प्रविधिको प्रयोगले निम्त्याएको ‘नेचर डेफिसीट डिसअर्डर’बाट यसरी हुँदैछौं शिकार



विश्वमै नयाँ समस्याकारुपमा देखिएको ‘नेचर डेफिसीट डिसअर्डर’ के हो भन्ने विषयमा प्रवेश गर्नुअघि तपाईंलाई मेरो एक सामान्य अनुभव सुनाउँछु ।

केही दिनअघि म साथीहरुसँग एक पदयात्रामा गएको थिएँ । पदयात्रामा हिडिरहेको बेला जुत्ता पानीमा भिजेर खाली खुट्टा हिँड्नुपर्ने भयो ।

सानो हुँदा गाउँको धुले बाटोमा खालीखुट्टा दगुरेको मलाई जुत्ता खोलेर हिँड्न सकिहाल्छु नि भन्ने आत्मविश्वास थियो ।

जुत्ता खोले र पैदल हिँड्न थाले । मनले सोचेजस्तो हिँड्न सकिँन । सजिलो र सामान्य बाटोमा पनि मेरो खुट्टा लरबराउन थाले । आफैंलाई सन्तुलनमा राख्न नसकेको जस्तो भयो । पैताला धेरै बिझाए ।

त्यतिबेला मलाई अनुभव भयो म र प्रकृत्तिबीचको दूरी फराकिलो बन्दै गइसकेको रहेछ । हिँजो हाम्रो पुर्खाहरु सहजैरुपमा खालीखुट्टा हिँड्न सक्थे भने हामी हिँड्न नसक्ने कसरी भयौं भन्ने कुराले एकैछिन मन पिरोल्यो ।

काठमाडौं शहर छिरेदेखि प्रविधि र ग्याजेटबिना कहिल्यै दिन बितेनन् । खाली समय बिताउन परे पनि मूल ढोकाबाट बाहिर कहिल्यै निस्किनु परेन ।

निस्कनै परे पनि जुत्ता कसेर कानमा एयरफोनबिना हिँडिएन । यस्ता कैयन वर्ष गए जसले गर्दा हामी आफ्नै पैतालाभन्दा प्रविधिमा निर्भर भइसकेका थियौं ।

प्रविधिको बढ्दो प्रयोग घर र कार्यालयबाट बाहिर ननिस्किने र घरका कंक्रिटबाहेक प्रकृत्तिको अनुहार नै नदेखिने सहरले हामीलाई प्रकृतिबाट धेरै टाढा पुयाउँदै छ । यो सामान्य कुरा होइन, यो एक समस्या बन्दै छ ।

यो अनुभव मेरो मात्र होइन, तपाईंहरुको पनि होला । तपाईं–हामीजस्ता कैयन युवाको अनुभव हो यो । यसले के देखाउँछ भने मानव र प्रकृत्तिको दुरी बढ्दै गएको छ ।

हो, आज म प्रकृतिसँग टाढा हुँदै गएको पहिलो पुस्ताको कुरा गर्दै छु । यसलाई सामान्य अर्थमा ‘नेचर डेफिसीट डिसअर्डर’ भनिन्छ ।

हामी मानव सभ्यता विकासको एउटा यस्तो क्षणमा छौं जाहाँ मानिस प्रकृत्तिसँग सभैभन्दा टाढा छ । र, आउँदो पुस्ता त एक उदाहरण र अध्ययनको पुस्ता बनेको छ । जसमा मानिस प्रकृत्तिभन्दा प्रविधीसँग बढी नजिक रहेको छ ।

आउँदो पुस्तामा यसको कस्तो प्रभाव पर्ने हो भन्ने सबैको कौतुहलताको बिषय बनेको छ ।

अहिले पनि थुप्रै बच्चा र युवाहरुमा यसको प्रभाव देखिन शुरु गरिसकेको छ । जसले यसको न्यूनिकरणका उपाय खोज्न हामीलाई बारम्बार घच्घच्याइरहेको छ । यसले एउटा नयाँ अध्ययन र खोजको बिधा जगाएको छ, जसलाई हामीले ‘नेचर डेफिसीट डिसअर्डर’ भनेर बुझ्छौं ।

रिचार्ड लोउभले पहिलो पटक ‘नेचर डेफिसीट डिसअर्डर’ भन्ने शब्द प्रयोग गरेका थिए । उनको शाब्दिक परिभाष अनुसार ‘नेचर’ भनेको प्रकृत्ति, ‘डेफिसीट’ भनेको कमी र ‘डिसअर्डर’ भनेको खराबी वा बिकार हो ।

त्यसैले झट्ट सुन्दा कुनै ठूलै रोगको नामजस्तो सुनिने भए पनि नेचर डेफिसीट डिसअर्डर भनेको एक शारिरीक र मानसिक अवस्थामात्रै हो, जहाँ मानिसले प्रकृत्तिसँगको सामिप्यता बिस्तारै गुमाउँदै जान्छ । र, उसले सामान्य प्राकृत्तिक घटनाक्रम र क्रिया पनि अप्ठ्यारो मान्दै जान्छ ।

चिकित्साशास्त्रले यसलाई कुनै रोग भनेर त स्वीकार गरिसकेको छैन । तर, पनि विभिन्न खोज र सर्वेक्षणमा यसले बिकरालरुप लिँदै गएको देखिन्छ । हामी आजभन्दा भोलि यसरी प्रविधिको अत्याधिक प्रयोग गर्दै गएको छौं कि हामीले बाहिरी संसारसँगको निकटता र सम्बन्ध धेरै कम गर्दै गएका छौं ।

आज मोबाइल, टेलिभिजन र कम्प्युटर अनि घरको चारभित्ता नै हाम्रो संसार भइसकेको छ, जसकारण पनि हाम्रो र प्रकृत्तिको सम्बन्ध निकै टाढिन पुगेको छ ।

‘नेचर डेफिसीट डिसअर्डर’ले प्रायः गरेर हुर्कंदै गरेका बच्चाहरुलाई धेरै असर गरेको देखिन्छ । आज हामीले बच्चाहरुलाई घरभित्रै राख्छौं, बाहिरी क्रियाकलाप कम र भित्री प्रविधिको प्रयोग बढी गर्नाले पनि बच्चाहरुले सामान्य प्राकृतिक परिवेश र घटनाक्रम पनि नबुझ्ने गरेको देखिन्छ । बाहिरी प्रकृत्तिसँगको कमिले बच्चाहरुमा थुप्रै खालका समस्याहरु देखापर्न थालेका छन् ।

यस्ता समस्याहरुमा रोग प्रतिरोधात्मक क्षमतामा कमी हुनु, ध्यान केन्द्रिक गर्ने क्षमतामा कमी आउनु, कुनै पनि कुरालाई लामो समयसम्म निरन्तरता दिन नसक्नु, सानो असफलतामा पनि हार मान्नु र सजिलै पुरै कार्य नै छोडेर अर्को शुरु गर्नु र डिप्रेसनको सम्भावना बढ्नु आदि रहेका छन् ।

बच्चाहरु मात्र होइन, युवा र वयस्कहरु पनि बिस्तारै अयका थुप्रै असरहरु देखिन थालेका छन् । सानो काम गर्दा पनि हातमा पानीका फोका उठ्ने, केहि दुरी हिँड्दा पनि निकै गाह्रो पर्ने, घर अफिसमा एसीको नियन्त्रित हावामा बस्दै गर्दा बाहिर निस्किदा सामान्य प्राकृत्तिक हावापानीको बदलावले पनि शारीरिक समस्या निम्त्याउने जस्ता समस्याहरु हामीले दैनिकरुपमै महशुस गर्न थालेका छौं ।

हार्वर्ड मेडिकल स्कुलको एक अध्ययनले पनि तुलानात्मक रुपमै घर वा अफिसभित्र बढी समय बिताउने मानिहरुभन्दा बाहिर फिल्डमा समय बिताउने मानिसहरुमा मल्टिटास्किङ क्षमता, जोखिम बहन गर्ने क्षमता, पढ्ने र बुझ्ने क्षमता निकै धेरै रहेको पाइएको छ ।

मानिस यसरी प्रकृत्तिसँग टाढिनुले मनिसलाई मात्र होइन अरु प्राणीहरुलाई पनि असर परेको छ । मानव विकासक्रममा हामी प्रकृत्तिका प्रत्येक पाटासँग जोडिदै विकास भएका हौं । जंगली जनावरदेखि रुख–बिरुवासम्म हामीले नजिकको सम्बन्ध कायम गर्दै अगाडि बढ्दै गर्दा आज ती जनावरहरु त्यहाँ छन् कि छैनन् भन्ने अत्तोपत्तो नपाउने गरी हामी घरभित्र थुनिएका छौं ।

हामीले प्रकृत्तिसँग टाढा भयौं, प्रकृत्तिमै बस्नुको अर्थ जंगलमै गएर बस्नु पर्छ भन्ने होइन । दैनिक जीवनमा केही समय छुट्याएर बच्चाहरुसँगै बाहिर पार्क तथा बगैंचामा निस्कने, समय समयमा पदयात्रा र अवलोकन भ्रमणहरुमा निस्कने गर्नाले पनि सजिलैसँग हामीले प्रकृती र प्रविधिमा सन्तुलनकायम राखेर दुवै किसिमका आवश्यकताहरु पुरा गर्न सकिन्छ ।

यसो गर्नाले हामीले प्रकृत्तिमा आइरहेका परिवर्तनसँग घुलमिल हुन सकिन्छ । सूर्यको किरणमा केही समय बिताउनाले भिटामी ‘डी’ को मात्रा पाइन्छ । र, अन्य नकारात्मक सोचहरुबाट पनि न्यूनिकरण भएर जान्छ भन्ने कुरा हामीलाई अवगत नै छ ।

त्यसैले बालबालीकाहरुलाई पनि घरमै थुनेर राख्नुभन्दा बाहिर मैदानमा खेल्न पठाउनाले उनीहरुको शारीरीक र मानसिक विकासमा ठूलो सकारात्मक असर पर्छ जसले ‘नेचर डेफिसाट डीसअर्डर’जस्ता समस्याहरु आउन दिँदैन ।

त्यसैले ‘नेचर डेफिसिट डिसअर्डर’ अबको भविष्यको चुनौति हो । भोलिका दिनमा आइपर्ने समस्यालाई आजका दिनबाट नै बुझेर जतिसक्दो न्यूनीकरण गर्दै लगियो भने पक्कै पनि आगामी दिनहरुमा पनि यसलाई सहजै रोकथाम गर्न सकिनेछ । घर परिवारमात्रै नभएर राष्ट्र नीतिगत रुपमै यसलाई एक एजेण्डाको रुपमा लिएर अघिबढ्नु जरुरी छ ।

भिडियो गेम खेल्नुभन्दा चौरमा गएर आफैं खेलौं, म्यासेन्जरमा घन्टौं च्याट गर्नुभन्दा एकैछिन बगैंचामा बसेर कुराकानी गरौं, युट्युबमा टाढा टाढाका ट्राभल भ्लग हेरेर रमाउनभन्दा नजिकै भए पनि समय मिलाएर घुमफिर गरौं ।

छोटै भए पनि पद यात्रामा निस्कौं । प्रकृत्तिलाई माया गरौं । प्रकृत्तिसँग छुट्टीनै लागेको आगामी पुस्तालाई हामीले पुन यही हावापानी र माटोसँग रमाउन सक्ने बनाउने दायित्व हामीमा छ । यस दाहित्वलाई पूरा गरौं ।


क्लिकमाण्डू