बैंकरको क्षतिपूर्ती बीमालेख बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न पाइने



काठमाडौं । बीमा समितिले बैंकरको क्षतिपूर्ती बीमालेख नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै बिक्री गर्न सकिने प्रस्ट पारेको छ ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बैंकरको क्षतिपूर्ति बीमालेख सम्बन्धी थप स्पष्ट पारेको हो ।

समितिले सहकारी तथा अन्य संस्थालाई बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न नसकिने स्पष्ट पारेको हो ।

बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्रै उक्त बीमालेख बिक्रि गर्न सक्नेछन् ।

राष्ट्र बैंकबाट इजाजतपत्र बाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्त वित्तीय संस्थाहरुलाई मात्रै बैंकरको क्षतिपूर्ती बीमालेख बिक्री गर्न पाउने समितिले जानकारी दिएको छ ।

बीमा कम्पनीहरुले बैंकरको क्षतिपूर्ती सम्बन्धी बीमालेख बिक्री गर्दै आएका छन् । उक्त बीमालेख जारी भएपछि बीमालेख अवधिभर बीमाङ्क रकम थपघट गर्न नपाइने समितिद्वारा जारी निर्देशनमा उल्लेख छ ।

बैंकरको क्षतिपूर्ती बीमालेखले परिसरमा रहेको, पारवहनमा रहेको, जालसाजी वा हेरफेर, बेइमानी, धितो÷बन्धकमा राखिएको सामान लगायतको क्षतिको रक्षावरण गर्दछ ।

भूकम्प, ज्वालामुखी वा भूमिगत आगलागी वा अरु कुनै प्राकृतिक प्रकोप, बाढी, आँधीबेरी, हुरी बतास वा अरु कुनै वातावरणीय उथलपुथल, युद्ध, आक्रमण, विदेशी शत्रुको कारबाही वा कुनै युद्ध सरहको कारबाही, सैनिक विद्रोह, क्रान्ती वा शक्ति अपहराण वा जंगी कानून वा घेराबन्दी स्थितिको घोषणा लगाएको जोखिमको सुरक्षण यस बीमालेखले गर्दैन ।

यसका साथै, बीमित बैंक तथा वित्तीय संस्थाको तलबी कर्मचारी वा कामदार बाहेक संचालक वा साझेदारहरुबाट हुन गएको पूरा वा आंशिक क्षति नोक्सानी हुँदा बखतको जोखिमको सुरक्षण यस बीमालेखले गर्दैन ।

एटीएम तथा मोवाइल बैंकिङ्क, शाखारहित बैंकिङ्क, पोष्टल रजिष्टर्डबाट पठाइने मूल्यवान कागजातहरुको बीमाङ्क रकमको सीमा बीमितको आवश्यकता तथा सुुरक्षा विधि दृष्टिगत गरी बीमा कम्पनीले तोक्न सक्ने व्यवस्था छ ।

कर्मचारीको बेइमानीबाट हुने क्षतिको सुरक्षणका लागि बीमितको कूल कर्मचारी संख्यामा प्रति कर्मचारीको थप १० रुपैयाँ बीमाशुल्क तिरेर बीमालेख जारी गर्न सकिने व्यवस्था समितिले गरेको छ ।

बैंकको स्वीकृत सूचीमा परेको धितो मूल्याङ्कनकर्ताको बेइमानी तथा अपराधिक कार्यबाट बीमितलाई पर्न जाने हानी नोक्सानीको सुरक्षण बीमा कम्पनीले तोकेको रकम वा आधारभूत बीमांकको निश्चित प्रतिशत भन्दा बढी नहुने गरी बीमालेखको अनुसूचीमा समावेश गर्न सकिने व्यवस्था छ ।


क्लिकमान्डु