हस्तकला व्यापार घाटा घटाउने व्यवसाय हो : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गराउन सक्ने व्यवसायका रुपमा हस्तकला रहेको बताएका छन् ।

उपराष्ट्रपति पुनले नेपाल हस्तकला महासंघको स्थापनाको स्वर्ण वर्ष प्रवेश गरेको अवसरमा स्वर्ण शुभराम्भ तथा १० औं हस्तकला दिवस एवं हस्तकला वर्ष २०२१ समापन समारोहमा उक्त कुरा बताएका हुन् ।

उपराष्ट्रपति पुनले हस्तकला क्षेत्रले देशभर महिलालगायत सम्पूर्ण मानिसलाई उद्धमी बनाएको र रोेजगाररी प्रदान गरी गरिबी न्यूनिकरणमा टेवा पुर्याएको बताए । उनले हस्तकला क्षेत्रले विश्वबजारमा हस्तकला निकासी गरी नेपालको विविधतायुक्त र संस्कृतिको शिर उँचो राखेको बताए ।

पुनले नेपालको मौलिक पहिचान विश्वबजारमा निर्यात गरी सामाजिक, आर्थिक विकास गर्न मदत पुर्याएको जिकिर गरे । साथै, हस्तकला क्षेत्रले नेपालको मौलिक पहिचानको बजारीकरणमा सहयोय गर्दै आएकाले आगामी दिनमा अझ गुणस्तरीय हस्तकला उत्पादनमा ध्यान दिई निकासी वृद्धिमा ध्यान दिनुपर्ने बताए ।

नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले महासंघले ५०औं वर्षमा प्रवेश गरेको बताउँदै यस अवधिमा विभिन्न कार्य सम्पादन गरेको बताए । उनले हस्तकला क्षेत्रको विकास र प्रवर्दन गर्न महासंघले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा उल्लेख्य काम गरेको बताए । जसमा महासंघले हस्तकला निर्यात गरी सरकारलाई ठूलोे योगदान पुर्याउँदै आएकाले सरकारले हस्तकला क्षेत्रलाई विकास गर्न सहयोग गर्नुपर्ने बताए ।

महासंघका उपाध्यक्ष रविन्द्र शाक्यले महासंघले गरेको प्रतिवेदन पेश गर्दै हस्तकला महासंघले देशभर स्वरोजगारसहित निकासीमा ठूलो योगदान पुर्याउँदै आएको बताए । उनकाअनुसार हाल विश्वका विभिन्न देशमा हस्तकला क्षेत्रको ४२ वटा वस्तुहरु पहिचान गरी निकासी गर्दै आएको छ ।

हस्तकला महासंघले अर्थतन्त्रमा सुदृढीकरण गर्न सहयोग गरेको बताउँदै कोभिडले गर्दा व्यापार खुम्चिएको बताए । यसले गर्दा सरकारले उक्त क्षेत्रमा आवद्ध व्यक्तिलाई सहुलियत दिनुपर्ने जिकिर गरे ।

साथै, खस्किएको हस्तकलालाई संरक्षण गर्नका लागि सरकारले प्राथमिकतामा राखेर प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेकोे छैन,’ उनले भने, ‘विभिन्न कच्चा पदार्थको अभाव हुँदा विभिन्न समस्या भोगेको अवस्थामा समेत केही सहयोग गरेको छैन ।’

यसै अवसरमा महासंघले हस्तकला क्षेत्रमा योगदान गर्दै आएका व्यक्तित्वलाई सम्मान प्रदान गरेको छ । साथै, महासंघले सदस्यतर्फ उत्कृष्ट निकासीकर्तालाई सुनको तक्मासहित सम्मान गरेको छ । जसमा महासंघले प्रथम भएका एभरेष्ट फेसनका सञ्चालक महेश्वर श्रेष्ठ, द्धितीय श्री फेल्ट एण्ड यार्नका सञ्चालक सुनिता शेर्पा र तृतिय भएका बागमति आर्टस् एण्ड ह्यान्डीक्राफ्टका सञ्चालक नरेशलाल श्रेष्ठलाई सुनको तक्मासहित सम्मान गरिएको छ ।

त्यस्तै, गैर निकासीकर्ताका रुपमा नेशनल एक्सपोर्टका सञ्चालक चन्द्र बहादुर थापा पनि सम्मानित भएका छन् । साथै, उत्कृष्ठ उद्धमी कृष्ण कटेजका कल्याण कृष्ण ताम्राकारलाई चाँदीको प्लेट प्रदान गरी सम्मान गरिएको छ ।


क्लिकमान्डु