भारतमा दैनिक २२ लाख टन कोइला आवश्यक, भण्डारमा १ करोड टन मात्रै



एजेन्सी । भारतको ऊर्जा संकटलाई हल गर्ने उद्देश्यका साथ त्यहाँको सरकारले कोइला भण्डारलाई बढ्ता जोड दिएको छ ।

जानकारी अनुसार भारतमा दैनिक १८ लाख ५० हजार टनदेखि १८ लाख ७० हजार टनसम्म कोइला जरुरी पर्दछ । त्यसलाई बढाएर ३० लाख टन बनाउने लक्ष्य राखिएको छ । दैनिक ३ लाख टनका दरले कोइलाको भण्डार बढाउने योजना अगाडि सारिएको छ ।

कोइला अभावमा सबै ऊर्जा केन्द्रहरु प्रभावित भएका छन् । देशभर नै लोडसेडिङ गर्नुपर्ने अवस्थामा भारत पुगेको छ । त्यसबाट सबैभन्दा बढी प्रभावमा राजधानी नयाँ दिल्ली र आर्थिक राजधानी मुम्बई पर्नेछ । यस्तै, अन्य शहरहरुमा समेत ऊर्जाको ठूलो समस्या देखिइसकेको छ ।

पछिल्ला केही दिनहरुमा कोइलाबाट बिजुली उत्पादन गर्ने ६५ वटा पावर प्लान्ट असाध्यै समस्याग्रस्त भएको थियो ।

त्यसलाई सुपर क्रिटिकल अवस्थाको रुपमा परिभाषित गरिएको थियो । त्यसको अर्थ ४ दिनलाई मात्रै पुग्ने कोइलाको भण्डारण थियो । थर्मल प्लान्टका लागि मात्रै दैनिक २२ लाख टन कोइला जरुरी पर्ने त्यहाँका प्लान्टहरुले जनाएका छन् ।

कोइला भण्डार घट्दै गएपछि थर्मल प्लान्ट बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ । भएको भण्डारण घटेर ७५ लाख टनमा झरेको छ । पछिल्ला दिनमा आयात भएका कोइलाको मात्रा हेर्दा १ करोड टन पुगेपनि त्यसले ४ दिनको भन्दा बढी माग पूरा गर्न सक्दैन ।

कोइलाको अभावमा बिजुली उत्पादन कसरी सम्भव हुन्छ भनेर चिन्ता बढेर गएको छ । भारतभित्र हाल कूल २०२.२२ गिगावाट बिजुली उत्पादन कोइलाबाट भइरहेको छ । देशमा उपलब्ध बिजुलीमध्ये कोइलाबाट उत्पादन हुने बिजुलीको मात्रा ५० प्रतिशत भन्दा बढी रहेको छ ।

ऊर्जा सचिव आलोक कुमारले समस्या समाधानका लागि पहल भएपनि कुनै निकास निस्कन नसकेको भारतीय सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका छन् ।

भारतमा बिजुलीको खपत मात्रै हेर्ने हो भने दैनिक ४ अर्ब यूनिट भन्दा बढी रहेको छ । सन् २०१९ को तुलनामा कोइलाको खपत मात्रै १८ प्रतिशत बढी भएको छ । भारतमा कोइलाको चौथो ठूलो भण्डार रहेको छ ।

कोल इन्डियाले यस वर्ष ६६ करोड टन कोइला उत्पादन गर्ने लक्ष्य राखेको छ । यस्तै, ७४ करोड टन आपूर्ति गर्ने लक्ष्य समेत राखेको छ ।

मनसुनका कारण भारतले आन्तरिक रुपमा समेत कोइला उत्पादन गर्न असमर्थ भएको थियो ।


क्लिकमान्डु