अझै पनि २१ लाख व्यक्तिको घरमा छैन झिलिमिली बत्ती



काठमाडौं । मुलुकभर झिलिमिलीको पर्व तिहारको रौनक चलिरहेको छ । आज लक्ष्मी पूजा ।

उज्यालोको पर्वका रुपमा देशभरका अधिकांस नेपालीले तिहार मनाइरहेको बेला अझै पनि मुलुकमा झन्डै २१ लाख व्यक्ति झिलिमिली बत्तीको पहँचबाट बञ्चित छन् ।

सरकारी तथ्यांकअनुसार मुलुकका ९३ प्रतिशत जनतामा विद्युत र नवीकरणीय उर्जाको पहुँच रहेको छ । यसको अर्थ अझै पनि ७ प्रतिशत जनता भने विद्युत् र सोलरको बत्ती बाल्ल पाएका छैनन् । उनीहरु मट्टितेलको भरमा बाच्नु परेको छ ।

अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७८ को विवरणअनुसार २०७७ फागुन महिनासम्म ९३ प्रतिशत जनताले उज्यालो बत्ती बाल्न पाएका छन् । यसमा ९० प्रतिशत विद्युत र ३ प्रतिशत वैकल्पिक ऊर्जाको पहुँच रहेको छ ।

मुलुकमा हाल झन्डै ३ करोड जनसंख्यालाई आधार मान्ने हो भने ७ प्रतिशतले अझै पनि उज्यालो बत्ती बाल्न सकेका छैनन् । ३ करोडको ७ प्रतिशत भनेको २१ लाख हुन आउँछ ।

बत्तीको पहुँचबाट बन्चित रहेको सबैभन्दा धेरै जनसंख्या कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा ३४.७५ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । अझै पनि त्यस प्रदेशका ६५ प्रतिशत जनसंख्या उज्यालोबाट बञ्चित छन् ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशका ३५ प्रतिशत जनसंख्याले उज्यालो बत्ती बाल्न पाएका छैनन् ।

आर्थिक वर्ष २०७७÷७८ को फागुनसम्म विद्युत उपभोग गर्ने ग्राहक १०.९७ प्रतिशतले वृद्धि भई ४९ लाख ९३ हजार (सामुदायीक संस्थाबाहेक) पुगेको छ । यो भनेको घरधुरीका आधारमा मानिएको हो ।

प्रदेशगत हर्ने हो भने सबैभन्दा धेरै विद्युत खपत गर्ने प्रदेश नम्बर २ रहेको छ । त्यहाँका ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ भने बागमतिमा ९४.४४ प्रतिशत, प्रदेशक १ मा ८२.४३, गण्डकीमा ९२.७९ र लुम्बिनीका ९१ प्रतिशत जनताले विद्युत् खपत गर्न पाएका छन् ।

आर्थिक वर्ष २०७७/७८ को फागुनसम्म विद्युत् खपतको अवस्था हेर्दा घरायसी क्षेत्रमा ४५ प्रतिशत, औद्योगिक क्षेत्रमा ३७ प्रतिशत, व्यापारिक क्षेत्रमा ७ प्रतिशत र अन्य क्षेत्रमा ११ प्रतिशत रहेको छ ।

फागुनसम्म नवीकरणीय ऊर्जाको स्रोतबाट करिब ३.१८ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुगेको छ । विभिन्न प्रयोजनमा स्वच्छ नवीकरणीय ऊर्जाको प्रयोग गर्ने जनसंखया करिब ३६ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।


क्लिकमान्डु