न्यूरोडको सानो स्टोरका कुर्तासुरुवालः टिकटकले यसरी पुर्यायो अमेरिका र अष्ट्रेलिया



काठमाडौं । अष्ट्रेलिया गएको पाँच वर्ष भइसक्दा पनि ममता तुलाधारलाई काठमाडौंले तानिरहेको थियो ।

‘आफ्नै सहरमा केही गर्न पाए हुन्थ्यो,’ उनको मनमा थियो ।

‘के गर्ने त ?,’ उनका अनुभव केही थिएन । अष्ट्रेलियाको कामले खासै सघाउँदैनथ्यो ।

छिमेकी काकीको काठमाडौंमा व्यवसाय थियो । उनले ममतालाई सुझाइन, ‘व्यवसाय गर, राम्रो हुन्छ ।’

श्रीमान पनि व्यवसाय गर्न सकारात्मक भए ।

श्रीमानको सहयोग र आफ्नो आत्मविश्वासलाई मिलाएर ६ वर्षअघि मानन्धर दम्पतीले घरकै कोठाबाट शुरु गरे कुर्तासुरुवालको व्यवसाय ।

काठमाडौं धापासी घर भएकी ममताले कुर्तासुरुवाल ल्याएर छिमेकीलाई बेच्न थालिन । साथमा कार्ड छपाईको काम पनि शुरु गरिन ।

व्यवसायको शुरुवात राम्रो भएन । सामान बेच्नै गाह्रो छ ।

यहीबेला अष्ट्रेलियाको अनुभवलाई प्रयोग गर्ने सोँच बनाए ममताका श्रीमान सुनमले । अष्ट्रेलियामा हरेक सामान अनलाइन अर्डर गर्न मिल्थ्यो । सामाजिक सञ्जालबाट धेरै व्यापार हुन्थ्यो त्यहाँ ।

आखिर त्यही सामाजिक सञ्जाल हामीसँग पनि छ ।

‘यहाँ पनि त्यही विधि किन सफल नहोला र ?’ सुनमलाई विश्वास थियो, ‘फेसबुक, इन्स्टाग्राम, टिकटक जस्ता सामाजिक सञ्जाललाई व्यवसायको माध्यम बनाउन सकिन्छ ।’

अनलाइनबाट व्यवसाय गर्ने भएपछि ममताले आफ्नी आमाको नामबाट पसलको नाम राखिन, ‘तारा क्लोथिङ कलेक्सन ।’

त्यसमा ६० हजार लगानी गरिन् ।

‘६ वर्षअघि फेसबुकबाट कुर्तासुरुवाल बेच्न थाल्यौं,’ सुनमले भने, ‘त्यो बेला सबैको हातमा मोबाइल पुगिरहेको थियो । तर, अनलाइनबाट सामान बेच्नु पनि उत्तिनै गाह्रो थियो । उपभोक्तालाई अनलाइनको सामान प्रति त्यत्ति धेरै विश्वास पनि थिएन ।

‘हामीले शुरु गर्दा अनलाइन व्यवसाय पनि धेरै कम थियो,’ उनले भने, ‘बुझाउन पनि गाह्रो थियो ।’

सबैलाई अनलाइन कारोबार गर्ने मानिसले पैसा खान्छ, ‘फेक’ हुन्छ भन्ने मानसिकता थियो ।

त्यही मानसिकतालाई चिर्दै अगाडि बढ्नु उनका लागि चुनौती थियो ।

फेसबुकमा सामान देखेपछि सबै सोधखोज गर्ने धेरै हुन्थे तर सामान किन्ने धेरै कम ।

‘कतिपयले सामान लगिसकेपछि पनि गाली गर्थे, पेजमा नानाथरी लेख्थे,’ उनले सुनाए ।

कहिले भने अर्डर आएको सामान पुर्याउन टाढा पुगेर पनि फर्काउनु पथ्र्यो ।

‘बनेपा, धुलिखेल पुगेर पनि सामान फिर्ता ल्याउनु पथ्र्यो,’ उनले भेन, ‘कुर्ताको साइज मिलेन भनेर कतिले फर्काएका छन् ।

व्यवसायलाई युवामाझ पुर्याउन नयाँ प्रविधिको परीक्षण पनि गर्न थाले । मोडलिङ क्षेत्रमा लागेका मोडलबाट आफ्ना सामानको प्रवर्द्धन गर्न थाले ।

‘पहिलेबाटै मोडललाई फोटोसुट गरेर कुर्ता बिक्री गर्दै आएका छौं,’ उनले भने, ‘व्यवसायमा नयाँ प्रयोग गरिरहँदा व्यवसायले बढ्दै गएको छ ।’

ती मोडलले प्रयोग गरेको कुर्तालाई इन्सटाग्राम, टिकटक, फेसबुकमा राख्छन् । जसले मुलुकभरका महिला तथा दिदीबहिनीलाई तारा क्लोथिङ कलेक्सन चिन्ने अवसर बनेको छ ।

तारा क्लोथिङले सन् २०१८ को अन्त्यबाट टिकटकबाट आम उपभोक्तामाझ गयो । फेसबुक र इन्स्टाग्राममार्फत् खासै प्रभावकारी नभए पनि टिकटकले व्यापारमा ठूलो सहयोग गरेको सुनमले बताए ।

केही समयअघि तारा क्लोथिङले टिकटक, फेसबुक र इन्स्टाग्राममा बजारमा आएको नयाँ डिजाइनको फोटोसुट गरेर हालेको थियो । उक्त कुर्ता निकै भाइरल बन्यो ।

‘त्यस कुर्ताको नामनै भारइल कुर्ता बन्यो,’ उनले भने ।

अहिले तारा क्लोथिङ कलेक्सन राम्रो कुर्ता सुरुवाल पाउने ठाउँ भनेर चर्चित भएको उनको दाबी छ ।

स्वदेशमा मात्र होइन, तारा क्लोथिङ विदेशमा पनि चर्चित छ ।

‘टिकटकमा हेरेर अमेरिका, अष्ट्रेलिया र जापानलगायत अन्य देशबाट अर्डर आउँछ,’ उनले भने, ‘कुरियरको खर्चसमेत ग्राहकनै तिर्छन् ।’
टिकटकमार्फत् निकै चर्चा कमाएको तारा क्लोथिङले अधिकांश रेडिमेड कुर्ता सुरुवाल भारतबाट आयात गर्छ ।

‘अहिले हामी शुरुवाती चरणमा छौं,’ उनले भने, ‘अन्य पसलको तुलनामा सस्तोमा बेच्छौं ।’

घरको एक कोठाबाट शुरु गरेको व्यापार अहिले मानन्धर दम्पतीले न्युरोडमा स्टोर राखेका छन् । स्टोरमा ३ जना कर्मचारी ।

‘हामीले पहिले अनलाइनबाट मात्रै सेवा दिँदा सबैले स्टोर कहाँ छ भनेर सोध्न थाले, उनी भन्छन्, ‘ग्राहकले माग गरेपछि स्टोर पनि राखेका हौं ।’

स्टोर शुरु गरेको भर्खर डेढ वर्ष भएको छ । स्टोरमा ८ लाख लगानी गरेका मानन्धरले अहिले दैनिक २० हजारबढी व्यापार गर्छन् । वेवसाइटबाट ५/६ वटामात्रै अर्डर आउँछ भने टिकटक, इन्स्टाग्राममा देखेर स्टोरमा आउने ग्राहकको संख्या ठूलो छ ।

उनकाअनुसार अनलाइन व्यापार विश्वसनीय बनाउन सस्तो र राम्रो कपडा राख्नु पर्ने बताउँछन् ।

‘अहिले धेरै ई–कमर्श प्लेटफर्म खुलेका छन् । तर, दर्ता छैनन् । जसले गर्दा ठूलो राजश्व गुमाइरहेको छ,’ उनले भने ।

सरकारले अनलाइन व्यवसायलाई व्यवस्थापन गरे सबैलाई सहज हुने उनको बुझाइ छ ।


अरिष्मा मोक्तान