सामरिक लडाइको चपेटासँगै आर्थिक संकटको मारमा श्रीलंका, भोक मेटाउनै समस्या



एजेन्सी । कोरोना कहरको मार, आर्थिक संकट र सत्ताभित्र बिस्तारै देखिने संकटको मारमा यतिबेला श्रीलंका नराम्ररी फसेको छ । मानिसहरुलाई लाग्न सक्छ, यो विषय क्रमशः हल हुन्छ ।

तर अवस्थाले यस्तो देखाउँदैछ, विषय सहजै र सरल रेखामा हल हुनेवाला छैन । किनकी, १.८ महिनाका लागि मात्रै आयात धान्न सक्ने अवस्थामा पुगेको अमेरिकी डलरको सञ्चिती नै सबैभन्दा जटिल र खास कारण बनिरहेको छ ।

खानका लागि नै मानिसहरुका बीचमा ठूलो संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ । किनकी, दाल, चामल, मैदा र औषधी समेत बजारमा पाइन छाडेको छ । अफगानिस्तानमा सुनिएका यस्ता संकटका श्रृंखला अब टापु देशमा सरेको छ ।

धर्मशास्त्रअनुसार रावणको संसार रहेको लंकालाई राम र लक्ष्मणले हमला गरेर ध्वस्त बनाएका थिए । विगतमा लिट्ठेसँगको लडाइ र आन्तरिक द्वन्द्वको चपेटामा परेको श्रीलंका बिस्तारै उठ्न लागेको थियो ।

पारिवारिक सत्ता, चरम भ्रष्टाचार, राज्ययन्त्रमा फैलिएको चरम अनियमितताले मानिसहरुको दैनिकी नै कष्टकर बनेको थियो । डलर सञ्चितीमा देखिएको ठूलो संकटले अरु विषयहरु ओझेलमा पार्ने अवस्था देखिएको छ ।

भन्न त त्यहाँको सरकारले यो विषयलाई सामान्य र बिस्तारै समाधान हुने विषय बताइरहेका छन् । यो क्षणिक सान्त्वनाको विषयभन्दा अरु केही हुँदैन । संकटमा परेको पर्यटन उद्योग छिट्टै जो उनीहरुले भने जस्तो उठिहाल्ने अवस्थामा छैन । कोरोना प्रभावितहरुको अवस्था उस्तै छ ।

कोरोनाको खोप समेत यथेष्ट मात्रामा उपलब्ध हुन सकेको छैन । दैनिक ३ हजार बढी मानिस कोरोना प्रभावित भइरहेका छन् ।

कोभ्याक्समार्फत् आउने भनिएको खोप पनि उसले प्राप्त गर्न सकेको छैन । मानिसहरु कोरोनालाई केही पनि होइन, भोक मुख्य हो भन्ने अवस्थामा पुगेका छन् । आन्तरिक कृषि उत्पादनले माग धान्ने अवस्था छैन ।

खुल्ला बजार अर्थतन्त्रको नाममा केही सीमित व्यक्तिको हातमा मुलुकको समग्र क्षेत्र नियन्त्रणमा छ । त्यसमा पनि सत्तारुढ राजापाक्ष परिवार निकट रहेका केही मानिसहरुले समग्र बजार नियन्त्रण गरेको अवस्था छ ।

एकातिर चरम आर्थिक संकट, अर्कोतर्फ विगतमा लिट्ठेमाथि गरिएको अमानवीय दमनको प्रश्नको उत्तर अन्तर्राष्ट्रिय समूदायलाई दिनुपर्ने दबाबमा पनि उत्तिकै छ । टापु देशमा भूराजनीतिक लडाइपनि उस्तै छ । हमानटोटा पोर्टसँग जोडिएको सन्दर्भ पनि यसमा जोडिएर आउँछ ।

भारत आफनो सिकञ्जाबाट श्रीलंका बाहिर नजाओस् भन्ने चाहन्थ्यो, तर अवस्था त्यस्तो भइदिएन । पछिल्ला दिनमा राजापाक्षको पारिवारिक सत्ता चीनसँग नजिक छ । हमानटोटा पोर्ट उसले ९९ वर्षका लागि चीनलाई दिएको छ । तर, व्यापार आशातितरुपमा बढ्न सकेको छैन । भारत, यूरोप र अमेरिकालगायतका देशले श्रीलंकाको चीनसँगको बढ्दो उठबसलाई राम्रो मानेका छैनन् ।

चीनको दबाबमा अमेरिकी सहयोग परियोजनालाई फिर्ता पठाएको भन्दै पश्चिमाले पनि सहजै सहयोग गर्ने मनसाय राखेका छैनन् । एशियाली विकास बैंक, विश्व बैंक जस्ता बहुपक्षीय दातृ निकायको प्राथमिकताभन्दा बाहिर पर्दै गएको छ, श्रीलंका ।

अब उसका लागि एकमात्र भरपर्दो मित्र बन्न सक्छ चीन । तर, व्यापारमा मात्रै सम्बन्धको पाबन्दी खोज्ने चीनले कसरी साथ देला भन्ने विषय पनि समग्र श्रीलंकालीका लागि सोचनीय विषय बन्न पुगेको छ ।

श्रीलंकामा भारतले गरेको लगानीका विषयमा पनि बेला बेलामा प्रश्न उठ्ने गरेको छ । उसले श्रीलंकाको पोर्ट, पेट्रोलियम पदार्थ, विमानस्थललगायत कयौं क्षेत्रमा लगानी गरेको छ । एक हिसाबले भन्दा त्यहाँ चीन र भारतको लगानीको दौड छ ।

विगतमा सिरसेना राष्ट्रपति रहँदा उनी पश्चिमाको गोटी बनेको आरोप लाग्ने गरेको थियो । रणिल विक्रमासिंगेलाई भारतीय पक्षधर मानिन्थ्यो । तर, राजनीतिक पटाक्षेप यस्तो भइदियो कि दाजु भाइको हातमा पुनः त्यहाँको सत्ता पुग्यो । गोतवाया राजापाक्ष राष्ट्रपति र महन्द्रिा राजापाक्ष प्रधानमन्त्री बने ।

चीन समर्थक मानिएको राजापक्षाले भारतीय लगानी थप बिस्तार हुनबाट रोकेको देखिन्छ । यो भारतका लागि खतराको घण्टी भन्दै भारतीय सञ्चारमाध्यमले पाकिस्तानको हकमा जस्तै रवैया देखाएका छन् । चीनले भारतलाई घेर्ने रणनीतिका साथ रणनीतिक महत्वका क्षेत्रमा प्रवेश गरेको भारतीय विश्लेषण छ ।

भारत श्रीलंकालाई आफनो सम्बन्धको नजिकको हिस्सेदार ठान्छ । दक्षिण भारतमा रावणलाई भगवान मान्नेहरुको ठूलो जात छ । भगवानको देशमा भइरहेको संकटलाई समाधान गर्नेतर्फ भने हालसम्म उसले कुनै मुख खोलेको छैन । दक्षिण भारतका तमिल र श्रीलंकाका तमिलबीच पारिवारिक सम्बन्ध छ भन्ने पनि बेलाबेलामा कुरा उठ्ने गर्छ ।

तमिल अग्रवाद समाप्त भएपछि कुने आन्तरिक समस्या नभएको बताएपनि विदेशी मुद्राको चरम संकटमा फसेको देशलाई उकास्ने खास हतियार यतिबेलासम्म तयार भएको छैन ।

चीनले श्रीलंकाको कैंयौ परियोजनामा अर्बौ डलर लगानी गरेको छ । यदि चीनको प्रभुत्व बढेको खण्डमा हिन्द महासागरीय क्षेत्रमा उसको थप प्रभाव बढ्ने र सामरिक दख्खल समेत हुने भारतीय बुझाइ छ । भारत क्षेत्रीयरुपमा कुनै पनि अर्को शक्तिले प्रभुत्व जमाएको हेर्न चाहँदैन । अवस्था समारिक लडाइको हिसाबले पनि अगाडि बढेको छ ।

कूल ८८ विलियन डलर बराबरको जीडीपी रहेको श्रीलंकाको प्रमुख आर्जनको स्रोत पर्यटन, मत्स्य उद्योग नै हो । अधिकांश मानिस रोजगारीको खोजीमा खाडी मुलुक पुग्नुपर्ने बाध्यता त्यहाँ उस्तै छ । कोरोनाले त्यसमा समेत रोकावट आएको छ । सन् २०२० मा ७.१४ बिलियन डलर विप्रेषण भित्र्याएको श्रीलंकाले सन् २०२१ मा असाध्यै कम विप्रेषण भित्र्याउने विश्व बैंकलगायतका निकायको प्रक्षेपण रहेको छ ।

मानिसहरु खानाका लागि जुन खालको संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ । त्यसले अर्थतन्त्रका धेरै खम्बाहरु धरमाउने खतरा पैदा गरेको छ । विग्रहबाट एउटा लयमा फर्कन लागेको देश पुनः समस्यामा फस्ने सम्भावनालाई नजरअन्दाज गर्न नसकिने भएको छ । चीनको पक्षमा गएको भनिएपनि हालसम्म उत्तरले त्यहाँको अवस्थाको बारेमा केही बोलेको छैन ।

अन्य राजनीतिक र सामरिक विषयमा एक दिनमा ३ वटासम्म विज्ञप्ति दिने श्रीलंकामा रहेका चिनियाँ राजदूतले यसबारेमा केही बोलेका छैनन् । बेइजिङको आश गरिरहेको राजापाक्षको सत्ता अब भोका मानिसहरुका अगाडि कसरी प्रस्तुत हुन्छ, त्यो भने आगामी दिनले नै देखाउनेछ ।

किनकी, भोकका अगाडि संसारका कुनै पनि तागत बलशाली हुन सक्दैन । केवल ती कागजका बाघ सावित भएका छन् । हेराै‌, आर्थिक संकटमा फसेको श्रीलंकाले कसरी पार पाउला, त्यो भने केही समयपछि नै देखिएला । तर छाटकाट हेर्दा, अवस्था सजिलै पार पाउने दिशामा गएको छैन ।

श्रीलंकामा मुल्यवृद्धि ७.६ प्रतिशतमा रहेको अक्टोवरको तथ्यांकले देखाएको छ । सन्२०१७ को नोभेम्बरमा ५.७ प्रतिशत रहेको मूल्यवृद्धि केही वर्ष कम भएपनि कोरोनाकामा बढेको देखिन्छ । विशेषगरी खाद्यान्नमा मूल्यवृद्धिको मात्रा बढी रहेको छ । रोजगारीको दर सन् २०१८ मा ९५.९ रहेकामा त्यो घटेर सन् २०२१ कोे जुलाईमा ९४.९ मा ओर्लेको छ । त्यसमा युवाको बेरोजगारी दर २५.७ प्रतिशत रहेको छ ।


क्लिकमान्डु