एकै पटक एक हजारबढीलाई बीमा समितिले सर्भेयरको लाइसेन्स दिँदै



काठमाडौँ । बीमा समितिले एकै पटक एक हजारभन्दा बढीलाई बीमा सर्भेयरको लाइसेन्स दिने भएको छ । बजारमा सर्भेयरको संख्या कम भएको भन्दै समितिले एकै पटक ठूलो संख्यामा सर्भेयरको लाइसेन्स बाँड्ने भएको हो ।

समितिले ५ वर्षपछि बीमा सर्भेयरको लाइसेन्सका लागि आवेदन खुलाएको थियो । भदौ ८ गतेदेखि १४ गतेसम्म अनलाइनमार्फत् दरखास्त आह्वान गरेको थियो ।

समितिले खुलाएको बीमा सर्भेयरको लाइसेन्सका लागि ११६८ जनाले दरखास्त दिएका थिए । आवेदन दिएका सबैजनालाई समितिले लाइसेन्स दिने भएको हो ।

समितिले बीमा क्षेत्रका लागि आवश्यक सङ्ख्यामा बीमा सर्भेयर उपलब्ध गराउने भन्दै बीमा सर्भेयरको आधारभूत तालिम दिन शुरू गरिसकेको छ ।

आवेदन दिएकामध्ये केहीलाई आधारभुत तालिम दिइसकेको छ भने केहीलाई तालिम दिने तयारीमा रहेको बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिले बजारमा पर्याप्त संख्यामा सर्भेयर नहुँदा निर्जीवन बीमा कम्पनीहरुमा दाबी भुक्तानीमा समस्या रहेको र सो अभाव पूर्ती गर्नका लागि भन्दै एकै पटक ठूलो संख्यामा लाइसेन्स दिन लागेको हो ।

तर, एकै पटक ठुलो संख्यामा लाइसेन्स बाँड्दा बजारमा रहेको अभाव हट्नेभन्दा पनि थप समस्या उत्पन्न हुन सक्ने सम्भावना बढ्दै जाने सरोकारवालाहरु बताउँछन् ।

एकै पटक एक हजार जनाभन्दा धेरैको संख्यामा सर्भेयरको लाइसेन्स बाँड्दा बजारको अभाव हटेपनि झनै समस्या उत्पन्न हुन सक्ने बीमा समितिमा कार्यरत एक कर्मचारीले बताए ।

पहिले बजारमा थोरै मात्रामा सर्भेयर थिए । दाबी भुक्तानीमा समस्या त थियो । तर, एकै पटक धैरै संख्यामा सर्भेयर उत्पादन गर्दा दावी भुक्तानीमा अझै समस्या उत्पन्न हुने अनुमान उनको छ । बजारमा एक हजारभन्दा बढी सर्भेयर हुँदा सर्भेयरको मिलेमत्तोमा रकम पाउनका लागि गलत कार्य बढ्न सक्ने उनको बुझाई छ ।

‘एक हजार जनाभन्दा बढी सर्भेयर हुँदा चिने जानेका सर्भेयरसँग मिलि ठगी गर्ने कार्य बढ्न सक्छ । बजारमा कुनै न कुनै सर्भेयरलाई कुनै न कुनै बीमितले चिनेको हुन्छ । व्यक्तिगत चिनजानलाई फाइदामा परिणत गर्दै गलत कार्य गर्न सक्छन्,’ क्लिकमाण्डूसँग ती कर्मचारीले भने ।

समितिले गरेको यस्तो कार्यले निर्जीवन बीमा कम्पनीमा देखिएको दाबी भुक्तानी सम्बन्धि समस्या झनै बढ्न सक्ने उनको बुझाइ छ ।

निर्जीवन बीमा बजारमा देखिएको दाबी भुक्तानीसम्बन्धी समस्या समाधान गर्नका लागि सर्भेयरको संख्या बढाउनुभन्दा पनि गुणात्मक क्षमता अभिवृद्धि गरिनु पर्नेतर्फ नियामक निकाय केन्द्रित रहनुपर्ने उनले बताए ।

‘बीमा समिति लाइसेन्स बाड्ँने ठाउँ मात्रै भयो । संख्या बढाउने हेतुले एकै पटक सर्भेयरको लाइसेन्स धेरै बाँडियो,’उनले भने ।

बीमा नियमावली २०४९ ले निर्धारण गरेको न्यूनतम योग्यता पुगेकाहरुलाई एक हप्ते तालिममा सहभागीता जनाएकै भरमा बीमा समितिले सर्भेयरको लाइसेन्स दिँदै आएको छ ।

एक हप्ताको तालिमको भरमा बिना कुनै परीक्षण र विना कुनै परीक्षा एकै पटकमा पूर्ण सर्भेयरको लाइसेन्स दिईन्छ । जुन गलत रहेको विज्ञहरुको आरोप छ ।

एक हप्ताको तालिमको भरमा बीमा सर्भेयरको लाइसेन्स दिने अभ्यास नै गलत रहेको उनीहरुको बुझाइ छ । यस्तो अभ्यासलाई परिमार्जन गर्दैै गुणात्मक क्षमतामा जोड दिने हो भने हाल भइरहेका सर्भेयर नै पर्याप्त रहने सरोकारवालाहरुको बुझाइ छ ।

निर्जीवन बीमामा बीमामा सर्भेयरको महत्व अति नै आवश्यक हुने हुँदा एक हप्ताको तालिमले मात्रै सर्भेयरको क्षमता अभिवृद्धि नहुने विज्ञहरुको जोड छ ।

छोटो समयको तालिम पश्चात नै सर्भेयरको लाइसेन्स पाएकाहरुले गहन अध्ययन नगरी काम गर्ने चलनलाई अन्त्य गर्नुपर्नेतर्फ समिति लाग्नु पर्ने सरोकारवालहरु बताउँछन् ।

समितिले बीमा दाबी भुक्तानीमा सिघ्रताको लागि सर्भेयरको संख्या वृद्धि गर्ने कदम चाल्नुभन्दा पनि सर्भेयरहरुको संख्यात्मक वृद्धिसँगै गुणात्मक क्षमता वृद्धिका लागि समेत कदम चाल्नु पर्ने देखिन्छ ।

यदि संख्यात्मक वृद्धि मात्रै गर्दै जाने हो भने समस्याहरु घट्नुको साटो बढ्दै जाने कुरामा सरोकारवालाहरु जोड दिन्छन् । आवेदन दिएका सबैलाई लाइसेन्स दिनुभन्दा पनि कुनै परीक्षा लिई उत्कृष्ट आवेदक छनौट गर्नुपर्नेतर्फ समितिले ध्यान दिनुपर्छ ।

समितिबाट लाइसेन्स प्राप्त सर्भेयरले सबै किसिमका बीमाको सर्भे गर्छन् । योग्यता तथा क्षमताका आधारमा क्षेत्रगत रुपमा कामको वर्गीकरण गरिनुपर्ने समेत उनीहरुको तर्क छ ।

इन्जिनियरिङ पढेको व्यक्तिलाई इन्जिनियरिङ बीमाको सर्भे गर्न दिइने हो भने पनि दावी भुक्तानीमा देखिएको समस्या सल्टिन सहज हुने उनीहरुको बुझाइ छ ।

दावी फर्छौट वर्ष बनाउन लाग्दै छौंः समिति
बीमा समितिले निर्जीवन बीमा कम्पनीमा भुक्तानी हुन बाँकी रहेको दावी भुक्तानी फर्छौट गर्नका लागि बजारको माग अनुसार नै सर्भेयरलाई लाइसेन्स दिन लागेको बताएको छ ।

‘यो वर्षलाई दाबी फर्छौट वर्ष बनाउन लाग्दै छौँ । यसै वर्ष बीमा कम्पनीहरुमा भएको दाबी सकभर घटाउने हो,’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने ।

नेपालमा ४ सयको हाराहारीमा सर्भेयर छन् । तर, बजारमा सक्रिय सर्भेयरको संख्या भने १ सय हाराहारी मात्रै छ । जस कारणले यत्तिको संख्यामा लाइसेन्स दिँदा त्यत्ति ठूलो असर नपर्ने पौडेलको बुझाइ छ ।

‘बजारमा सर्भेयर भएनन् भनिरहेका थिए । बजारको डिमाण्ड अनुसार नै लाइसेन्स दिँदै छौं,’ उनले भने ।

‘नयाँ सर्भेयरलाई अलि सानोतिनो काम दिन्छन्, ठूलालाई अलि ठूलै काम दिन्छन् । कम्पनीहरुले म्यानेज गरिहाल्छन्’ उनले थपे ।

बीमा सर्भेयर हुनका लागि बीमा कम्पनीमा अधिकृतस्तरको पदमा कम्तीमा १० वर्षसम्म काम गरेको वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातक उपाधि हासिल गरेको वा अन्तर्राष्ट्रिय स्तरका चार्टर्ड इन्स्योरेन्स इन्ष्टिच्युट वा त्यस्ता संस्थाको मान्यता प्राप्त संस्थाबाट बीमा सम्बन्धी विषयमा कम्तीमा स्नातक उपाधी हासिल गरेको, चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ ।

दुर्घटना लगायतका बीमामा दाबी परेपछि सर्भेयरले त्यसको कारणको खोजी गर्ने तथा पत्ता लगाउने कार्य गर्दछन् । सर्भेयरले क्षति कहिले भएको समेत पत्ता लगाउने गर्छन् ।

सर्भेयरले क्षतिको प्रकृति हेरेर क्षतिको कारण तथा दाबीका विषयमा निर्णय दिने गर्छन् । सर्भेयरले दिएको क्षतिको विवरणका आधारमा नै कम्पनीहरुले दावी भुक्तानीको कार्य अघि बढाउँछन् ।


क्लिकमान्डु