विद्युतीय ई-पासपोर्ट सार्वजनिक, राहदानीका लागि लाइन बस्न नपर्ने



काठमाडौं । सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) सार्वजनिक गरेको छ । राहदानी विभागले त्रिपुरेश्वरथित रहेको नयाँ विभागको भवनमा परराष्ट्रमन्त्री नारायण खड्काद्वारा ई–पासपोर्ट आज सार्वजनिक गरेको हो ।

विभागले सेप्टेम्बरबाटै विभिन्न चरणमा परीक्षण गरी आजबाट पूर्ण तयारीका साथ सार्वजनिक गरेको जनाएको छ । जसमा पहिलो पटक सार्वजनिक गरेको ई–पासपोर्ट संस्कृतविद सत्यमोहन जोशीलाई वितरण गरेको छ ।

आजबाट विभागले आंशिक रुपमा छपाई गरी वितरण गरेको छ । त्यसमा विभागले दोस्रो साताबाट मात्रै पूर्णरुपमा रुपान्तरण गर्ने भएको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए । उनकाअनुसार पहिलो चरणमा सीमित ई–पासपोर्ट छपाई गरेपनि अत्यावश्करुपमा बनाउने सेवाग्राहीलाई एमआरपी प्रदान गर्नेछ ।

नेपालले सन् २०१० डिसेम्बर २६ देखि एमआरपी प्रयोगमा ल्याएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)ले सन् २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानीको सट्टा एमआरपी प्रयोगमा ल्याउनुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णयपछि नेपालमा एमआरपी प्रयोगमा आउन थालेको थियो । अहिले उक्त एमआरपीलाई बिस्तारै रुपान्तरण गरी ई–पास्पोर्ट जारी गर्न पाउँदा निकै खुसी भएको अर्यालको भनाइ छ ।

‘हस्तलिखितबाट बिस्तारै बद्लिँदो स्थितिलाई अपनाउँदै अब ई-पासपोर्ट जारी गरेको छ,’ उनले भने, ‘यसले नेपालीलाई थप सहज र व्यवस्थित बनाउनेछ ।’

विगतका दिनमा ३२ पृष्ठको मात्रै रहेकोमा अबका दिनमा ३४औं र ६६औं पृष्ठका पासपोर्ट हुनेछन् । अर्यालका अनुसार हाल कुनै पनि सेवाग्राहीले सेवा लिनका लागि लाइन बस्नुपथ्यो भने अब त्यो बाध्यता हट्नेछ ।

‘कुनै पनि सेवाग्राहीले आफू सेवा लिनका लागि वेवसाइटमा गएर अनलाइनमार्फत् आफू जाने मिति र समय तय गरेमा सहजै सेवा लिन पाउनेछन्,’ उनले भने ।

साथै, घण्टौं लाइन बस्नुपर्ने बाध्यता हट्ने उनको दाबी छ ।

त्यसैगरी, ई–पासपोर्ट जारी भइसकेको हुनाले नयाँ ई–पासपोर्टमार्फत् विदेश गएमा नेपालको पासपोर्टलाई सहजै मान्यता दिने उनको विश्वास छ । त्यससँगै, विभागले राष्ट्रिय परिचयपत्रसँग पनि आबद्ध गर्ने भएकाले सहजै व्यक्तिगत विवरण उपलब्ध हुने उनले उल्लेख गरे । जसले गर्दा ई–पासपोर्टमा सहजै बायोमेट्रिकको विवरण आउनेछ । विभागले ई–पासपोर्ट घण्टामा कम्तीमा १ हजार उत्पादन गर्नेछ ।

विभागले पहिलो चरणमा दैनिक ५० वटा ई–पासपोर्ट जारी गर्नेछन् । त्यपछि बिस्तारै डिसेम्बरको दोस्रो साताबाट पूर्णरुपमा रुपान्तरण गर्ने भएको हो ।

परराष्ट्रमन्त्री नारायण खड्काले २१औं शताब्दीमा ई-पासपोर्ट जारी भएसँगै सहज, सुलभ र छिटो राहदानी पाउने बताए । विगतका दिनमा जन्म मिति, नामलगायत विभिन्न विवरण नमिल्दा निकै समस्या झेल्नुपथ्र्यो । अबका दिनमा उक्त समस्या नआउने उनको भनाइ छ ।

‘अबका पासपोर्ट गुणस्तरीय र सुरक्षित छ,’ उनले भने ।

त्यससँगै, हालको पासपोर्टले विभिन्न देशमा मान्यता नदिएको जनाउँदै ई-पासपोर्ट जारी भइसकेपनि जुनसुकै मुलुकमा गए पनि मान्यता प्राप्त हुने उनको दाबी छ । अन्तर्राष्ट्रिय जगतमा अबको पासपोर्टले मान्यता प्राप्त गर्नेछ ।

परराष्ट्र मन्त्रालयका सचिव भरतमणी पौडेलले ११ वर्षअघि हस्तलिखितमा सीमित रहेको पासपोर्ट अब ई–पासपोर्टमा रुपान्तरण हुँदा गर्व लागेको बताए । ई-पासपोर्टले आगामी दिनमा सुरक्षित, व्यवस्थित र समस्यारहित हुने उनको दाबी छ ।

‘कोभिडको समयमा ई-पासपोर्ट सञ्चालनममा ल्याउनका लागि निकै चुनौती थियो । तर, चुनौतीका साथ पनि छोटो र छिटो समयमा ई-पासपोर्ट जारी भएको छ,’ उनले भने ।

त्यस्तै, संस्कृतविद् सत्यमोहन जोशीले आफ्नो पालामा पासपोर्टको नाममा सिफारिस लिएर विदेश गएको सुनाउँदै अबको दिनमा सहजै ई–पासपोर्ट लिएर सहजै विदेश जान सक्ने बताए । उनकाअनुसार पासपोर्टको ठूलो महत्व हुने भएकाले प्रविधिको प्रयोगले विकास गर्नुपर्नेमा जोड दिए ।

यस्ता छन् विशेषता

विभागले हाल जारी गर्ने गरी तयारी गरेको ई–पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ । यसलाई पोलिकार्बोनेटसहितको ई-पासपोर्ट पनि भन्ने गरिन्छ । उक्त विद्युतीय चिप र एन्टेना जडान गरिएको ई-पासपोर्टमा चिपमा औँठाछाप, तस्बिर र व्यक्तिगत विवरण राख्न सकिन्छ । सो विवरणहरू राखेर चिप लक गरिसकेपछि जो कोहीले सजिलै परिवर्तन गर्न नसक्ने भएकाले निकै सहज र विश्वासिलो हुने विभागको दाबी छ ।

विभागले एमआरपीको तस्बिर भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर पहिचानका लागि मेसिन रिडेबल जोन राख्नेछ । उक्त राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा रहेको महत्वपूर्ण विवरणहरू देखिनेछन् ।

साथै, विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले आवगमनमा सहज पनि हुनेछ । हाल जारी गर्ने तयारी गरेको राहदानी ३४औं र ६६औं पृष्ठहरू हुनेछन् ।

विभागले विभिन्न मानिसको प्रयोजनअनुसार पासपोर्ट जारी गर्ने भएको छ । जसमा राहदानीहरू साधारण, कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी ७ प्रकारका हुने विभागले जनाएको छ ।

विभागले हालसम्म एमआरपी भएको राहदानी जारी गर्दै आएका छन् । अबका दिनमा सम्पूर्ण कार्यहरू विद्युतीय माध्यमबाट हुने भएकाले विभागले पनि बद्लिँदै समयसँगै विद्युतीय राहदानीमा जानुपर्नेमा जोड दिएकाले विभागले सो कार्य शुरू गरेको हो ।

विभागले जारी गर्न लागेको राहदानी एमआरपीभन्दा सहज, गुणस्तरीय र भरपर्दो हुने दाबी गरेको छ ।

उक्त ई–पासपोर्टमा सम्पूर्ण विवरण समावेश भएकाले यसलाई बायोमेट्रिक पासपोर्ट भनिन्छ । ई–पासपोर्टमा चिपको प्रयोग हुने भएकाले व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटाको समावेश हुनेछ । जसले गर्दा उक्त चिपमा फेरबदल गर्न नसक्ने अवस्था हुँदा पासपोर्टलाई मेसिन÷कम्प्यूटरले सहजै रिड गर्न सक्ने विभागको दाबी छ ।

हाल नक्कली राहदानी प्रयोग गरी विभिन्न स्थानमा गएको पाइन्छ । त्यसैले आगामी दिनमा सो अर्काको पासपोर्ट बोकेर जान पाउने समस्या हट्न सक्ने सरकारले अपेक्षा गरेको छ ।

त्यस्तै, सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइको लागि २ अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । जसमा १० महिनाभित्र कम्पनीले ई–पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने सम्झौतामा उल्लेख थियो । सोहीअनुसार विभागले तयारी गरी शुरु गरेको छ ।


क्लिकमान्डु