चाँदी आयातमा थप कडाई, आगामी दिनमा आपूर्तिमा समस्या आउन सक्ने



काठमाडौं । बढ्दो आयातको कारण विदेशी सन्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले २० वस्तुमा आयात कडाइ गरेको छ । सोमबार परिपत्र जारी गर्दै ती वस्तुमा सतप्रतिशत र ५० प्रतिशतसम्म मार्जिन रकम राख्नुपर्ने निर्देशन दिएको छ ।

राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन र अन्य दुई वस्तुमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा २० वस्तुमध्ये चाँदी र चाँदीका कच्चा पदार्थ पनि रहेको छ । यसअघि नै सरकारले विदेशी सन्चिती बढाउनको लागि चाँदीमा लाग्ने भन्सार बढाएको थियो । जसमा सरकारले चाँदीमा प्रति १० ग्राममा ८७ रुपैयाँ भन्सार शुल्क लाग्ने व्यवस्थालाई हटाएर उक्त भन्सार शुल्क बढाएर १०७ रुपैयाँ पुर्याएको थियो ।

त्यस्तै, पछिल्लो समय अस्वाभाविक रुपमा चाँदीको आयात भएको भन्दै , गत मंसिरको दोस्रो साता मात्रै राष्ट्र बैंकले परिपत्र जारी गर्दै कोटा तोकेको थियो । राष्ट्र बैंकले अस्वाभाविक रुपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएपछि एकपटकका लागि चाँदी आयातमा सीमा तोकेको थियो ।

विगतको दिनमा एक पटमा करिब १ हजार केजीसम्म आयात गर्न पाउने व्यवस्थालाई राष्ट्र बैंकले एक पटकमा ३५ हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्ने व्यवस्थासहित कडाई गरेको थियो ।

चालु आर्थिक वर्षको ३ महिनादेखि नै आयातको स्थितिलाई हेरेर कडाई गर्दै आएका राष्ट्र बैंकले चाँदीमा थप कडाई गरेको छ । राष्ट्र बैंकले हालै जारी गरेको परिपत्रअनुसार अब चाँदी आयातका लागि खोलिने एलसीका लागि बैंकमा शतप्रतिशत भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

विगतको दिनमा एलसीका लागि बैंकबाट पर्याप्त ऋण पाइने व्यवस्था थियो । तर, बढ्दो आयातले गर्दा तरलता अभाव भएको भन्दै राष्ट्र बैंकले सन्चिती बढाउनका लागि सो निर्देशन दिएको छ ।

गत मंसिरमा मात्रै चाँदीमा कोटाको व्यवस्था गरेको थियो । हाल एक महिना नबित्दै नयाँ व्यवस्था लागू गरेको छ । जसले गर्दा चाँदी व्यवसायीहरूमा थप कडाई हुने भएको छ ।

यसअघि कोटाको व्यवस्थाले पनि बजारमा कालोबजारी तथा मूल्य बढ्ने व्यवसायीहरूको अनुमान गरेका थिए । साथै, हालको व्यवस्थाले झन व्यवसायी मारमा पर्ने उनीहरूको भनाइ छ ।

उक्त व्यवस्थाले हजारौं व्यवसाय संकटमा पर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य बताउँछन् । उनकाअनुसार राष्ट्र बैंकले यसअघि नै चाँदीमा पटक–पटक कडाई गर्दै आएको अहिले व्यवसायीहरूलाई नै संकटमा पर्ने गरी नयाँ निर्देशन जारी गरेको छ ।

पछिल्लो समय चाँदीको आयात हेर्दा निकै बढेको देखिन्छ । उक्त आयातित चाँदी व्यवसायीले मात्रै नभएर अन्य क्षेत्रका व्यक्तिहरूले बढी आयात गरेको महासंघको ठहर छ ।

राष्ट्र बैंकको नयाँ मापदण्डले बजारमा चाँदीको अभाव देखिने उनको भनाइ छ । ‘हाल बजारको अवस्था सामान्य जस्तै रहेको छ,’ उनले भने, ‘आगामी दिनमा समयमै आयात गर्न नसकेमा अभाव हुन्छ ।’

विगतको दिनमा चाँदी आयातका लागि थप ऋण पाइन्थ्यो । अबदेखि पहिलै भूक्तानी गर्नुपर्ने भएकाले मूल्य बढ्ने र व्यवसायीहरू मारमा पर्ने उनको बुझाइ छ । अहिले चाँदी मात्रै नभएर चाँदीको कच्चा पदार्थमासमेत थप कडाइ गरेको हुनाले बजारमा आपूर्तिको समस्या सिर्जना हुने उनको दाबी छ ।

‘नेपालमा विभिन्न उद्योग छन् । काम गरेर खाने श्रमिकहरू छन् । जसले गर्दा उनीहरूलाई आवश्यक कच्चा पदार्थ उपलब्ध नहुँदा समस्या उत्पन्न हुनेछ,’ उनले भने ।

भन्सार विभागको तथ्याङ्कअनुसार ४ महिनाको अवधिमा हालसम्मकै उच्च चाँदी आयात भएको छ । ४ महिनाको अवधिमा नेपालले चाँदी तथा चाँदाीको कच्चा पदार्थ मात्रै १४ अर्ब २८ करोड ७३ लाख रुपैयाँ बराबरको आयात भएको छ । उक्त तथ्याङ्क सो अवधिमा आयात हुन भनेको हालसम्मकै उच्च हो । त्यसैले, राष्ट्र बैंकले अस्वाभाविक रुपमा आयात भएको वस्तुलाई कडाइ गर्दै लगेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु