एकैपटक ३० बढी शाखा बिस्तार गर्दै राष्ट्रिय वाणिज्य बैंक, सीइओ भन्छन्- कर्मचारी नहुँदा समस्या भयो



काठमाडौं । जागिरेहरुका लागि आकर्षक केन्द्रका रुपमा रहेको बैंकिङ क्षेत्र र त्यसमा पनि सरकारी बैंकमा नोकरी गर्न चाहनेको संख्या ठूलो छ ।

एकातिर दक्ष जनशक्तिहरु कहिले विज्ञापन खुल्छ र जागिर खान पाइएला भन्ने सोचमा बसेका हुन्छन् भने अर्कोतर्फ बैंकहरु पनि जनशक्ति भर्ना छिटो भइदिए हुन्थ्यो भन्ने सोचमा हुन्छन् । तर परिस्थिती सोचे जस्तो हुँदैन ।

त्यसमा पनि सरकारी संस्थाको हकमा विज्ञापन खुलाउँदादेखि नियुक्तीसम्मको लामो प्रक्रियाका कारण सोचे जस्तो भइदिन्न ।

यस्तै समस्या भोगेको संस्था हो, राष्ट्रिय वाणिज्य बैंक ।

बैंकमा २९ सयभन्दा बढी कर्मचारीको आवश्यकता भए पनि २१ सय हाराहारीका कर्मचारीले धानिरहेको अवस्था छ ।

कर्मचारीको संख्या कम हुँदा एकातिर सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा दिन सकेको छैन भने अर्कोतिर तयारी अवस्थामा रहेका विभिन्न स्थानमा ३० भन्दा बढी शाखा बिस्तार गर्न नसकिएको बैंकको भनाइ छ । उनका अनुसार कर्मचारी भर्नाको प्रक्रिया पहिले नै टुंगिएको भए गत असार मसान्तसम्म शाखाहरुको संख्या २९० पुगिसक्थ्यो ।

बैंकका सीइओ किरण कुमार श्रेष्ठका अनुसार यदि समयमै कर्मचारी भर्नाको प्रक्रिया पूरा भइदिएको भए अहिले बैंकको शाखाको संख्या २९० पुगिसक्थ्यो । जुन हाल २५७ मा सीमित छ ।

‘अहिले हामीसँग आवश्यकता अनुसारका कर्मचारीनै छैनन्, यस्तो अवस्थामा शाखा बिस्तार गर्न सकिएको छैन, भएका शाखा समेत कर्मचारीको अभाव छ भने नयाँ शाखा बिस्तार गर्ने कुरै भएन,’ उनले भने ।

उनका अनुसार बैंकका कर्मचारीलाई ३० वर्षे सेवा वा ५८ वर्षे उमेर हदका कारण धेरै कर्मचारी निवृत्त भइसकेका छन् । तर रिक्त स्थानमा समयमै कर्मचारी भर्नाको प्रक्रिया टुंगिएको छैन ।

‘२०७५ सालमै हामीले ६६१ जना कर्मचारी भर्ना गर्नका लागि विज्ञापन खुलायौं, तर त्यसविरुद्ध अदालतमा मुद्दा पर्यो, मुद्दा २ वर्षसम्म लम्बियो,’ उनले भने, ‘मुद्दा टुंगो लागेपछि विनियमावली संशोधन गर्नुपर्यो यसकारणले २०७८ सालमा आएर बल्ल केही दिनअघि मात्रै विज्ञापन फेरि खुलाउन पाएका छौं ।’

उनका अनुसार अब कुनै समस्या नआए कर्मचारी भर्नाको प्रक्रिया पूरा हुन करिब ५ महिनामा टुंगिन्छ ।

‘नियमित प्रक्रियाअनुसार नै आवेदन, लिखित र मौखिक परीक्षालगायतका सम्पूर्ण प्रक्रिया सकाउँदा करिब ५ महिनाको समय लाग्छ, त्यसपछि मात्रै शाखा बिस्तारलगायतका रोकिएका काम अगाडि बढाउन सक्छौं,’ उनले भने ।

सीइओ किरण कुमार श्रेष्ठ

कहाँ–कहाँ बिस्तार हुँदैछन् शाखा ?
सीइओ श्रेष्ठका अनुसार बैंक अझै पनि ९ वटा जिल्लाका सदरमुकाममा शाखा छैनन् । जसमा ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, सल्यान, रोल्पा, सिराहा, प्युठानलगायतका जिल्ला छन् । पहिलो काम ती सदरमुकाममा शाखा बिस्तार गर्नु हुनेछ ।

त्यसबाहेक पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका ६ वटा मुख्य सहरमा पनि राष्ट्रिय वाणिज्य बैंकको शाखा छैनन् । यी क्षेत्रमा पनि छिट्टै शाखा बिस्तार हुनेछ ।

त्यसबाहेक काठमाडौं उपत्यकाभित्रै पनि विशेष गरी रिङरोड बाहिरका कैयन स्थानमा अझै पनि बैंकले शाखा बिस्तार हुन सकेको छैन । श्रेष्ठका अनुसार पछिल्लो समय स्वयम्भु, सतुंगल, ठैब, कमलविनायक, भैसेपाटी, चापागाउँलगायतका स्थानमा शाखा बिस्तार भए पनि अझै पनि धेरै स्थानमा शाखा बिस्तार गर्न बाँकी छ ।

‘काठमाडौं उपत्यकाको हकमा पहिले रिङरोड बाहिर जनसंख्या पनि कम थियो भने कारोबार पनि निकै कम हुन्थ्यो । तर अहिले दुबै बढेको छ । जसले गर्दा शाखा बिस्तारको काम अपरिहार्य जस्तै बनेको छ,’ श्रेष्ठले भने ।

८३५ कर्मचारी माग
बैंकले हालै ८३५ जना कर्मचारीका लागि विज्ञापन खुलाएको छ । जसमा बैंकले चौथो तहदेअि नवौं तहसम्मका पदमा जागिर खुलाएको छ । जसमा कुनै तहमा २ सय वटासम्म कर्मचारी माग गरिएको छ । बैंकका अनुसार कर्मचारी भर्ना गर्ने वित्तिकै शाखा बिस्तारलगायत रोकिएका कामहरु शुरु हुनेछन् ।

कर्मचारी नहुँदा सेवाग्राही मारमा
बैंकका सीइओ श्रेष्ठका अनुसार अहिले सबैभन्दा समस्या कस्टम सर्भिसमा परेको छ ।

‘सेवाग्राहीलाई भनेअनुसारको सेवा चाहिएको हुन्छ, तर हामीले कर्मचारीको अभावमा छिटो र छरितो रुपमा सेवा दिन सकेका छैनौं । सेवाग्राहीलाई कर्मचारी अभावको मतलब हुने कुरै भएन,’ श्रेष्ठले भने ।

उनका अनुसार उपत्यकाका केही शाखा कार्यालयमा धान्न नसक्ने गरी सेवाग्राही बढ्न थालेका छन् ।

‘आजै मात्र नयाँ बानेश्वरको शाखाबाट गुनासो आएको छ, सेवाग्राहीको चाप अत्यधिक भयो तर कर्मचारी भएनन्,’ उनले भने, ‘समयमै कर्मचारी भर्नाको प्रक्रिया अघि बढ्दा अहिले हामीहरुले समस्या भोगिरहेका छौं ।’

केही शाखा कार्यालयमा सेवाग्राहीको चाप अत्यधिक भएपछि बैंकले त्यस्ता शाखा पहिचान गरी सेवा अवधि थप गर्ने योजना समेत बनाएको छ ।

‘सेवाग्राहीको चाप भएका शाखा कार्यालयहरुमा अतिरिक्त समयमा पनि सेवा दिने योजना बनाएका छौं । सेवाग्राहीको चाप बढी हुने शाखामा विशाल बजार, टेकु, नयाँ बानेश्वर, गौशालालगायतका शाखामा छन् । जसमा निकै भिड हुन थालेको छ । अब यी शाखामा कार्यालय समय १ देखि २ घण्टा थप गर्ने योजना बनाएका छौं,’ श्रेष्ठले भने ।


क्लिकमान्डु