भित्र्याउन ठिक्क परेको धान बाढीले सिध्यायो, लुम्बिनीमा मात्रै ४ अर्बको क्षति



काठमाडौं । बेमौसमको वर्षाले भित्र्याउन ठिक्क पारेको धान बालीमा ठूलो क्षति पुर्याएको छ । दशैंलगत्तै तीन दिनदेखि निरन्तर पानी पर्दा काटेर खेतमा सुकाएका र कुन्यू लगाएका धान डुवानमा पर्दा ठूलो क्षति पु।्याएको हो ।

हाल देशभरका किसानहरूको धान पाकेर भित्र्याउने समय भएको छ । दशैंलगत्तै किसानहरूले पाकेका धान भित्र्याउनको लागि धान काटेका थिए ।

तर, निरन्तर वर्षाले गर्दा अधिकांश जिल्लाका किसानको धानमा क्षति पु¥याएको छ । अविरल वर्षाले डुवान मात्रै नभएर कतिपय जिल्लामा धानसमेत बगाएको छ । एकातिर काटेको धान डुवान परेको छ भने अर्कोतिर नकाटेको धानसमेत हावाहुरीले क्षति पुर्याएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अविरल वर्षाका कारण देशका सातै प्रदेशमा क्षति पुर्याएको जनाएको छ ।

उक्त प्रदेशमध्ये पनि सबैभन्दा बढी सुदुरपश्चिम, कर्णाली, प्रदेश नम्बर १ र लुम्बिनीमा बढी क्षति पुर्याएको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकारी दिए । उनकाअनुसार मन्त्रालयले हाल ७ वटै प्रदेशमा भएको धान क्षतिको बारेमा विवरण माग गरिरहेका छन् । साथै, के कति क्षति पुर्याए भनेर मन्त्रालयले टोली खटाएको बताए ।

‘आजबाट मौसममा सुधार आएको छ । मन्त्रालयले सबै प्रदेशका कृषि विकास निर्देशानलयलाई विवरण माग गरिरहेका छन् । साथै मन्त्रालयले कुन प्रदेशमा कति धान क्षति पुर्यायो भन्ने यकिन तथ्याङ्क संकलन गर्नको मन्त्रालयबाट टोली पठाउने भएको छ,’ उनले भने ।

मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार सातै प्रदेशमा किसानले काटेर सुकाएको र कुन्यू लगाएर राखेको धान डुब्दा किसानको ठूलो क्षति भएको सन्जेलले बताए ।

लुम्बिनीमा ४ अर्ब बराबरको क्षति
कृषि मन्त्रालयमा प्राप्त विवरणअनुसार लुम्बिनी प्रदेशमा ४ अर्ब रकम बराबरको धानमा क्षति पुर्याएको जनाएको छ । मन्त्रालयका प्रवक्ता सन्जेलले प्रदेशले दिएको जानकारीअनुसार १० वटा जिल्लाका ४२ हजार हेक्टर क्षेत्रफलमा उत्पादन भएको धानमा क्षति पुर्याएको बताए । साथै, रकमको कुरा गर्दा ४ अर्बको क्षति भएको जानकारी दिए ।

लुम्बिनी प्रदेशमा ३ लाख ३ हजार ५१३ हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोमा ४२ हजार हेक्टरमा उत्पादन भएको धान काटेर भित्र्याउन ठिक्क परेको अवस्थामा क्षति पुर्याएको उनको भनाई छ ।

सुदुरपश्चिमको कैलाली र कञ्चनपुरमा बढी प्रभावित
त्यसैगरी, सुदुरपश्चिममा पनि बेमौसमी वर्षाले काटेको धान डुबानमा परेको र हावाले पनि क्षति पुर्याएको सुदुरपश्चिम कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रमुख यज्ञराज जोशीले प्रदेशका जिल्ला कञ्चनपुर कैलालीमा सबैभन्दा बढी क्षति पुर्याएको जानकारी दिए । उनकाअनुसार काटेको धान, कुन्यू लगाएका धानहरू डुवानमा परेको हो ।

निर्देशनालयले कृषि मन्त्रालयमा दिएको प्रारम्भिक विवरणअनुसार कैलालीमा उत्पादन भएका ५० प्रतिशत धान र कञ्चनपुरमा ४२ प्रतिशत धानमा क्षति पुर्याएको प्रवक्ता सन्जेलले बताए ।

‘अहिले सो क्षेत्रमा कति क्षति भएको यकिन तथ्याङ्क टोली खटाएका छौं । आजदेखि मौसम प्रतिकुल हुँदै गएकाले सहज हुनेछ,’ उनले भने ।
कर्णालीमा २० प्रतिशत धानमा क्षति

कर्णाली प्रदेशमा पनि बेमौसमी वर्षाका कारण धान बालीमा क्षति पुगेको छ । प्रदेश कृषि विकास निर्देशनालयका निमित्त निर्देशक चित्रबहादुर रोकायले कर्णाली प्रदेशमा उत्पादन भएको २० प्रतिशत धानमा क्षति पुगेको बताए ।

‘कर्णाली प्रदेशमा ४८ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको थियो । उक्त रोपाई भएको २० प्रतिशत क्षेत्रफल जग्गाको धान काटेको थियो,’ उनले भने, ‘काटेकोमध्ये पनि करिब ४५ प्रतिशतसम्म पूर्ण रुपमा क्षति भएको छ ।’

उनकाअनुसार आजबाट घाम लागेको हुनाले डुवानमा परेको धान कतिको सुक्छ त्यसमा भर पर्नेछ । कर्णालीमा जुम्ला, दैलेख, सुर्खेत र सल्यान जिल्लामा बढी क्षति पु¥याएको छ ।

गण्डकी र बागमति प्रदेशमा कम असर
त्यसैगरी, गण्डकी र बागमति प्रदेशमा धानमा भने कम क्षति भएको कृषि विकास निर्देशनालयले जनाएको छ । गण्डकी कृषि विकास निर्देशनालयका निमित्त प्रमुख बासुदेव रेग्मीले हाल धानमा के–कति क्षति भयो भन्नेबारे अध्ययनका लागि टोली खटेका छौं । हाल निर्देशनालयले प्रारम्भिक विवरण संकलन गर्नको लागि टोली खटेको अवस्थामा आंशिक रुपमा क्षति भएको अनुमान गरेको बताए ।

उनकाअनुसार हालको लागि आंशिक असर परेको देखेपनि किसानको पराल कुहिने र चामलको गुणस्तरर घट्नेछ । प्रदेशमा धान खेती हुने जग्गा तराईको जस्तो धेरै डुवान परेको छैन । तर, भिजेको छ । सो प्रदेशमा धेरै धान उत्पादन हुने नवलपुर, कास्की र स्याङ्जा रहेको छ । जसमा आंशिक रुपमा असर परेको उनको भनाइ छ ।

बागमति प्रदेशका निर्देशनालयले पनि अन्य प्रदेशको तुलनामा कम क्षति भएको अनुमान गरेका छन् । हालसम्म विवरण संकलन नभएकाले फिल्डमा नपुगेसम्म कति क्षति भयो भन्ने थाहा नहुने बागमति प्रदेशका निर्देशनालयका सूचना अधिकारी दिनेश आचार्यले बताए ।

उनकाअनुसार निर्देशनालयले कृषि मन्त्रालयसँगको सहकार्यमा तथ्याङ्क संकलन गर्ने भएको छ । साथै, विवरण संकलनकोलागि कृषि ज्ञान केन्द्रलार्य विवरण पठाउन आग्रह गरेको बताए ।

त्यस्तै, अन्य प्रदेशको तुलनामा बागमति प्रदेशमा कम डुवान भएकाले क्षति धेरै नभएको उनको दाबी छ ।

प्रदेश १ र प्रदेश २ मा विवरण संकलन गर्दै
बेमौसमी वर्षाले धानमा के कति क्षति पु¥यायो भन्नेबारे प्रदेश १ र प्रदेश २ ले तथ्याङ्क संकलन गर्न शुरू गरेको कृषि विकास निर्देशनालयले जनाएका छन् । प्रदेश १ ले पनि धान बालीमा ठूलो असर परेपनि क्षतिको विवरण नभएको जनाएको छ ।

कृषि विकास निर्देशनालयका प्रमुख प्रकाशकुमार डाँगीले कृषि ज्ञान केन्द्रबाट विवरण आइनसकेको जानकारी दिए । साथै, क्षति भएको धानको विवरण संकलनको लागि कृषि ज्ञान केन्द्रलाई सूचना लिन आग्रह गरेको बताए ।

त्यस्तै, प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक सूचना जारी गर्दै क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ ।

सचिव नम्रता सिंहले यो वर्ष करिब ४ लाख ३ हजार हेक्टरमा धान रोपाई भएको थियो । धानबाली भित्र्याउने बेलामा आएको वर्षाले फाटफुट्ट रुपमा कटानी भएको पाजा खेत डुबेको, हावाको वेगको कारण लामो उचाइ भएका जातहरू ढलेको बताएको छ ।

साथै, खेतमा फलेको तरकारीबालीमा नोक्सानको साथै दलहन र तेलहन बालीलगाउन बाधा पर्न सक्ने उल्लेख गरे । अहिले तरकारीका बेर्नाहरु नर्सरीमा हुर्काउने समय भएकाले उक्त बेर्नाका ब्याडहरूमा पानी जमेको जनाएको छ ।

तर, धानमा के–कति क्षति भएको तथ्याङ्क संकलन गर्नको लागि टोली खटाइएको सचिव सिंहले बताइन् ।

धानमा क्षति पुगको किसानलाई राहत दिन्छौंः मन्त्रालय

हाल देशभरका किसानको धान डुवानमा परेपछि कृषि मन्त्रायले यकिन तथ्याङ्क संकलनको लागि जोड दिएका छन् । उक्त विवरण मन्त्रालयका प्राप्त भए सरकारले राहत दिने तयारी गरेको प्रवक्ता सन्जेलले बताए ।

‘जिल्लागत रुपमा कति क्षेत्रफलमा कति रकम बराबरको क्षति भएको छ । त्यसलाई राष्ट्रियगत हिसाबले विवरण संकलन गर्नको लागि टोली खटाएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘सो विवरण आएपछि विभिन्न तहमा सहकार्य गरेर राहत वितरण गर्नेछौं ।’

साथै, मन्त्रालयले प्रदेश तहमा छुट्टाइएको बजेट, मन्त्रालयसँग भएको बजेट र नपुगेको खण्डमा अर्थ मन्त्रालयसँग माग गरेर भएपनि राहत दिने तयारी गरेको बताए ।


क्लिकमान्डु