मंसिर १ गतेदेखि ई-पासपोर्ट जारी हुँदै, यस्ता छन् विशेषता ?



काठमाडौं । सरकारले मंसिर १ गतेदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्ने भएको छ । राहदानी विभागले त्रिपुरेश्वरथित रहेको नयाँ विभागको भवनमा ई-पासपोर्ट आगामी मंसिर १ गतेदेखि जारी गर्ने भएको हो ।

विभागले उक्त राहदानी छपाईको कार्य अन्तिम चरणमा पुगी परिक्षण गरिरहेको जनाएको छ ।

विभागका प्रवक्ता शरदराज आरनले आगामी मंसिर १ गतेदेखि ई-पासपोर्ट जारी गर्नको लागि तयारी गरिरहेको बताए । उनकाअनुसार हाल विभागले सम्पूर्ण आवश्यक पूर्वाधारहरू तयार गरी परिक्षणहरू गरिरहेको छ ।

‘विभागले अहिलेसम्म नेपालले मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गरिरहेको छ । तर, अबका दिनमा मंसिर १ गतेदेखि ई-पासपोर्ट जारी हुनेछ,’ उनले भने ।

विभागले पहिलो पटक ई-पासपोर्ट जारी गर्ने भएकाले मंसिर १ गतेबाट आंशिक रुपमा मात्रै छपाई गरी वितरण गर्ने तयारी गरेको छ । त्यसमा विभागले दोस्रो साताबाट मात्रै पूर्णरुपमा रुपान्तरण गर्ने तयारी गरेको उनको भनाइ छ । तर, पहिलो चरणमा सिमीत ई-पासपोर्ट छपाई गरेपनि अत्यावश्करुपमा बनाउने सेवाग्राहीलाई एमआरपी प्रदान गर्ने तयारी भएको छ ।

‘विभागले एमआरपीको तथ्याङ्क नयाँ प्रणालीमा सार्न र छपाइको काम प्रभावकारी बनाउन विभागले केही समयका लागि दुबै प्रकारका पासपोर्ट वितरण गर्ने तयारी गरेको हो,’ उनले क्लिकमाण्डूसँग भने ।

यस्ता छन् विशेषता
अन्य देशमा ई-पासपोर्ट जारी भए पनि नेपालमा भर्खरै शुरु गर्ने तयारी गरेको छ । त्यसमा विभागले हाल जारी गर्ने गरी तयारी गरेको ई-पासपोर्टमा विद्युतीय चिप र एन्टेना जडान गरिएको छ ।

यसलाई पोलिकार्बोनेटसहितको ई-पासपोर्ट पनि भन्ने गरिन्छ । उक्त विद्युतीय चिप र एन्टेना जडान गरिएको ई-पासपोर्टमा चिपमा औँठाछाप, तस्बिर र व्यक्तिगत विवरण राख्न सकिन्छ । सो विवरणहरू राखेर चिप लक गरिसकेपछि जो कोहीले सजिलै परिवर्तन गर्न नसक्ने भएकाले निकै सहज र विश्वासिलो हुने विभागको दाबी छ ।

विभागले एमआरपीको तस्बिर भएको डाटा पेजमा अप्टिकल क्यारेक्टर पहिचानको लागि मेसिन रिडेबल जोन राख्नेछ । उक्त राहदानी रिडर मेसिनले रिड गर्दा राहदानीमा रहेको महत्वपूर्ण विवरणहरू देखिनेछन् ।

साथै, विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुनाले आवगमनमा सहज पनि हुनेछ । हाल जारी गर्ने तयारी गरेको राहदानी ६४ पृष्ठ हुनेछन् ।

विभागले विभिन्न मानिसको प्रयोजनअनुसार पासपोर्ट जारी गर्ने भएको छ । जसमा राहदानीहरू साधारण, कुटनीतिक, विशेष, सर्भिस, अस्थायी, सिम्यान्स अभिलेख किताब गरी सात प्रकारका हुने विभागले जनाएको छ ।

विभागले हालसम्म एमआरपी भएको राहदानी जारी गर्दै आएका छन् । अबका दिनमा सम्पूर्ण कार्यहरू विद्युतीय माध्यमबाट हुने भएकाले विभागले पनि बद्लिँदै समयसँगै विद्युतीय राहदानीमा जानुपर्नेमा जोड दिएकाले विभागले सो कार्य शुरू गरेको हो ।

विभागले जारी गर्न लागेको राहदानी एमआरपीभन्दा सहज, गुणस्तरीय र भरपर्दो हुने दाबी गरेको छ ।

उक्त ई–पासपोर्टमा सम्पूर्ण विवरण समावेश भएकाले यसलाई बायोमेट्रिक पासपोर्ट भनिन्छ । ई–पासपोर्टमा चिपको प्रयोग हुने भएकाले व्यक्तिगत विवरणसहित बायोमेट्रिक डाटाको समावेश हुनेछ । जसले गर्दा उक्त चिपमा फेरबदल गर्न नसक्ने अवस्था हुँदा पासपोर्टलाई मेसिन÷कम्प्यूटरले सहजै रिड गर्न सक्ने विभागको दाबी छ ।

हाल नक्कली राहदानी प्रयोग गरी विभिन्न स्थानमा गएको पाइन्छ । त्यसैले आगामी दिनमा सो अर्काको पासपोर्ट बोकेर जान पाउने समस्या हट्न सक्ने सरकारले अपेक्षा गरेको छ ।

‘पासपोर्टमा सम्पूर्ण व्यक्तिगत बायोमेट्रिक विवरण हुने भएकाले बायोमेट्रिक नमिलेको खण्डमा सिधै नक्कली भएको बुझ्न सकिन्छ । साथै, अरुको नाममा रहेको पासपोर्ट बोकेर हिँड्ने प्रवृत्ति हट्नेछ,’ उनले भने ।

नेपालले सन् २०१० डिसेम्बर २६ देखि एमआरपी प्रयोगमा ल्याएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) ले सन् २०१५ नोभेम्बर २४ पछि हस्तलिखित राहदानीको सट्टा एमआरपी प्रयोगमा ल्याउनुपर्ने निर्णय गरेको थियो ।

सोही निर्णयपछि नेपालमा एमआरपी प्रयोगमा आउन थालेको विभागको भनाइ छ । त्यसैले, बद्लिँदो स्थितिलाई अपनाउँदै अब ई–पासपोर्ट जारी गर्ने तयारी भएको आरनले जिकिर गरे ।

त्यस्तै, सन् २०२० को डिसेम्बर २० मा राहदानी विभागले फ्रान्सको आईडीईएमआईए आइडेन्टी एण्ड सेक्युरिटीसँग ई–पासपोर्ट छपाइको लागि २ अर्ब ४८ करोड रुपैयाँमा खरिद सम्झौता गरेको थियो । जसमा १० महिनाभित्र कम्पनीले ई–पासपोर्टको वितरणका लागि सबै काम सकाउनुपर्ने सम्झौतामा उल्लेख थियो ।


क्लिकमान्डु