इलेक्ट्रिक सवारीको ब्याट्रीलाई कसरी बचाउने र बढी माइलेज पाउने ?



काठमाडौं । हाल नेपाल लगायत विश्व समूदायले विद्युतीय सवारी साधन प्रयोगमा जोड दिँदै आएको छ । इलेक्ट्रिक स्कुटर वा कार खरिद गर्दा त्यसले दिने माइलेज र ब्याट्रीको विषयमा सबैको चासो हुन्छ । यो गाडीको मूख्य पाटो भनेकै ब्याट्री र त्यसले दिने माइलेज हो ।

यस्ता इलेक्ट्रिक सवारी प्रयोग गर्दा कसरी धेरै माइलेज पाउनका लागि ब्याट्रीमा विशेष ध्यान दिनुपर्छ । नेपालमा रहेका वा अरुदेशमा होस् हरेक कम्पनीले आफ्नो इलेक्ट्रिक सवारी साधनको माइलेज र ब्याट्रीको वारेन्टी तोकेका हुन्छन् ।

कतिपय ग्राहकहरुले कम्पनीले तोकिएको माइलेजभन्दा कम रेञ्ज दिने गरेको पनि बताउँदै आएका छन् । त्यस्तो अवस्थामा आफ्नो इलेक्ट्रिक सवारीको माइलेज कसरी बढाउन सकिन्छ । यसका लागि केही कुराहरु अपनाउनु पर्छ ।

लोड धेरै नगर्ने
गाडीमा भएको मोटरको क्षमताभन्दा धेरै लोड भएमा इलेक्ट्रिक साधनमा मोटर चाँडै बिग्रने हुन्छ । यसको वारेन्टी त हुन्छ तर वारेन्टीपछि फेर्न महङ्गो पर्न जान्छ ।

ओभर लोडले गर्दा मोटरलाई त्यो क्षमता बहन गर्नका लागि बढी उर्जाको आवश्यकता पर्छ । जसले ब्याट्रीको खपत बढ्न जान्छ । ब्याट्रीको खपत बढ्ने बितिकै इलेक्ट्रिक सवारी साधनले दिने माइलेज कम हुन्छ ।

ब्याट्री शुन्यमा नराख्ने
जुनसुकै इलेक्ट्रिक उपकरणहरुलाई कहिले पनि शुन्य प्रतिशत चार्जमा राख्नु राम्रो हुँदैन । त्यस्तै इलेक्ट्रिक सवारी साधनलाई पनि कहिले शुन्य प्रतिशत बनाएर ब्याट्रीलाई चार्ज गर्नु हुँदैन । त्यस्तो गर्नाले ब्याट्रीको क्षमतामा प्रभाव पार्छ ।

जसले गर्दा इलेक्ट्रिक सवारी साधनको माइलेजमा बिस्तारै कमी आउन थाल्छ । किनभने ब्याट्रीको क्षमतामा गाडीको माइलेज निर्भर हुन्छ । त्यसैले हरेक विद्युतीय सवारी साधन बिक्री गर्ने कम्पनीहरुका अनुसार जहिले पनि २० प्रतिशत चार्ज बाँकी हुँदै ब्याट्री चार्ज गर्नुपर्ने बताउँदै आएका छन् । यसको गर्दा ब्याट्रीको लाइफ र त्यसले दिने माइलेजमा पनि राम्रो भइराख्छ ।

स्पिड लिमिट ख्याल गर्ने
हरेक विद्युतीय सवारीको स्पिड लिमिट हुन्छ । साथै इलेक्ट्रिक साधनलाई जहिले पनि इकोनोमिक स्पिडमा चलाउनु पर्छ ।

इन्धन गाडीको पनि ४० देखि ६० को स्पिडमा चलाउँदा इन्धनले राम्रो माइलेज दिन्छ भने जस्तै इलेक्ट्रिक सवारी साधनको पनि एउटा रेन्जको स्पिडमा चलाउदा ब्याट्री लामो समयसम्म टिक्छ । ब्याट्री लामो समय टिक्नु भनेकै माइलेज राम्रो दिनु हो ।

इलेक्ट्रिक सवारीमा जति स्पिड धेरै गर्यो त्यती ब्याट्रीको खपत हुन्छ । अर्को पाटो भनेको स्पिड जति बढी भयो त्यति नै यसको ब्याट्री चाँडै खराब हुन्छ । त्यसैले इलेक्ट्रिक सवारी प्रयोग गर्दा स्पिडमा विशेष ध्यान दिनुपर्छ ।

कम्पनीले भनेको समयमा सर्भिसिङ गराउने
हरेक इलेक्ट्रिक सवारी बिक्री गर्ने कम्पनीहरुले मर्मत खर्च शुन्य भने पनि एउटा समयमा सर्भिसिङ गर्नुपर्ने बताएका हुन्छन् । सोही समयमा सर्भिसिङ गराउने गर्नुपर्छ ।

हरेक महिना दिनमा एक चोटी कम्पनीको आधिकारीक सर्भिस सेन्टरमा लाग्ने गर्नुपर्छ । सर्भिसिङ समयमा भयो भने ब्याट्रीको स्थिति लगायत सवारीमा भएको मेकानिकल कुराहरुको राम्रोसंग हेरचाह हुन्छ ।कहिले कही वायर सर्ट भएको रहिछ भने पनि ब्याट्रीको चार्ज छिटो सकिने हुन्छ ।

यात्रा गर्दा छोटो दुरी छनौट गर्ने
यो हाम्रो जस्तो विकासोन्मुख देशमा सधैं सम्भव छैन तर पनि सिधा र कम गतिमा यात्रा गर्न सकिने बाटो विकल्पका रुपमा सोच्ने गरौं । साथै सकेसम्म उकालो बाटो नजाँदा राम्रो हुन्छ । उकालोमा धेरै इनर्जी खपत हुन्छ । त्यसले माइलेज घटाउँछ । स्पष्ट रूपमा आफ्नो रुट परिवर्तन गर्न सकियो भने ब्याट्रीको क्षमता र माइलेजमा कुनै खाल्को समस्या आउँदैन ।

एसी र अरु सिस्टमहरुको प्रयोग कम गर्ने
इलेक्ट्रिक सवारीमा भएको एसी र अरु सिस्टमहरुले ब्याट्रीको चार्ज खपतमा धेरै फरक पारेको हुन्छ । यदी यसमा ध्यान दिएन भने ब्याट्री प्रायः यसका लागि मात्र खपत हुदाँ भनेको जस्तो माइलेज पाउन सकिदैन ।

ब्याट्रीमा भएको चार्ज अन्यन्त्र प्रयोग हुँदा माइलेजमा कमी आउँछ । त्यसैले एसी लगायत अरु सिस्टमहरु प्रयोगमा कमी गर्दा राम्रो हुन्छ । यसको मतलव यो हैनकी जाडोमा या गर्मीमा एसी चलाउन बन्द गरौं । तर कम गरौ अनावश्यक रुपमा चाँही प्रयोग नगर्दा इनर्जी बचत हुन्छ ।

ब्रेक कम लगाउने
यसो गर्दा पनि ब्याट्रीका इनर्जी खपतमा कमी आउँछ । ट्राफिक जाममा स्टार्ट बन्द गरेर बस्ने र जाम नपर्ने बाटोमा सकेसम्म एक्सिलेटरको भरमा चलाउने गर्दा राम्रो हुन्छ । यसले पनि ब्याट्रीको इनर्जी बचाउँछ अनि धेरै माइलेज दिन्छ । यसका लागि इको मोड अन गरेर चलाउदा राम्रो हुन्छ । यो सिस्टम हरेक इलेक्ट्रिक सवारीमा उपलब्ध हुन्छ ।

तातो ठाउँमा न राख्नुहोस्
इलेक्ट्रिक कारको सबैभन्दा ठूलो शत्रु भनेकै तातो हो । जब गाडीलाई तातो ठाउँमा राखिन्छ ब्याट्रीले सेन्सरहरूमा पावर आपूर्ति गर्न कठिनाइ हुन्छ । जसको कारण ब्याट्रीले आफ्नो क्षमता अनुसारको इनर्जी प्राप्त गर्न सक्दैन फलस्वरुप माइलेज कम दिने ब्याट्री बिग्रिने लगायतका समस्याहरु देखा पर्दछन् ।


क्लिकमान्डु