धोवीखोला करिडोर निर्माणः २० वर्षमा सवा ३ अर्ब खर्च, काम भने अधुरै



काठमाडौं । निर्माण थालेको २० वर्ष बितिसक्दा पनि धोवीखोला करिडोरको काम सकिएको छैन । काठमाडौं उपत्यका विकास प्राधिकरणको अन्तर्गतमा रहेको यो आयोजनाले तीव्रता पाउन सकेको छैन ।


तर, आयोजनाले भने ९० प्रतिशत काम सकिएको जनाएको छ ।

राजधानी भित्रैकै आयोजनामा वर्षौंदेखि अपूरो रहेका छन् । यी आयोजना मुलुकको विकास निर्माण कसरी भइरहेको छ भन्ने उदाहरण बनेका छन् ।
यो करिडोरमा जम्मा २४ किलोमिटर सडक निर्माणको काम मात्र रहेको छ । तर, करिडोर निर्माण कार्यले भने सोचे अनुरुपको प्रगति हासिल गर्न सकेको छैन । काठमाडौंमा भएको अव्यवस्थित सडक जामलाई व्यवस्थित गर्ने हेतुले २० वर्ष अघि २०५८ मा शुरु गरिएको थियो ।

सरकारको धोवीखोला करिडोरका लागि लागत ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । यो करिडोर निर्माणमा हालसम्म ३ अर्ब २६ करोड लागत खर्च भइसकेको धोबिखोला कोरिडोर सुधार आयोजना प्रमुख दिनेश कृष्ण पोतेले बताए ।

आयोजनाका अनुसार अहिले यो करिडोरको काममा मुआब्जा वितरण र अण्डरपास निर्माण गर्नेतर्फ लागिरहेको बताएको छ । समयमै बजेटको अभाव, स्थानीयको अवरोध, अन्तर निकायबीच समन्वयको अभाव, मुआब्जामा समस्या, सुकुम्बासी वस्ती समस्या लगायतले गर्दा यस कोरिडोरको निर्माणमा ढिलाई भएको आयोजना प्रमुखको भनाइ छ ।

दाँया १२ किलोमिटर र बाँया १२ किलोमिटर गरेर जम्मा २४ किलोमिटर सडक निर्माण गर्ने आयोजनाको काम हालसम्म पनि सकिएको छैन् । अब करिडोर निर्माणको काम थोरै बाँकी रहेको आयोजनाको भनाइ छ ।

आयोजनाका प्रमुख पोतेका अनुसार हाल ५० मिटरदेखि १०० मिटरसम्म सडक मात्र कालोपत्रे तथा ढलान गर्न बाँकी रहेको छ । ‘अरु मूआब्जा समस्या नभएको ठाउँमा छिटपुटको काममात्र बाँकी छ,’ उनले भने, ‘त्यो काम पनि अर्को आर्थिक वर्ष सम्ममा सक्ने गरी काम गर्दैछौं ।’

बीचबीचमा रहेका ४–५ वटा घर र एउटा जग्गा धनीले सडकका लागि आवश्यक पर्ने जग्गा छोड्न नमानेको उनको भनाइ छ । उनीहरु जग्गाको पैसा मागि राख्नु भएको छ,’ उनले भने, ‘तर जग्गाका लागि कति मुआब्जा लाग्छ भन्ने कुराको नै मूल्याङ्कन भएको छैन ।’

जग्गा प्राप्ति २०३४ को प्रावधान अनुसार त्यसको मूल्याङ्कन गर्नुपर्ने पोतेको भनाइ छ । ‘त्यही कारणले त्यसको मूल्याङ्कन गर्ने काम भइरहेको छ,’ उनले भने ।

अर्को समस्या भनेको नयाँ ट्रयाक खोलेको राम मन्दिर पारीपट्टीको सडकमा ३०० मिटर पहिरो आएको उनको भनाइ छ । ‘पहिरो आउन रोकिएपछि मात्र काम गर्न सकिने भएकाले त्यस क्षेत्रको काम बाँकी भएको हो,’ उनले भने, ‘त्यसको पनि यही चैतसम्म काम सक्ने गरी काम गर्न तयारी गरिरहेका छौं ।’

मुख्य काम बाँकी भनेको बिजुली बजारको पुलमुनी उत्तरबाट दाँया साइडमा अण्डरपास बनाउँन लागेको उनको भनाइ छ । त्यसका लागि आयोजनाले १ करोडमा ठेक्का सम्झौता भइसकेको छ ।

‘यसको ठेक्का सक्सेस निर्माण सेवासँग सम्झौता भएको हो,’ उनले भने, ‘अण्डरपास निर्माणको काम यसै वर्षको चैतसम्ममा सक्नुपर्ने गरी सम्झौता भएको छ ।’

पहिलेको करिडोरमा र अहिलेको करिडोरमा धेरै परिवर्तन भएको छ । करिडोरको छेउछेउमा बोटविरुवाहरुले करिडोरको सुन्दरता बढाएको उनको भनाइ छ ।

आर्थिक वर्ष २०५६/५७ मा काठमाडौं महानगरपालिकाले करिडोर निर्माण प्रक्रिया अगाडि बढाएको थियो । महानगरपालिकाले काम गर्न नसकेपछि सरकारले आव २०६६/६७ मा करिडोर निर्माणको जिम्मा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई दिएको थियो ।

प्राधिकरणले धोबीखोला करिडोर सुधार आयोजना गठन गरी आयोजनाले आव २०७२÷०७३ मा सक्ने लक्ष्य राखे पनि करिडोरको लम्बाई थपिएको भन्दै आव २०७५/०७६ सम्म सक्ने लक्ष्य बनाएको थियो ।

तर, विभिन्न कारण देखाउँदै काम सम्पन्न हुन नसके पछि हाल यो आयोजनले अर्को आर्थिक वर्षको अन्त्यमा सक्ने तयारी गरेको प्रमुख पोतेको भनाइ छ ।


क्लिकमान्डु