तीन महिनामा वाणिज्य बैंकले कमाए १८ अर्ब, ५ बैंक अर्बपति क्लबमा, कुनको नाफा कति ?



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यसरी हेर्दा वाणिज्य बैंकहरुको औसत नाफा २४ प्रतिशत देखिएको छ ।

कोरोना महामारी न्यून भएसँगै बैंकहरुको नाफामा सुधार देखिएको छ । अहिले बैंकको खराब कर्जा घट्दै जानु, खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा बढ्दा बैंकहरुको नाफामा सुधार देखिएको छ ।

गत आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको नाफा १४ अर्ब ६० करोड ३९ लाख ७६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफा २४.०५ प्रतिशतले बढेको छ ।

२७ वटा वाणिज्य बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको नाफालाई आकर्षक नाफाको रुपमा लिन सकिने स्वयम बैंकर्सहरुको भनाई छ । तीन महिनाको अवधिमा बैंकको कर्जाको माग निकै देखिएको छ ।

यो अवधिमा प्रतिशतको आधारमा हेर्दा सिभिल बैंकको नाफा उल्लेख्य बढेको देखिएको छ । सिभिल बैंकको नाफा २०१.८७ प्रतिशतले बढेको छ । सिद्धार्थ बैंकको ८९.५०, नेपाल एसबिआई बैंकको ८५.९८, लक्ष्मी बैैंकको नाफा ७६.९९ र एभरेष्ट बैंकको नाफा ७२.९१ प्रतिशतले बढेको छ ।

५ वटा बैंक अर्बपति क्लबमा
चालु आर्थिक वर्षको तीन महिनामा ५ वटा बैंकको नाफा उल्लेख्य बढेको छ । तीन महिनामा ५ वटा बैंकको नाफा अर्ब घटेको छ । नाफा आर्जनतर्फ हेर्दा एनएमबि बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंक अर्बपति क्लबमा प्रवेश गरेका छन् ।

यो अवधिमा सबैंभन्दा बढी नाफा एनआईसी एसिया बैंकले नाफा आर्जन गरेको छ । बैंकले १ अर्ब १८ करोड ६ लाख ९१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १५.६३ प्रतिशतले बढेको छ ।

धेरै नाफा कमाउनेमा नबिल बैंक दोस्रो र ग्लोबल आइएमई बैंक तेस्रो रहेका छन् । नबिल बैंकले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ र ग्लोबल आइएमईले १ अर्ब ११ करोड २२ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । नबिलको नाफा ७.३८ र ग्लोबलको ५.०४ प्रतिशतले बढेको छ ।

४ वटा बैंकको नाफा घट्यो
असोज मसान्तसम्म ४ वटा बैंकको नाफा घटेको छ । प्रकाशित वित्तीय अवस्था अनुसार प्राइम, कुमारी, प्रभु र नेपाल बंगलादेश बैंकको नाफा घटेको छ ।

नेपाल बंगलादेश बैंकको नाफा २७.९३, प्रभुको २५.९३, कुमारीको १०.१९ र प्राइम बैंकको नाफा ३.९० प्रतिशतले घटेको छ ।


क्लिकमान्डु