छ ।

सौराह होटल संघका अध्यक्ष दीपक भट्टराईका अनुसार यतिबेला होटलमा भएको बुकिङ धमाधम क्यान्सिल हुन थालेको छ ।

एमालेको महाधिवेशनपछि सौराहका होटलमा आन्तरिक तथा भारतीय पर्यटकको उपस्थिती राम्रो भए पनि ओमिक्रोनको त्रासले अहिले सन्नाटा छाएको उनको भनाइ छ ।


‘एमालेको महाधिवेशनले हाम्रा लागि निकै फाइदा गर्यो, त्यसपछि होटलमा ४५ प्रतिशत अकुपेन्सी भइराख्यो, व्यक्तिगत वा सामूहिक रुपमा सौराह घुम्न आउनेहरुको संख्या बढेको थियो,’ उनले भने, ‘तर ओमिक्रोनको लहरसँगै फेरि बुकिङ क्यान्सिल भइरहेको छ ।’

उनका अनुसार अहिले अकुपेन्सी मुस्किलले १० प्रतिशत पनि छैन ।

उनका अनुसार हाल संघ अन्तर्गत १२० वटा होटल छन् भने जसमा ४ हजारभन्दा बढी श्रमिक आबद्ध छन् । तर पछिल्लो समय बुकिङ धमाधम क्यान्सिल हुन थालेपछि होटलहरुलाई १÷२ जनालाई मात्रै राखेर अरु श्रमिकलाई विदामा पठाउन थालेका छन् ।

‘कोरोनाको पहिलो लहरपछि कै अवस्था आउने हो कि भन्ने त्रासमा व्यवसायीहरुले श्रमिकहरुलाई विदामा पठायन थालिसकेका छन्, यसले गर्दा ३ हजारभन्दा बढी श्रमिक विदामा बस्न बाध्य हुनेछन्,’ उनले भने ।

उनका अनुसार पछिल्लो समय अकुपेन्सी ४५ प्रतिशतबाट १० प्रतिशतमा झरेको बताए ।

‘मेरै होटलमा पनि ८÷९ वटा बुकिङ रद्द भएका छन्, अन्य होटलको अवस्था पनि त्यस्तै छ,’ उनले भने ।

यता पर्यटकीय नगरी पोखरामा पनि होटलको अकुपेन्सी १० प्रतिशत पनि छैन ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अहिले मुस्किलले १० प्रतिशत अकुपेन्सी भएको बताए ।
उनका अनुसार १२ हजार होटलमा २० हजार रुम र औसतमा ४० हजार बेडरुम छन् । तर अकुपेन्सी मुस्किलले १० प्रतिशत पनि पुग्न छाडेको छ ।

‘विगतका अन्य वर्षमा पनि यो हाम्रा लागि अफ सिजन हो, त्यसमाथि विदेशी पर्यटक नआएको र आन्तरिक पर्यटक पनि निकै कम भएकाले होटलको आम्दानी संकुचित भएको छ,’ उनले भने ।

उनका अनुसार पोखरा आउने कुल पर्यटकमध्ये अधिंकाश ट्रेकिङका लागि आउने हुन् । ट्रेकिङका लागि कम्तीमा ४ देखि १५ दिनको समय लाग्छ ।

‘ओमिक्रोनका कारण कुन बेला बाटो बन्द हुने हो कसैलाई थाहा छैन, त्यसैले पनि मानिसहरु घुम्नका लागि बाहिर निस्कन छाडेका छन्,’ उनले भने ।

सरकारले ओमिक्रोनको बढ्दो संक्रमण दरका आधारमा २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने, माघ ७ गतेपछि सेवा लिँदा अनिवार्य कोरोना खोप कार्ड पेश गर्नुपर्ने नियम बनाएको छ ।


क्लिकमान्डु