कसले चलाउँदैछ हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर भाँडियो भन्ने हल्ला ?



काठमाडौं । केही दिनदेखि बैंकिङ क्षेत्रमा एउटा हल्ला चलेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया रद्द हुने अवस्थामा पुगेको र दुबैले नयाँ पार्टनर खोज्न थालेको हल्लाले बजार पिटेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले गत बैशाखमा मर्जरमा जाने सम्झौत गरेका थिए । हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकको नामबाट कारोबार गर्ने र देशको सबैभन्दा ठूलो बैंक बन्ने तयारीमा हिमालयन तथा इन्भेष्टमेन्ट बैंकको छन् ।

बैशाखमा मर्जरको सम्झौता भएपछि मंसिरसम्ममा बैंकको साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेर एकीकृत कारोबारको तयारी गर्नुपर्ने थियो ।

मर्जरको जटिल प्रक्रिया रहेको हुँदा इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेर पनि टुंगो लागेको छैन ।

हिमालयन बैंकका अध्यक्ष रहेका प्रचण्डबहादुर श्रेष्ठ मर्जरको पक्षमा शुरुदेखि नै थिएनन् । त्यसको कारण हो हिमालयन बैंकका संस्थापक हिमालय शमशेर राणा तथा अहिलेका सीइओ अशोक राणा र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको पारिवारिक सम्बन्ध ।

अशोक हिमालय शमशेरका छोरा हुन् भने छोरीज्वाईँ पाँडे । यस्तै हिमालयन बैंकमा अहिले सञ्चालक रहेका सुनिल थापा पनि हिमालयन बैंकका संस्थापक राणाको छोरीज्वाईं हुन् ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट मर्ज भएपछि राणा तथा पाँडे परिवारको स्वामित्व बैंकमा हुने र बैंकको अध्यक्ष पाँडे तथा सीइओ राणा हुने सहमति छ । यो सम्झौता पनि श्रेष्ठलाई मन परेको थिएन । हिमालयन बैंकमा पाकिस्थानको हबिब बैंक सबैभन्दा ठूलो सेयरधनी हो ।

हबिबको नाममा २० प्रतिशत सेयर छ । हबिब नेपालको सेयर बिक्री गरेर बाहिरिन खोजेको छ । यस्तै संस्थागतरुपमा सञ्चयकोषको सेयर हिस्सा १४ प्रतिशत छ । सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने गौतम हिमालयन बैंकका अध्यक्ष थिए । सरकार परिवर्तनपछि गौतमलाई हटाउने निर्णय मन्त्रिपरिषदले लियो । गौतमले अदालतबाट अन्तरिम आदेश लिएपनि हिमालयन बैंकको सञ्चालक समिति पदभने छाड्नु पर्यो ।

कोषको सञ्चालक समितिले हिमालयन बैंकमा जितेन्द्र धितालले सञ्चालकको प्रतिनिधित्व गर्ने भन्दै पत्र पठायो । गौतमको अध्यक्ष पद गएपछि धिताल सञ्चालक बने भने अध्यक्ष बने प्रचण्डबहादुर श्रेष्ठ ।

महालेखा परीक्षकको प्रतिवेदनले मर्जर गर्दा बैंकहरुले सेयर आदानप्रदान अनुपात (स्वाव) रेसियोमा पाएको सहुलियत दिन नहुने र फर्दर पब्लिक अफरिङबाट भएको लाभबाट पनि कर असुल गर्नुपर्ने भनेर लेखेको थियो । इन्भेष्टमेन्ट बैंकले केही साना विकास बैंक तथा फाइनान्स कम्पनीलाई गाभेको छ र एफपीओ पनि जारी गरेको छ ।

हिमालयन बैंकका अध्यक्षले स्वाव र एफपीओको लाभमा इन्भेष्टमेन्ट बैंकले कर तिर्नुपर्ने हुँदा हिमालयन बैंकसँगको स्वाव १ः१ को अनुपात हुन नसक्ने भन्दै सञ्चालक समिति तथा व्यवस्थापनमा यसबारे थप अध्ययन तथा विश्लेषण गर्न दबाब सिर्जना गरेका थिए ।

हिमालयन बैंकको व्यवस्थापन र बैंकको सबैभन्दा ठूलो नेपाली लगानीकर्ता कर्मचारी सञ्चयकोषले यससँग सम्बन्धित सम्पूर्ण फाइलहरु झिकाएर अध्ययन गर्दा महालेखाको प्रतिवेदन कार्यान्वयन गर्दा पनि खासै फरक नपर्ने निष्कर्ष निकाल्दै मर्जर प्रक्रिया अगाडि बढाउन लागिपरेको छ ।

कर्मचारी सञ्चय कोषबाट प्रतिनिधित्व गर्ने सञ्चालक फेरिएपछि मर्जर गर्न नखोजेका श्रेष्ठलाई सजिलो भयो । अहिले कर्मचारी सञ्चय कोषले हिमालयन बैंकको मर्जरको विषयमा डिडिएको प्रतिवेदन मागेको छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जर सम्झौता रद्द गर्न सजिलो छैन । नेपाल राष्ट्र बैंकले त हिमालयन बैंकलाई गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरण स्वीकृत गर्दा नेपाल इन्भेष्टमेन्टमेन्ट बैंकसँग मर्जरमा जानुपर्ने शर्त राखेको छ । अर्थात् हिमालयन बैंकका सेयरधनीले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज नभएमा लाभांशसमेत पाउने छैनन् । हिमालयन बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले मर्ज प्रक्रिया रद्द गरेमा अर्को पार्टनर खोज्नुपर्छ । यस्तो अवस्थामा नेपाल इन्भेष्टमेन्ट बैंकले सिटिजन्ससँग र हिमालयन बैंकले सिभिल बैंकसँग मर्जरको प्रस्ताव गरेको हल्ला छ । सिभिल बैंकमा संस्थागतरुपमा सञ्चय कोषकै सबैभन्दा बढी लगानी छ ।

यो बीचमा इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडेले सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीलाई भेटेर मर्जरको कुराकानी गरेका छन् भने हिमालयन बैंकका सीइओ अशोक राणा र सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेबीच पनि मर्जरको विषयमा कुराकानी भएको स्रोतको दावी छ ।

केही दिनयता सिटिजन्स बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनलाई इन्भेष्टमेन्ट बैंकसँग मर्ज हुन लागेको हो ? भनेर रेपुटेड व्यक्तिहरुबाटै बारम्बार प्रश्न सोधिन थालेको छ ।

त्यसैगरी हिमालयन र इन्भेष्टमेन्ट बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनलाई दुई बैंकबीचको मर्जर भाँडिन लागेको हो ? भनेर बारम्बार प्रश्न सोधिन थालिएको छ ।

‘खोई कसले हल्ला चलाएको हो थाहा छैन । तर, हामीलाई मर्जर भाँडिन लागेको हो भनेर बारम्बार प्रश्न सोधेर हैरान बनाइएको छ,’ दुबै बैंकका सीइओ भन्छन्, ‘केही प्रक्रियागत जटिलताले गर्दा समयमै मर्जर नटुंगिएको हो, मर्जरबाट ब्याक भएका छैनौं ।’

स्रोतका अनुसार मर्जर नचाहने सम्बन्धित बैंकका सञ्चालक र कर्मचारी तथा दुई बैंक मर्ज भएर बलियो हुन्छन् भनेर आरिस गर्ने अन्य बैंकका मान्छेहरुले यस्तो हल्ला चलाएका हुन् ।

गत कात्तिक २५ गते इन्भेष्टमेन्ट बैंकले एक दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै मंसिर १७ गतेका लागि साधारणसभा भएको जानकारी गरायो । हिमालयन बैंकसँग मर्जर प्रक्रियामा रहेको इन्भेष्टमेन्ट बैंकले साधारणसभामा मर्जरबारे केही पनि उल्लेख नगरेपछि दुई बैंकबीच मर्ज हुँदैन कि भन्ने आशंका पैदा भएको हो । जुन स्वाभाविक पनि हो ।

तर, खास कुरा भने अर्कै छ । हिमालयन बैंकको नियमित साधारणसभाले इन्भेटमेन्टसँगको मर्जर प्रस्ताव पारित गरेपछि इन्भेष्टमेन्टले विशेष साधारणसभा बोलाएर मर्जर प्रस्ताव पारित गर्ने दुई बैंकबीच समझदारी छ ।

हिमालयन बैंकका अध्यक्षले बखेडा झिक्दा हिमालयनको सञ्चालक समितिले इन्भेष्टमेन्टसँगको मर्जरबारे अन्तिम निर्णय गर्न सकेको छैन ।

स्रोतका अनुसार मंसिर १० गते हिमालयन बैंकको सञ्चालक समितिको बैठक छ । सकेसम्म सहमतीमा नत्र बहुमतीय प्रणलीार्फतै भए पनि मर्जरको अन्तिम निर्णय गर्दै साधारणसभाको मिति तोक्दैछ । त्यसपछि तत्कालै इन्भेष्टमेन्टले विषेश साधारणसभा बोलाएर मर्जरको प्रस्ताव पारित गर्नेछ । र, दुई बैंकले हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकका नाममा एकीकृत कारोबार गर्नेछन् ।

‘अब मर्जर कुनैपनि हालतमा रोकिँदैन,’ दुबै बैंकका सीइओ भन्छन् ।


क्लिकमान्डु