निक्षेपभन्दा कर्जा ३ खर्बले बढी, तरलता व्यवस्थापन गर्न २ खर्ब ७४ अर्बको रिपो र एसएलएफ



काठमाडौं । चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप र कर्जाको अन्तर ३ खर्ब रुपैयाँ देखिएको छ । बैंकले ४ महिनामा निक्षेपभन्दा ३ खर्ब बढी कर्जा दिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार साउन १ गतेदेखि सोमबारसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेका छन् । सो अवधीमा बैंक तथा वित्तीय संस्थाले ८६ अर्बमात्र निक्षेप संकलन गरेका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी ४ महिनामा ३ खर्बको अन्तर देखिनु नेपाली अर्थतन्त्रका लागि चुनौतीपूर्ण भएको बताउँछन् ।

‘अहिले तरलता अभाव हुनुको प्रमुख कारणनै निक्षेपभन्दा बढी कर्जा बिस्तार गरेर भएको हो, जसको कारण अहिले बैंक तथा वित्तीय संस्थाहरु ऋण नसक्ने अवस्थामा पुगेका छन्,’ गभर्नर अधिकारीले केही दिन अगाडि आयोजित कार्यक्रममा भनेका थिए ।

राष्ट्र बैंकले तरलता अभाव हटाउनको यसअवधिमा ८ पटकमा १ खर्ब ८० अर्ब रुपैयाँ रुपैयाँ रिपोमार्फत् बैंकिङ प्रणालीमा पठाएको छ । राष्ट्र बैंकले भदौ दोस्रो साता यता १ खर्ब ८० अर्ब रुपैयाँ रिपोमार्फत् प्रणालीमा पठाएको हो ।

बैंकमा तरलता अभाव र कर्जाको मागबीचको अन्तर निकै बढेपछि राष्ट्र बैंकले रिपोमार्फत् उक्त रकम बैंक तथा वित्तीय प्रणालीमा पठाएको हो । राष्ट्र बैंकले एक साता र दुई साता अवधिका लागि यस्तो रकम प्रणालीमा पठाउने गरेको छ । जसले गर्दा बैंकहरुले तरलताको अल्पकालिन समस्या समाधान गर्ने गरेका छन् ।

राष्ट्र बैंकका अनुसार भदौ १७ गते २० अर्ब रुपैयाँ, भदौ २४ गते ३० अर्ब रुपैयाँ, भदौ ३१ गते २० अर्ब रुपैयाँ, असोज ७ गते ३० अर्ब रुपैयाँ, असोज १३ गते ३० अर्ब रुपैयाँ, असोज २० गते २० अर्ब रुपैयाँ, कात्तिक ४ गते १० अर्ब रुपैयाँ र मंसिर ९ गते २० अर्ब रुपैयाँ गरी अहिलेसम्म बैंकमा १ खर्ब ८० अर्ब रुपैयाँ पठाइसकेको छ ।

बैंकमा तरलता अभाव भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंंकले रिपोमार्फत् प्रणालीमा पैसा पठाएपछि निक्षेप संकलन र कर्जाको मागको अन्तर करिब ३ खर्बको देखिएको छ । रिपोमा इजाजतप्राप्त बैंक, विकास बैंक र फाइनान्स कम्पनीले बोलकबोल प्रकृयाबाट भाग लिनेछन् ।

तरलता अभावमा बैंकमा निक्षेप घटिरहेको छ भने कर्जाको माग बढेको छ । अहिले बैंकको कर्जाको माग बढेको छ भने निक्षेपमा धेरै चाप परेको छ । अहिले बैंकहरु कर्जा प्रवाहका साथै सहुलियतपूर्ण कर्जा समेत दिन नसक्ने अवस्थामा पुगेका छन् ।

गभर्नर अधिकारीका अुनसार अहिलेसम्म राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) करिब ९४ अर्ब रुपैयाँ दिएको जानकारी दिए ।

वित्तीय संस्थाहरुलाई उनीहरुसँग रहेको सरकारी धितोपत्रको आधारमा केन्द्रीय बैंकले दिने यो एक प्रकारको कर्जा हो । राष्ट्र बैंकले बैंकमा देखिएको तरलता अभाव न्यून गर्न ५ दिनका लागि अल्पकालिन तरलता दिने गरेको छ ।

बैंकमा अनपेक्षित रुपमा तरलता अभाव देखियो भने राष्ट्र बैंकले यस्तो सुविधा दिने गरेको छ । बजारले माग गरेको अवस्थामा तरलता अभाव हुँदा नदिन राष्ट्र बैंकले विभिन्न तरिकाले पैठा पठाएका बताएका छन् ।

केन्द्रिय बैंकले तरलता व्यवस्थापनका लागि प्रयोग गरेको मौद्रिक औजारले खासै कबम गर्न सकेको देखिँदैन ।


क्लिकमान्डु