चौधरी ग्रुपलाई सेयर नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै एनबी बैंक र आइएफआईसीले ‘भ्याकेट’ हाले



काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसीको सेयर व्यावसायिक घराना चौधरी समूहलाई नबेच्नू भन्ने आदेश खारेजीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा आइतबार ‘भ्याकेट’ दर्ता भएको छ ।

गत सातामात्रै काठमाडौं जिल्ला अदालतले एनबी बैंकमा रहेको आइएफआइसीको सेयर चौधरी समूहलाई नबेच्नु भन्दै आइसीएफसी र एनबी बैंकका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

गैरकानूनीरुपमा एनबी बैंकको सेयरधनी बनेका व्यवसायी मोति दुगडले एनबी बैंकको सेयर चौधरी ग्रुपलाई किन्न नदिन अदालतमा मुद्दा हालेका थिए । दुगडको उक्त मुद्दमको सुनुवाई गर्दै काठमाडौं जिल्ला अदालतका न्यायधीश रामचन्द्र पौडेलको एकल इजालशले सेयर बिक्री गर्ने कार्य नगर्नु÷नगराउनु भन्ने आदेश दिँदै ७ दिनभित्र आइएफआइसी र एनबी बैंकलाई लिखित जवाफ पेश गर्न समय दिएको थियो ।

‘नेपाल बंगलादेश बैंक लिमिटेडको ३६८२७४२६ कित्ता सेयर १५७ रुपैयाँका दरले खरिद गर्न गत मार्च ३१ तारिखमा राखिएको प्रस्ताव स्वीकार गरी विपक्षीबाट अप्रिल २ मा स्वीकृत गरी करार गरी अघि बढिसकेको भन्ने उजुरी साथ पेश गरेको पत्रबाट देखिँदा सो बमोजिम सेयर विपक्षीबाट लिखित जवाफ प्राप्त नभएसम्म सो सेयर अन्य व्यक्तिलाई बिक्री गर्ने कार्य नगर्नु नगराउने’ आदेशमा भनिएको छ ।

‘पहिलो कुरा कानूनीरुपमा मोतिलाल दुगड एनबी बैंकको सेयरधनी नै होइनन्, दोस्रो कुरा आइएफआइसीले दुगड र उनको समूहसँग सेयर बिक्री गर्ने कुनै सम्झौता वा सहमति गरेकै छैन,’ एनबी बैंक स्रोतले भन्यो, ‘त्यसैले सम्मानित अदालतले यसअघि दिएको आदेश खारेज गरीपाउँ भनेर आज (आइतरबार) काठमाडौं जिल्ला अदालतमा भ्योकट निवेदन दर्ता गरेका छौं ।’

अदालतले सम्पूर्ण कुरा बुझेपछि यसअघिको निर्णय खारेज गर्नेमा आफूहरु विश्वस्त रहेको उनको भनाइ थियो ।

गत बिहीबारमात्रै नेपाल बंगलादेश बैंकको सञ्चालक समितिले नविल बैंकसँग गाभिने सम्झौतापत्रमा हस्ताक्षर गरिसकेको छ । नविल बैंकको सबैभन्दा ठूलो सेयरधनी नेपालको प्रतिष्ठत व्यापारिक घराना चौधरी ग्रुप हो । चौधरी ग्रुपका अध्यक्ष विश्वविख्यात म्याजेगिन फोर्ब्सले सूचिकरण गरेका एकमात्र डलर अर्बपति हुन् ।

‘चौधरी समूहलाई आइसीएफसीको सेयर किन्नबाट रोक्न कालोसूचीमा परेका विवादास्पद व्यवसायी लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठको मिशन सफल बनाउनका लागि सनराइज बैंकका अध्यक्षसमेत रहेका मोति दुगड अदालत गएका हुन्,’ स्रोतले भन्यो, ‘आफू अध्यक्ष रहेको सनराइज बैंक नै राम्रोसँग चलाउन नसकिरहेका दुगड किन एनबी बैंकमा गैरकानूनीरुपमा प्रवेश गरेर रडाको मच्चाउँदै हिँडिरहेका छन्, त्यो प्रष्ट छ ।’

यसकारण दुगड एनबी बैंकको सेयरधनी होइनन्

एनबी बैंकको प्रमुख सेयरधनी आइएफआइसीले ०७७ असार २९ गते आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने सूचना जारी गर्यो ।

कानूनअनुसार एनबी बैंकमा बंगालदेशको आइएफआइसी बैंकको सेयर किन्ने हकदार एनबी बैंकका सेयरधनी थिए । सोही अनुसार एनबी बैंकले सूचना निकालेको थियो ।

एनबी बैंकको संस्थापक प्रवद्र्धक रहेको एनबी ग्रुपका सदस्यहरुले आइएफआइसी बैंकको सेयर किन्ने प्रस्ताव गरे । एनबी ग्रुपका जितबहादुर, लक्ष्मीबहादुर, एल्सन, बिल्सन श्रेष्ठदेखि लिएर उनीहरुको स्वामित्व कम्पनी हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले प्रस्ताव हालेका थिए ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले एनबी बैंकमा रहेको आइएफआइसीको सेयर किन्न एनबी ग्रुपका सदस्य तथा कम्पनीहरु ‘फिट एण्ड प्रोपर टेस्ट’मा अयोग्य ठहर गर्यो । राष्ट्र बैंकको नियमअनुसार यसरी संस्थापक सेयर किन्नका लागि बैंकका सेयरधनीहरु ‘फिट एण्ड प्रोपर टेस्ट’मा योग्य हुनुपर्छ ।

तर, एनबी ग्रुपका लक्ष्मीबहादुर र जितबहादु परिवारका सदस्य कालोसूचिमा परेको हुँदा राष्ट्र बैंकको नियमअनुसार योग्य भएनन् । लक्ष्मीबहादुर र जितबहादुरले प्रस्ताव दर्ता गरेपनि उनीहरुको पछाडि भने अरु व्यवसायिक घरानाहरु थिए ।

एनबी ग्रुप अयोग्य भएपछि सो सेयर चौधरी ग्रुपले किन्ने र नबिल बैंकमा एनबीलाई एक्विजेशन गर्ने प्रक्रिया अघि बढायो । गत सातामात्रै एक्विजिशनको सम्झौतासमेत भइसकेको छ ।

हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्टले आइसीएफसीको सेयर ७ अर्ब रुपैयाँमा किन्ने भनेर २०२१ अप्रिलमा सम्झौता गरेको दावी गरेको छ । तर, एनबी बैंकले भने यसप्रकारको कुनैपनि सम्झौता नभएको दावी गरेको छ ।

एनबी बैंकका सेयरधनीलाई मात्र आइएफआइसी बैंकको सेयर किन्ने पहिलो हकदार हुन्छ । त्यही हकको फाइदा उठाएर एनबी ग्रुपको कम्पनी हिमालयन क्यापिटलमा मोति दुगड, साहिल अग्रवाल, शेखर गोल्छा र पशुपति मुरारकाको प्रवेश भएको छ । जबकी, नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंकको संस्थापक सेयरधनी रहेको कम्पनी तथा फर्मको सेयर किनबेच हुँदा त्यसको स्विकृति नेपाल राष्ट्र बैंकबाट लिनुपर्छ ।

यस्तो छ राष्ट्र बैंकको व्यवस्था

हिमालयन क्यापिटलको एनबी बैंकमा ०.७० प्रतिशत सेयर स्वामित्व छ । यो कम्पनीको सेयरधनी परिवर्तन गर्न राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएपनि त्यो नगरेर दुगड र शंकर ग्रुप प्रवेश गरेका छन् । नियामक राष्ट्र बैंकले दुगड र अग्रवालले हिमालयन क्यापिटलको एनबी बैंकमा भएको सेयर किन्ने सम्झौतालाई मान्यता दिएको छैन । जसकारण दुगड र अग्रवाल एनबी बैंकको कानूनी मान्यताबिहिन सेयरधनी हुन् ।

सम्पत्तिको स्रोत पनि खुलेन

यतिसम्म कि हिमालयन क्यापिटलले ७ अर्बमा आइएफआइसीको सेयर किन्ने बताए पनि नबप्रबेशी लगानीकर्ताहरुले पैसा हालेका छैनन् । पैसा हाल्ने प्रतिवद्धता मात्रै गरेका छन् । र, अर्को कुरा राष्ट्र बैंकले हिमालयन क्यापिटलका सेयरधनीहरुलाई कर तिरेको ७ अर्ब रुपैयाँ नदेखिएको भन्दै सम्पत्तिको प्रष्ट स्रोत खुलाउन निर्देशन पनि दिइसकेको छ ।

‘कानूनी मान्यता नपाएको सेयरधनीले हालेको मुद्दामा यसअघि अदालतले जे फैसला गर्यो, त्यो तत्कालै खारेज हुनेछ,’ एनबी बैंक स्रोतले भन्यो, ‘आइएफआइसीले नै कुनै पनि सम्झौता नगरेको भन्दै अदालतमा सम्पूर्ण कागजात पेश गरेपछि दुगडजीहरुको खेल खत्तम हुन्छ । र, नविलसँगको एक्विजिशन प्रक्रिया रफ्तारमा अघि बढ्छ ।’


क्लिकमान्डु