२ महिनामा वाणिज्य बैंकको नाफा साढे १३ अर्ब बढी, राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै



काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा वाणिज्य बैंकहरुले १३ अर्ब ६६ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरणमा यस अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक र सबैभन्दा कम नाफा कमाउनेमा नेपाल बैंक छ ।

राष्ट्रिय वाणिज्य बैंकले दुई महिनाको अवधिमा १ अर्ब ६ करोड ८८ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

दोस्रो बढी नाफा कमाउने ग्लोबल आईएमई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा बैंकले ९८ करोड ५२ लाख नाफा आर्जन गरेको छ ।

नाफा आर्जन गर्ने तेस्रोमा परेको नबिल बैंकले दुई महिनाको अवधिमा ९३ करोड ४५ लाख १० हजार रुपैयाँ नाफा आर्जन गरेको देखिएको छ ।

त्यस्तै एनआईसी एसिया बैंकले ८१ करोड ६१ लाख, कृषि विकास बैंकले ७८ करोड ४८ लाख ९० हजार, सिद्धार्थ बैंकले ७५ करोड ५२ लाख ३० हजार रुपैयाँ नाफा आर्जन गरेको तथ्याङले देखाएको छ ।

भदौ मसान्तसम्मको तथ्याङक अनुसार सबैभन्दा कम नाफा आर्जन गर्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले जम्मा १५ करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नेपाल बैंकभन्दा थोरै बढी नाफा आर्जन गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले १९ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

त्यस्तै सेञ्चुरी बैंकले २१ करोड १३ लाख, बैंक अफ काठमाण्डूले २१ करोड ५४ लाख, नेपाल एसबीआई बैंकले २३ करोड १८ लाख, नेपाल बंगलादेश बैंकले २८ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कारोना महामारी न्यून भएसँगै बैंकहरुले लगानी बढाएका छन् । बैंकले लगानी बढाएसँगै नाफामा समेत सुधार देखिदै गएको छ । पछिल्लो समय भने बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) अभाव देखिएको छ ।

बैंकमा निक्षेप संकलन न्युन भएको र कर्जाको माग बढेसँगै बैंकहरुले निक्षेप संकलन गर्नको लागि ब्याजदरलाई हतियार बनाएका थिए । बैंकहरुले ब्याजदरमा मनोमानी गर्न थालेपछि राष्ट्र बैंकले सीमा निर्धारण गरेको छ ।


क्लिकमान्डु