कुमारी बैंकले लुकाउन खोजेको १९ करोड ऋण प्रकरण गायक अमात्यको उजुरीले बाहिरियो



काठमाडौं । गायक योगेश्वर अमात्यको बाराको बिश्रामपुरमा १२ बिगाह जग्गा छ । अमात्यले १२ बिगाह जग्गामा आप खेती गरेका छन् ।

अमात्यलाई सो जग्गा बेच्नका लागि जग्गा दलालहरुले बारम्बार फोन गरेर दबाब दिइरहेका थिए । धेरैनै दबाब आएपछि अमात्यले कान्तिपुर पत्रिकामा आफ्नो जग्गा बिक्रीमा नभएको भनेर सूचना प्रकाशित गरे भने जग्गा रहेको स्थानमा यो जग्गा बिक्रीमा छैन भनेर बोर्डनै टासे ।

कुरा यत्तिमै रोकिएन । अमात्यको सो जग्गा वोल्भा भूमि वन कम्पनीको नाममा थियो । जसका सञ्चालकमा गायक अमात्य र उनकी श्रीमति छन् ।

जग्गा बिक्रीमा छैन भन्ने सूचना टाँस गरेपछि आनन्द हुने सोचेका अमात्यलाई भने त्यस्तो भएन । अमात्यले जग्गाको रेखदेख गर्नका लागि स्थानीय शिक्षक अशोककुमार पाण्डेलाई जिम्मा लगाएका थिए ।

अमात्यले २५ बिगाह जमिन सो क्षेत्रमा किनेका थिए । जसमा १३ बिगाह जमिन भने अमात्यले बिक्री गरिसकेका थिए ।

जग्गा दलालले अब फोन गरेर दुःख दिदैनन् भनेर सोचेका अमात्य त्यसबेला झस्के जतिबेला उनको जग्गा रेखदेर गर्न राखेका पाण्डेले सो जग्गा धितो राखेर अरुले नै ऋण लिएको जानकारी अमात्यलाई गराए ।

अमात्यले सो जानकारी पाएपछि आफ्नो जग्गा धितो राखेर अर्को व्यक्तिले ऋण लिएको भन्दै प्रहरीको उजुरी गर्न पुगे ।
अमात्यले अहिले भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)मा दिएको उजुरीपछि मात्र कुमारी बैंकले नक्कली धितो राखेर १९ करोड ऋण दिएको रहस्य बाहिरियो ।

प्रहरीको अनुसन्धानको क्रममा नक्कली जग्गा धनी बनेर एसके महर्जन, मुक्तिलाल गौतमले डेनियल ट्रेडिङ कम्पनीको नाममा अमात्यको जग्गाको नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट १९ करोड ऋण निकालेका थिए ।

एसके महर्जन र मुक्तिलाल गौतमले सेयरधनी बनेर नक्कली लालपूर्जा बनाएर कुमारी बैंकबाट ऋण निकालेको प्रहरीको अनुसन्धानमा भेटियो । महर्जन र गौतमले कुमारी बैंकको न्यूरोड शाखाबाट ऋण लिनका लागि निवेदन दिएका थिए । जसको धितोका लागि अमात्यको बारामा रहेको जग्गा राखिएको थियो ।

२०७८ सालको साउनमा महर्जन र गौतमले नक्कली लालपूर्जा बनाएपछि ऋण लिनका लागि न्यूरोड शाखामा निवेदन दिए । न्यूरोड शाखाले धितो मूल्यांकनका लागि बारामा रहेका आफ्नो शाखामा पठायो । केन्द्रीय कार्यालयले स्विकृति ऋण दिनका लागि स्विकृति दिएपछि ऋणको लागि प्रक्रिया शुरु भएको थियो ।

प्रहरीले अनुसन्धानका क्रममा बारा शाखाका ऋण अधिकृत सोनु ठाकुरले धितो बन्धकमा हस्ताक्षर गरेको भेटियो । मूल्यांकनकर्ता राजेश चौरासियाले मालपोत कार्यालय गएर जग्गाको वास्तविक जग्गाधनी बुझ्नुपर्नेमा त्यो नगरेर सिधै मूल्यांकन गरेको प्रहरीले भेटाएको छ ।

प्रहरीले गायक अमात्यको जग्गा धितो राखेर ऋण लिएको आरोपमा अहिलेसम्म बिचौलिया रहेका कुशन प्रधानसहित नक्कली धितो राखेर ऋण लिने महर्जन र गौतम सहित बैंकका ऋण अधिकृत सोनी ठाकुर र मूल्यांकनकर्ता चौरासियालाई प्रकाउ गरेको छ । मूल्यांकनकर्ता चौरासियलाई प्रकाउ गरेपनि मूल्यांकनकर्ताहरुको संस्थाले भने विरोध गरेको थियो ।

बैंकले नक्कली भएको थाह पाएपछि ऋण असुल्यो
गायक योगेश्वर अमात्यले आफ्नो जग्गा राखेर ऋण लिएको थाह पाउनु अघिनै बैंकले नक्कली धितो राखेर ऋण दिएको थाहा पाएको थियो ।

प्रहरीको अनुसन्धानमा बैंकले नक्कली धितो राखेको ऋण बैंकले असुल गरेको भेटिएको छ । बैंकले अमात्यको जग्गामा नक्कली धनी बनेका महर्जनलाई अर्को ऋण दिएर नक्कली धितो राखेर दिएको ऋण उठाएको छ ।

प्रहरीले भने बैंकले यो विषय लुकाएको जनाएको छ । यसरी नक्कली जग्गा धितो राखेर ऋण लिनु बैंकिङ कसुरको मुद्दामा तानिन्छ । अहिले सोही केसमा प्रहरीले अनुसन्धान गरेको छ ।

ठगी मुद्दाबाट प्रहरीले अहिले कुमारी बैंकमा नक्कली धितो राखेर ऋण लिएको विषयलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धान गरिरहेको छ । प्रहरीले केही दिनअघि बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनालाई यसको बारेमा जानकारी लिन बोलाएको थियो ।

१९ करोडको कर्जा सामान्य कर्मचारीले स्वीकृत गर्न सक्दैन
प्रहरीले हालसम्म कुमारी बैंकका कर्मचारी सोनु ठाकुरलाई मात्र प्रकाउ गरेको छ । उनी बैंकको बारा शाखाको ऋण शाखाका कर्मचारी भएपनि उनको संलग्नतामा मात्र १९ करोडको ऋण प्रवाह हुन सक्दैन ।

ठाकुर सामान्य कर्मचारी हुन् । यसबाहेक बैंकले लालपूर्जा जग्गाधनीको हो वा होइन भन्नका लागि बैंकले ऋण दिने बेलामा मालपोत कार्यालय पुगेको देखिएको छैन ।
मालपोत कार्यालयको अभिलेखमा जग्गाधनी अमात्य भएको खुल्छ । जबकी ऋण केन्द्रीय कार्यालयबाट प्रवाहित भएको थियो ।

कुसन प्रधानसँग कामू सीइओ तिमिल्सिनाको सम्बन्ध
कुमारी बैंकमा असार मसान्तसम्म प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी थिए ।

भण्डारीको ४ वर्षे कार्यकाल पूरा भएपछि कामू सीइओको जिम्मेवारी अनुजमणि तिमिल्सिनाले लिए । तिमिल्सिनालाई डेपुटी सीइओ बनाएर भण्डारीले सेञ्चुरी बैंकबाट कुमारी लगेका थिए ।

सीइओ भण्डारी बाहिरिएपछि कुमारी बैंकमा १९ करोड ऋणको घटना घटेको छ । यो घटनामा बिचौलिया रहेका कुसन प्रधानले नै प्रधान र गौतमलाई नक्कली लाजपूर्जा बनाउने काममा प्रधानले सहयोग गरेका थिए ।

प्रधान सेञ्चुरी बैंकका पूर्वसञ्चालक हुन् । यसरी तिमिल्सिना र प्रधानको सम्बन्ध रहेको भने भेटिन्छ । यद्यपि अहिलेसम्मको अनुसन्धानमा ऋण घोटालामा कामू सीइओ संलग्न रहेको वा नरहेको भन्ने विषय भने पुष्टी भएको छैन ।

सीआईबीको अनुसन्धान जारी
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रवक्ता श्यामकुमार महतोका अनुसार कुमारी बैंकको अनुसन्धान जारी छ । ब्यूरोले पक्राउ गरेका ५ जनालाई म्याद थप गरेर बैंकिङ कुसर अन्तर्गत अनुसन्धान जारी राखेको छ ।

ब्यूरोले कात्तिक ११ गते शेषकुमार महर्जन, कुसन प्रधान, मुक्तिलाल गौतम र बैंकका जुनियर असिस्टेन्ट सोनु ठाकुर तथा र २१ गते राजेश चौरासियालाई पक्राउ गरेको थियो ।
ठाकुर उक्त प्रकरणमा बैंक र मालपोत कार्यालयको पुलको रुपमा काम गर्ने गरेको पाइएको छ ।

अहिले पनि उनीहरुमाथी अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि ६० दिनको समय रहन्छ । ब्यूरोले लिखतपछि बैंकिङ कसुर अन्तर्गत अनुसन्धानलाई तीव्र बनाएको छ ।

राष्ट्र बैंकले स्थलगत निरीक्षण शुरु गर्यो
नेपाल राष्ट्र बैंकले कुमारी बैंकले नक्कली धितो राखेर १९ करोड ऋण दिएको विषयमा स्थलगत अध्ययन शुरु गरेको छ । कुमारी बैंकले नक्कली धितो राखेका महर्जन र गौतमलाई ऋण दिएको तथा पछि नक्कली भन्ने थाह पाएपनि महर्जनको सक्कली धितो राखेर ऋण असुल गरेको छ ।

यो घटनामा कुमारी बैंकले नियामक निकाय राष्ट्र बैंक र प्रहरीलाई समयमा खबर गरेको छैन । यसले नक्कली धितो राखेर मिलोमतोमा ऋण दिएको देखिन्छ । यदि अमात्यले उजुरी नदिएको भए घटना बाहिर नै आउने थिएन ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले कुमारी बैंकमा १९ करोड ऋण नक्कली धितो राखेर लिएको विषयको स्थलगत अध्ययन शुरु भएको जानकारी दिए ।

‘हामीले स्थलगत अध्ययनका लागि टोली गठन गरिसकेका छौं, टोलीले अध्ययन गरेपछि मात्र यसको थप विवरण खुल्ने छ,’ ढकालले क्लिकमाण्डूसँग भने ।


क्लिकमान्डु