बीमा समिति अध्यक्ष सूर्य सिलवालको ‘अराजकता’



काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालको एउटा भनाइले आइतबार बीमा कम्पनीको सेयर मूल्यमा अस्वभाविक वृद्धि देखियो ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने बताएपछि लगानीकर्ताहरु बीमा कम्पनीको सेयरमा झुमिए ।

जसका कारण जानकारहरु सेयर बजार जस्तो संवेदनशिल विषयमा बोल्दा होस् पुर्याउनु पर्नेमा अध्यक्ष सिलवाल चुकेको टिप्पणी गरेका छन् । कतिपयले त सिलवालमा आएको विचलन समेत भनेका छन् ।

सिलवालले विभिन्न सञ्चार माध्यमसँगको अन्तर्वार्तामा बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न समिति लागेको ठोकुवा गर्दै आएका छन् ।
अध्यक्ष सिलवालको उक्त अभिव्यक्तिपछि आइतबारको कारोबारमा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण देखियो ।

उक्त दिन जीवन बीमा कम्पनीको सेयर मूल्य ९.७८ प्रतिशत र निर्जीवन बीमा कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले बढ्यो । पछिल्लो समय सेयर बजारले ओरालो यात्रा कायम गरिरहेका बेलामा बीमा कम्पनीको सेयर मूल्य एकैदिन अस्वभाविक रुपमा वृृद्धि हुनुको कारण सिलवालकै अभिव्यक्ति थियो ।

हाल नेपालमा ४१ वटा बीमा कम्पनी सञ्चालनमा छन् । जसमध्ये नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३० बीमा कम्पनी सूचीकृत छन् ।
हाल सञ्चालनमा आएका निर्जीवन बीमा कम्पनीका लागि न्यूनतम चुक्ता पूँजी १ अर्ब र जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम चुक्ता पूँजी २ अर्ब रुपैयाँ तोकिएको छ ।

समितिले जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम ४ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको लागि न्यूनतम २ अर्ब रुपैयाँ बराबरको मापदण्ड बनाउने तयारी गरिरहेको अध्यक्ष सिलवालले बताएका छन् ।

कम्पनीहरुको हालको पूँजी थोरै भएको भन्दै समितिले पूँजी वृद्धि गर्न लागेको उनले बताउँदै आएका छन् ।

तर, सो सम्बन्धी आधिकारिक निर्णय भने नभएको उनको भनाइ छ ।

‘नेपालका बीमा कम्पनीको पूँजीको आकार एकदमै सानो भयो । रिस्कको मात्रा बढ्दै गयो,’ सिलवालले भनेका छन्, ‘सकेसम्म हकप्रद सेयर निष्काशन गर्न नदिने पक्षमा छौं ।’

उनले बीमा कम्पनीहरुलाई हकप्रद निष्काशन गर्न नदिने समेत बताउँदै आएका छन् । सिलवाल आएपछि बीमा समितिले एउटा बीमा कम्पनीले मात्रै हकप्रद निष्काशनको अनुमति पाएको छ ।

पूँजी वृद्धिका लागि अन्य पाटोहरु खोज्नेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

‘बोनस सेयरको माध्यमबाट पूँजी वृद्धि गर्न दिएका छौँ । हकप्रद सेयरले बजारलाई खल्बलाउने काम गर्दो रहेछ,’ सिलवालले भनेका छन्, ‘दायरालाई वृद्धि गर्दै जाँदा, सबैलाई बीमाको दायरामा ल्याउनका लागि यति सानो पूँजीले त हुँदैन’।

केही दिन अगाडि बीमा समितिले विश्व बैंकसँगको सहयोगमा बीमा कम्पनीमा जोखिममा आधारित पूँजी प्रणाली लागू गर्नको लागि सीइओहरु बोलाएर अन्तरक्रिया गरेको थियो ।

बीमा कम्पनीको चुक्ता पूँजी बढाउने काम नियामक निकाय हो । नियामक निकायले ऐन, नियमको परिधिभित्र रहेर कम्पनीको चुक्ता पूँजी बढाउने अथवा नबढाउने निर्णय लिन्छन् ।

नियामक निकायको जिम्मेवार पदमा बसेर भविष्यमा यो गर्छु भन्दै हिँड्दा त्यसको सोझो असर भने आज कै दिनमा पर्न जान्छ ।

नेपाल सरकारले बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा गत माघ १९ गते नियुक्त गरेको थियो ।

अध्यक्ष सिलवाल नेपाल सरकारका पूर्वसचिव समेत हुन् । सिलवालले सूचना तथा सञ्चार मन्त्रालयका सचिवको जिम्मेवार समेत सम्हालेका थिए । उद्योग सचिव तथा गृह सचिव पनि भएका थिए । सिलवालसँग अर्थमन्त्रालयमा लामो समय काम गरेको अनुभव समेत छ ।

सिलवाल अध्यक्ष पदमा नियुक्त भएको केही महिनामै पुनर्बीमा कम्पनी हिमालयन रिलाई लाइसेन्स दिए ।

नयाँ पुनर्बीमा कम्पनी हिमालयन रिलाई लाइसेन्स दिएका अध्यक्ष सिलवाललाई लासेन्स वितरण गर्दा मोटो रकम लिएको भन्दै आरोप लाग्यो ।

पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिँदा रकम लिएको आरोप खेपिरहेका बेला सिलवाललाई हिमालयन रिको व्यवसाय सुनिश्चित गरेको भन्दै अर्को आरोप लाग्यो । बीमा समितिले सबै जोखिमको पुनर्बीमा स्वदेशमै रहेको पुनर्बीमा कम्पनीमा गर्न निर्देशन थिएको थियो ।


बिजया बास्कोटा