चिया र अलैंचीको निर्यातमा ह्रास, जुस निकासी ५१% ले बढ्यो



काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को प्रथम तीन महिना अवधिको नेपालको वैदेशिक व्यापार ५ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । व्यापार तथा निकासी प्रबद्र्धनले गरेको समीक्षाअनुसार कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२ प्रतिशत र ८८ प्रतिशत रहेको छ ।

नेपालले तीन महिनाको अवधिमा कुल निकासी १०९.५ प्रतिशतले वृद्धि भई ६५ अर्ब ५ करोड तथा कुल पैठारीमा ६३.७ प्रतिशतले वृद्धि भई ४ खर्ब ७८ अर्ब ५२ करोड पुगेको तथ्याङ्कमा उल्लेख छ ।

नेपालबाट निकासी भएका प्रमुख वस्तुहरूमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, सूर्यमुखी तेल, तयारी पोशाक, ऊनी फेल्टका उत्पादन, जुस, अलैंची, चिया, कपडा, पश्मिना शल, चाऊचाऊ, फलाम तथा फलामका उत्पादनहरु प्रमुख रुपमा रहेका छन् ।

उक्त प्रमुख वस्तुमध्ये कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थानमा हासिल गरिरहेको उत्पादन अलैंचीको निर्यातमा १२.८ प्रतिशतले ह्रास आएको छ । जसमा तीन महिनाको अवधिमा गत वर्षको तुलनामा निर्यातमा ह्रास आई १ अर्ब २८ करोड रुपैयाँ सीमित हुन पुगेको छ ।
यसै गरी कृषिजन्य वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको अर्को उत्पादन चियाको निर्यातमा पनि ५३.५ प्रतिशतले ह्रास आई १ अर्ब १ करोडमा सीमित हुन पुगेको छ ।

तीन महीनाको अवधिमा भटमासको तेलको निर्यातमा १८९.५ प्रतिशतले वृद्धि भई २२ अर्ब २ करोडको निर्यात भएको छ । जसमा उक्त अवधिमा पामतेलको निर्यातमा वृद्धि भई १३ अर्ब ५१ करोडको निर्यात भएको छ ।

केन्द्रकाअनुसार यार्नको निर्यातमा ५१.७ प्रतिशतले वृद्धि भई २ अर्ब ६ करोडको निर्यात भएको छ । साथै, परम्परागत नेपाली निर्यातजन्य वस्तु ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा २०.५ प्रतिशतले वृद्धि भई २ अर्ब ४६ करोडको निर्यात भएको छ ।

तीन महिनाको अवधिमा नेपालबाट जुट तथा जुटका उत्पादनको निर्यातमा ३४.९ प्रतिशतले वृद्धि भई २ अर्ब ३७ करोडको निर्यात भएको छ । केन्द्रले पछिल्ला केही महिनाहरूमा सूर्यमुखी तेल पनि नेपालको प्रमुख निकासीयोग्य वस्तुको पहिचान स्थापित गर्दै आएको छ ।

सो तेलको निर्यात तीन महिना अवधिमा १ अर्ब ८२ अर्बको निर्यात भएको छ । नेपालको अर्काे परम्परागत निर्यातजन्य वस्तु तयारी पोशाकको निर्यातमा २६.२ प्रतिशतले वृद्धि भई २ अर्ब २० करोडको निर्यात भएको छ ।

यसै गरी अर्को प्रमुख निर्यातजन्य वस्तु फेल्टको निकासीमा अवधिमा ३०.२ प्रतिशतले वृद्धि भई १ अर्ब ७२ करोडको निर्यात भएको छ ।
त्यसैगरी, जुसको निकासीमा ५१.८ प्रतिशतले वृद्धि भई १ अर्ब ५१ करोडको निर्यात भएको केन्द्रको तथ्याङ्कले उल्लेख गरेको छ

निर्यातित वस्तुमध्ये तेलको मात्रै ५७ प्रतिशत हिस्सा
चालु आर्थिक वर्षको प्रथम तीन महिनामा प्रशोधित खाद्य तेल ( भटमासको तेल, पामतेल, सुर्यमुखीतेल) को निर्यात नेपालको कुल निर्यातमा ५७.४ प्रतिशतको हिस्सा ओगट्दै प्रमुख निर्यातजन्य वस्तु बनेको छ ।

यी वस्तुहरुको कुल निर्यात ३७ अर्ब ३६ अर्ब पुगेको छ । प्रशोधित खाद्य तेलको निर्यात मध्ये भटमासको तेल, पामतेल तथा सूर्यमुखीतेलको निर्यातको हिस्सा नेपालको कुल निर्यातमा क्रमशःः ३३.९ प्रतिशत, २०.८ प्रतिशत र २.८ प्रतिशत रहेको छ ।

निर्यातित वस्तुमध्ये भारततर्फ ८१ प्रतिशत हिस्सा
नेपालको निकासी व्यापारमा प्रमुख स्थान ओगट्ने भारततर्फको निर्यातमा १४७.१ प्रतिशतले वृद्धि भएको छ । जसमा उक्त अवधिमा ५२ अर्ब ७२ करोडको निर्यात भएको छ । नेपालको कुल निकासीमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भारततर्फको हिस्सा ६८.७२ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षका सो हिस्सा बढेर ८१ प्रतिशत पुगेको छ ।

नेपालको निर्यातमा ५७.४ प्रतिशत योगदान राख्ने भटमास, पामतेल र सूर्यमुखी तेलहरुको निर्यात भारतमा नै भई रहेकोले नेपालको कुल निकासीमा भारततर्फको हिस्सामा यस्तो बढोत्तरी देखिएको हो ।

नेपालको निर्यात व्यापारमा महत्वपूर्ण रहेका अन्य मुलुकहरुमा संयुक्त राज्य अमेरिका, जर्मनी, युके, टर्की, फ्रान्स, जापान, अष्ट्रेलिया, इटाली, क्यानडा, चीन, नेदरलेण्ड्स, डेनमार्क, बंगलादेश रहेका छन् ।

मुख्य आयातित वस्तुमा अत्यधिक वृद्धि
पैठारीतर्फ समग्रमा आव २०७८÷७९ को प्रथम तीन महीनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पेट्रोलियम पदार्थमा १३२.७ प्रतिशतले वृद्धि भई ५३ अर्ब ९१ अर्बको आयात भएको छ ।

सो अवधिमा फलाम तथा स्टील र तिनका उत्पादनहरूको आयातमा ६९.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ७६ करोड, मेशिनरी तथा पार्ट्समा ५३.९ प्रतिशतले वृद्धि भई ३५ अर्ब १० करोड, यातायातका साधन र तिनका पार्टपुर्जामा ७३.४ प्रतिशतले वृद्धि भई ३४ अर्ब ३८ करोड, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामाग्रीहरुमा २०.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोडको आयात भएको छ ।

तर अन्नको आयातमा १०.३ प्रतिशतले ह्रास आई १७ अर्ब ७१ करोडमा सीमित रहेको छ । तयारी पोशाकको आयातमा ४३.७ प्रतिशतले वृद्धि भई १० अर्ब ५३ करोडको आयात भएको छ । यसै गरी समीक्षा अवधिमा औषधीको आयातमा ६८.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ४९ करोड पुगेको छ । नेपालले सोही अवधिमा कच्चा भटमास तेलको आयातमा १५३.२ प्रतिशतले भई २० अर्ब ६१ करोडको आयात गरेको छ ।

दुरसञ्चारका सामाग्रीको आयातमा ५५.४ प्रतिशतले वृद्धि भई २० अर्ब ६४ करोडको आयात भएको छ । नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकहरुमा भारत, चीन, इण्डोनेशिया, अर्जेण्टिना, युएई, अष्टे«लिया, संयुक्त राज्य अमेरिका, स्वीट्जरलेण्ड, मलेशिया, बँगलादेश, युक्रेन, टर्की, ब्राजील र क्यानडा रहेका छन् ।

भौतिक संरचना निर्माणका सामाग्रीहरु जस्तै फलाम, स्टील तथा तिनका सामानहरु, आलुमुनियम, तामा जस्ता वस्तुहरुको आयातमा भएको वृद्धिले मुलुकको विकासमा सकारात्मक योगदान दिएको केन्द्रको भनाई छ ।

मुलुकका लागि अति आवश्यक औद्योगिक कच्चापदार्थहरु जस्तै कच्चा पाम आयल, कच्चा भटमासको तेल, कच्चा सूर्यमुखीतेल, पोलिथिन ग्य्रानुअल, रबर, रसायन जस्ता वस्तुहरुको आयात उल्लेख्य रुपमा भएको छ । समीक्षा अवधिमा औद्योगिक क्रियाकलाप अभिवृद्धिमा मूख्य भूमिका खेल्ने क्यापिटल गुड्स ( मशिनरी तथा पार्ट्स )को आयातमा वृद्धि हुँदा यस्तो आयातले दीर्घकालमा सकारात्मक प्रभाव पार्नें देखिएको केन्द्रको निष्कर्ष छ ।

यसै गरी समीक्षा अवधिमा पेट्रोलियम पदार्थको आयातमा वृद्धि भए तापनि पेट्रोलियम पदार्थको अधिकाँश आयात औद्योगिक उत्पादन, मालवस्तु ढुवानी तथा सार्वजनिक यातायातमा खपत भई रहेको सन्दर्भमा यी वस्तुहरुको आयातले पनि मुलुकको अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण योगदान दिएको केन्द्रले उल्लेख गरेको छ ।


क्लिकमान्डु