फाइभजी परीक्षणमा प्राधिकरणमै विमति, पुसमा परीक्षण शुरु नहुने पक्का
काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्वले स्पष्ट नीति र अडान लिन नसक्दा फाइभजी परीक्षण समयमै नहुने भएको छ ।
प्राधिकरणले यही पुस मसान्तसम्म पहिलो चरणको परीक्षण शुरु गर्ने योजना सार्वजनिक गरेको थियो ।
कात्तिक महिनाको अन्तिम साता आइपुग्दा फाइभजी परीक्षणको लागि आवश्यक पूर्वाधारमा कुनै पनि काम हुन सकेको छैन । कुन फ्रिक्वेन्सी प्रयोग गर्ने भन्नेमा अल्योल छ । साथै, परीक्षणका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सी उपकरण आयातको लागि पनि प्रकृया अगाडि बढेको छैन ।
परीक्षण शुरु गर्ने महिनादिन अघिसम्म कुनै काम नभएकाले प्राधिकरणले समयमै परीक्षण शुरु गर्ने पक्का भएको छ ।
प्राधिकरणले स्पष्ट नीति र आफ्नो अडान लिन नसक्दा फाइभजी परीक्षण अगाडि बढ्न नसकेको प्राधिकरणकै कर्मचारी बताउँछन् । प्राधिकरण स्रोतका अनुसार निजी टेलिकम कम्पनीलाई परीक्षणको अनुमति नदिने भएपछि केही प्राविधिक कर्मचारहरुले यसलाई अगाडि बढाउन चाहेका छैनन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहिलो चरणमा नेपाल टेलिकमलाई फाइभजीको परीक्षण गर्न दिने निर्णय गरिसकेको छ । यो निर्णयसँगै एनसेलले परीक्षण गर्न पाउने छैन । यद्यपि, एनसेले पनि फाइभजी परीक्षणका लागि अनुमति मागेको छ ।
केही कर्मचारीले ‘निजीले नपाउने भएपछि सरकारीलाई मात्र किन दिने’ भन्ने सोच राखेको स्रोतको भनाइ छ ।
कुन व्यान्ड, कति समयको लागि परीक्षण गर्न दिने भनेर प्राधिकरणबाट निर्देशन दिनुपर्छ । साथै, कुनै पनि रेडियो फ्रिक्वन्सी उपकरण आयातका लागि रेडियो फ्रिक्वेन्सी निर्धारण समितिको स्वीकृति दिनुपर्छ ।
कुनै पनि रेडियो फ्रिक्वेनसी उपकरण आयात गर्नका लागि रेडियो फ्रिक्वेन्सी निर्धारण समितिको निर्देशन आवश्यक पर्छ । यसमा उक्त समितिले अहिलेसम्म त्यस्तो दिर्नेशन दिएको छैन ।
साथै, कुन फ्रिक्वेन्सीमा कति समय परीक्षण गर्ने भनेर प्राधिकरणसहित मन्त्रालयबाट निर्णय हुनुपर्ने हो । यस विषयमा पनि अहिलेसम्म कुनै निर्णय भएको छैन ।
प्राधिकरणले फाइभजी परीक्षणको लागि चाहिने अन्य पूर्वाधारहरु जस्तो कि बिटिएसम्म १० जीको अप्टिकल लिंक, टावरमा स्पेस, पावर सिस्टम, एप्लिकेसन, कोर साइडलगायतमा पनि कुनै काम हुन सकेको छैन ।
टेलिकमले परीक्षणको खाका प्राधिकरण समक्ष प्रस्तुत गरिसकेको छ । फाइभजी परीक्षणको लागि बनेको अध्ययन समितले फ्रिक्वेन्सी, साइट, मोडालिटी, एप्लिकेसन सबैको बारेमा स्पष्ट पारेर प्राधिकरणसमक्ष पेश गरिसकेको छ ।
यसमा प्राधिकरणले कुनै निर्णय लिन सकेको छैन । फ्रिक्वेन्सी निर्धारणपछि कस्तो उपकरण आयात गर्ने भन्ने निर्णय हुन्छ । प्राधिकरणका प्राविधिक र मन्त्रालयअन्र्तगत रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले कुन फ्रिवेन्सी प्रयोग गर्ने भनेर स्पष्ट भन्न सकेका छैनन ।
ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसियसन (जीएसएमए) ले ३० गिगाहर्जसम्मको फाइजीको लागि उपयुक्त हुने बताएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय अभ्यासलाई आधारमान्दा तीनवटा व्यान्डमा फाइजी परीक्षण र प्रयोग भइरहेको छ । पहिलो हो एक गिगाहर्जभन्दा तलको लोअर व्यान्ड, दोस्रो एक गिगाहर्जभन्दा माथि मिड व्यान्ड र २४ गिगजाहर्जभन्दा माथिको हाइ व्यान्ड ।
प्राधिकरणले ७०० मेगाहर्ज र २.६ गिगाहर्ज ब्याण्ड प्रयोग गर्न सकिने बताए पनि अहिलेसम्म नेपालको सन्दर्भमा कुन व्यान्ड उपयुक्त हुन्छ भनेर निर्णय गरेको छैन । भारतले ७०० मेगाहर्ज, ३.३-३.६ गिगाहर्ज र २४.२५-२८.५ गिगाहर्ज ब्याण्डमा परीक्षण गरिरहेको छ ।